पूर्वसांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर


विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (२८ मङ्सिर) प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका निवर्तमान सभापति चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगरप्रमुख चालिसेले सार्वजनिक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्य गरी अस्वाभाविक रुपमा सम्पत्ति जोडेको भन्दै रु तीन करोड ६८ लाख ४७ हजार ७६१ बिगो दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भई सङ्घीय संसद्को अर्थ समितिका सभापतिसमेत रहेका चालिसेले गोकर्णेश्वर नगरपालिकाको प्रमुख छँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म)को अवधिलाई आधार मानेर सम्पत्ति छानबिन गरिएको अख्तियारले जनाएको छ ।