शेरबहादुर संसद् पुनर्स्थापना भएर प्रधानमन्त्री होउन् अथवा अदालतले त्यो नमानेर चुनाव किन नहोस्; संसद् पुनर्स्थापनाको कांग्रेसी-मागले त्यसै पनि क्षतविक्षत भइसकेको कांग्रेसको मर्मस्थलमै प्रहार भएको छ । आफैंले गरेको यो प्राणघातक प्रहारका कारण कांग्रेसले सत्ता पाए पनि वा चुनाव भए पनि, दुबै स्थितिमा गम्भीर क्षति पुगिसकेको छ- कांग्रेसलाई ।
✍ राजेश ढुङ्गाना
अन्ततः नेपाली कांग्रेसमा जे हुनु थियो र जे हुन्थ्यो, त्यो भएरै छाड्यो । भएर छाड्यो मात्र होइन, अब कांग्रेस पछिल्लो पटक हिँडेको बाटो अर्थात् संसद् पुनर्स्थापनाकै बाटोमा हिँड्ने हो- यदि कदाचित अदालतले त्यो गरेन भने मात्र चुनावमा जाने हो ।
कांग्रेस संसद् पुनर्स्थापनाको माग लिएर ‘न्याय’ माग्न अदालत पुगेपछि उसले केन्द्रीय समितिबाट सर्वसम्मतिले गरेको चुनावमा जाने निर्णयको धोती मात्र फुस्किएको छैन; कांग्रेस सत्ता लिप्साको पर्याय नै हो भन्ने अकाट्य प्रमाण आफू स्वयम्ले प्रमाणित गरेको छ ।
एमालेका ‘सर्वोच्च’ खड्गप्रसाद ओलीसँग कांग्रेसका ‘महाराजा’ शेरबहादुर देउवाको भेटलगत्तै कांग्रेसले आफ्नो औपचारिक निर्णयविरुद्ध अदालतमा जाने जुन कर्म गरेको छ, त्यसबाट कांग्रेसको बिग्रेको छविमा अझ वृद्धि त भएकै छ; स्वयम् कांग्रेस कार्यकर्ताको समेत जनतासामू लज्जाले शिर निहुरिएर आहत भएको छ । आखिर कहिलेसम्म पटक-पटक मात्र होइन, निरन्तर प्रजातन्त्रवादी मतदाता र स्वयम् कांग्रेसका इमान्दार कार्यकर्ताले कांग्रेसले गरेको यो अपमानलाई सहिरहन बाध्य भइरहनु पर्ने हो ?
त्यसो त कांग्रेसमा अब र यतिबेलासम्म आइपुग्दा इमान्दार र आदर्शवादी कार्यकर्ता अत्यन्त न्यून भइसकेका छन् । त्यहाँ अब अधिकांश नेतृत्वका दास र भाट मानिसहरूको जमघट मात्र बाँकी रहन पुगेको छ । डा.शेखर कोइराला, डा.चन्द्र भण्डारी, डा. सुनील शर्मा लगायतका केही नेताहरू बाहेक केही अन्य नेताहरू इमान्दार देखिए पनि नेतृत्वको बृहत् पंक्तिसमेत दास र भाटहरूमा रूपान्तरित भइसकेको अनुभूत हुन्छ ।
कुरा रह्यो- दुई ‘क्रान्तिकारी’ महामन्त्रीहरूको । उनीहरूको मुखारविन्दबाट जहिले र जहाँ पनि परिवर्तन र आदर्शका कुरा आए पनि परिआएको र निर्णायक बेलामा उनीहरू दुबैले पटक-पटक र निरन्तर देवालाई साष्टाङ्ग दण्डवत् गर्ने गरेको देखेएकै हो । बाहिर-बाहिर एउटा र भित्र-भित्र अर्कै रुपमा रहने उनीहरू ‘दाजु’सँग मात्र होइन, ‘राष्ट्रिय भाउजू’का सामुन्ने समेत नतमस्तक देखिने गरेका छन् । उनीहरू दुबै जनतामा मात्र नभएर कांग्रेस कार्यकर्तामाझमै पनि अविश्वसनीय हुँदै गएका छन् । व्यक्तित्व तथा पहिचान क्षयीकरण हुँदैछ – उनीहरूको । दुबै जना यतिबेला पनि महाधिवेशनमा उनै पार्टीभित्र र बाहिर समेत बदनाम देउवाको आशीर्वाद खोजेर उनका हरेक गलत क्रियाकलाप विरुद्ध ठोस र स्पष्ट नभइरहेको प्रष्टै देखिन्छ, बुझिन्छ ।
कांग्रेसले संसद् पुनर्स्थापनाको नयाँ बाटो त्यसै रोजेको छैन र होइन । ओलीसँग हल मिलाउनुको अन्तर्य देउवा र अधिकांश कांग्रेसको सत्ता लिप्सा नै एक मात्र कारण र उद्देश्य हो । प्रजातन्त्र पुनबर्हालीपछिको यो साढे तीन दशकको सत्ता-यात्रामा सत्ता बेगर बस्न नसक्ने भइसकेको छ, कांग्रेस । अब सत्ता बाहिर रहने कल्पना पनि गर्न सक्दैन- कांग्रेस, बाध्य नभएसम्म । जस्तो कि अहिले छ !
तीन महिनामै सत्ता बाहिर रहनुपर्दाको छट्पटीले कांग्रेसलाई सताइरहेको यो बेला ओलीले त्यो रहस्य बुझेकै क्षण शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिने कबुलियतनामा गरेपछि निर्लज्जता र घिनलाग्दो रुपले कांग्रेस संसद् पुनर्स्थापनाको मार्गमा डटेर लागेको छ । यसमा सांसदको जागिर पाएका अधिकांशको समर्थन नहुने कुरै भएन । आखिर खाइ-पाइ आएको मजा लिन अझ दुई वर्ष जो बाँकी छ !
शेरबहादुर संसद् पुनर्स्थापना भएर प्रधानमन्त्री होउन् अथवा अदालतले त्यो नमानेर चुनाव किन नहोस्; संसद् पुनर्स्थापनाको कांग्रेसी-मागले त्यसै पनि क्षतविक्षत भइसकेको कांग्रेसको मर्मस्थलमै प्रहार भएको छ । आफैंले गरेको यो प्राणघातक प्रहारका कारण कांग्रेसले सत्ता पाए पनि वा चुनाव भए पनि, दुबै स्थितिमा गम्भीर क्षति पुगिसकेको छ- कांग्रेसलाई । त्यो क्षतिबाट कांग्रेसलाई फर्काउन असम्भवप्रायः छ ।
हरेक पटक र निरन्तर सत्ताको खेल खेलिरहेको कांग्रेसलाई, यही खेल खेल्ने अवसर पनि यो अन्तिम हुन सक्छ – इण्डियाको कांग्रेस (आइ) जस्तो !
प्रतिक्रिया