भारतबाट अवैधानिक रुपले ल्याइएको मुङ्ग्री माछा नष्ट गरियो

भारतबाट अवैधानिक रुपले ल्याइएको मुङ्ग्री माछा नष्ट गरियो


नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले सिरहास्थित गोलबजार-धनगढी सीमाक्षेत्रको गागनखोलाबाट उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासहित एक मोटरसाइकल बरामद गरिएको छ । बरामद गरिएको माछा गोलबजार-८ चोहर्वाका राजा सहनीको भएको जानकारी दिइएको छ ।

सहनीले दैनिक रूपमा करिब आधा दर्जन मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याइ लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीलाई आपूर्ति गर्दै आएको स्थानीय बताउँछन् । उनले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी माछा भित्र्याउने गरेको आरोप छ ।

मुङ्ग्री माछा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने भएकाले सरकारले प्रतिबन्धित गरेको छ । अस्वस्थकर वातावरणमा हुर्काइने, रसायनको प्रयोग हुने सम्भावना बढी रहने र यसले स्थानीय वातावरण तथा जलचर प्रणालीमा नकारात्मक असर पार्ने भएकाले नेपालमा यसमाथि प्रतिबन्ध लगाइएको हो ।

बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।