राजनीतिका खेलाडीहरूको लागि ‘पुस १’ इतिहासमा कालो दिन होला, तर राजनीतिप्रति चासो नहुने साधारण नेपाली जनताको लागि भने एउटा स्वर्णिम युगको शुरुवातको दिन थियो ।
✍ सुनिल उलक

केही दिनदेखि काठमाडौंको मौसम निकै चिसिएको थियो । घामको अनुहार देख्न मुस्किल भइरहेको थियो । मंसिरको अन्तिम दिन चिसो अझ बढ्यो । मध्यरातदेखि नै हल्का पानी पर्दा पुस १ को बिहान आकाश पूरै कालो बादलले ढाकिएको थियो । चिसो स्याँठले गर्दा बिहान अबेरसम्म मानिसहरू सिरकभित्र नै गुट्मुटिएर सुतिरहेका थिए । तर, सेनाका गाडीहरूको भने चहलपहल शुरु भइरहेको थियो । देशमा केही हुने हो कि भन्ने आशंका कतिपयमा शुरु भइसकेको थियो । राजनीतिक वृत्तमा भने त्यस्तो आशंका केही दिनअगाडिबाट नै शुरु भइसकेको थियो । राजाले बिपीलाई हटाएर सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउन चाहिरहेको हल्ला ब्यापक भइसकेको थियो । बिपीकै सरकारमा परराष्ट्र मन्त्रालय सम्हालिरहेका तुलसी गिरीको साथ राजा महेन्द्रले पाएका थिए ।
धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर राजाले २-३ दिनको निर्णयले यो कदम चालेका थिएनन् । उनले प्रजातान्त्रिक सरकार बनेदेखि नै यसमाथि गोप्यरूपमा कडा नजर राख्न थालेका थिए । साथै यसको विकल्पको लागि लामो अध्ययन पनि गरिरहेका थिए । ‘पञ्चायत’ संस्कृत शब्द हो र यसको ब्यवस्थाको शुरुवात धेरै पहिलेदेखि भारतका ग्रामिण क्षेत्रमा शुरु भएको थियो । गाउँका केही पञ्च भलादमीहरूको समुहले गाउँको सम्पूर्ण ब्यवस्था गर्दथे । उनिहरूमा आफ्नै कानुनी अधिकार हुने गर्दथ्यो । यसैबाट प्रभावित भएर महेन्द्रले बृहत्तर रुपमा राष्ट्रिय ब्यवस्थाको थालनी गरेका थिए । पञ्चायती ब्यवस्था वास्तवमा पूर्णरूपमा जनतामुखी थियो । तर, पछि यो पूर्णरूपमा राजामुखी हुन पुग्यो, जसले गर्दा यसका गुण भन्दा दोषहरू बढी बाहिरिन पुगे । पञ्च भलादमी भन्ने शब्दमा कति आस्था र श्रद्धा थियो – पछि ‘पञ्चे’को रुपमा बदनाम भयो ।
पुस १ गतेको बिहानदेखि नै राजाको सक्रियता शुरु भइसकेको थियो । प्रधानसेनापति नीरशम्शेर र प्रहरीप्रमुख ढुण्डीराज शर्मालाई राजाले आफ्नो योजना सुनाइसकेका थिए । थापाथलीस्थित तुङ्गशमशेर राणाको घरमा नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको महाअधिवेशन शुरु भइरहेको थियो । देशभरबाट नेपाली कांग्रेसका युवा प्रतिनिधि त्यहाँ जम्मा भइसकेका थिए । प्रधानमन्त्री बिपीले उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा मन्त्रीहरूका साथ कांग्रेसका प्रमुख नेताहरू पनि थापाथली पुगिसकेका थिए ।
प्रधानमन्त्री बिपी कोइरालाद्वारा उद्घाटन सम्बोधन हुँदै गर्दा अचानक सेनाका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए । सुरेन्द्रबहादुर शाह सो समय डेपुटी कमान्डर इन चिफ थिए । तत्कालै बिपीका साथ गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराईलाई गाडीमा राखेर सिंहदरबारस्थित बिलियर्ड हल लगियो । दिउँसो साढे तीन बजे रेडियो नेपालले राजा महेन्द्रबाट सत्ता लिएको तथा मन्त्रिपरिषद् भङ्ग गरिएको घोषणा गरियो ।
नेपालको राजनीतिको पृष्ठभूमि
पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियानमा उनका छोरा बहादुर शाहले पनि निरन्तरता दिए । तर त्यसपछि सन्की राजाहरू तथा थापा, पाण्डे, चौतरियाको आपसी दुश्मनीले देशले धेरै गुमायो । टिस्टादेखि काँगडाको सिमालाई मेचीदेखि महाकालीमा सीमित बनाइदियो । ‘जंगे’लाई यही थापा, पाण्डे, चौतरिया र सन्की राजाले जन्माएका थिए । त्यो बेलाको आवश्यकता थियो जंगे । जंगेको उदय नभएको भए नेपाल भारतको एउटा प्रान्तमा सीमित हुने थियो । हैसियत नभए पनि हुकुमता भएका जंगे उपयुक्त भइदियो । जंगेलाई स्विकार्नुपर्ने जनताको बाध्यता थियो त्यो बेला ।
वि.सं. १९४२ को घटनापछि राणा केही उग्र भयो । धेरै कुरा राणाबाट गल्ती भए, अहिलेका नव राणा वा नव राजाहरू झैँ धिरशम्शेरका सत्र भाइ छोराहरू पनि सत्ताको लागि जस्तो सुकै गर्न तैयार हुँदै गए । तर कहिलेकाहीँ राम्रो काम पनि सत्ता गुम्ने डरले गर्न चाहेनन् । वि.सं. २००१ मा जुद्धशम्शेर, भाइसराय Earl या Linlithgow को निम्तोमा भारत भ्रमणमा गएका थिए । यो भ्रमण नितान्त ब्यक्तिगत थिएन, अंग्रेज सरकारले नेपाललाई केही उपहारमा दिन चाहेका थिए । यस भन्दा अगाडि प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौँले पनि नेपालको कदर गर्न चाहेको जानकारी पत्रबाट दिइसकेका थिए ।
भारत भ्रमणको समय भाइसराय Earl या Linlithgow ले एकान्तमा जुद्धशम्शेरलाई सूचित गरे- ‘हामी भारत छोडेर जाँदैछौँ’ ! यो अप्रत्यासित थियो जुद्धशम्शेरको लागि । उनको दाहिने हात अचानक कसैले काटिदिए जस्तो भयो । बिस्तारै भाइसरायले थप्दै भने- ‘नेपाल र नेपालीको गुण हामी कहिल्यै बिर्सन सक्दैनौँ, तसर्थ अंग्रेज सरकार नेपाललाई केही उपहार दिन चाहन्छ । यही सुचित गर्न महाराजलाई दिल्ली दरबारमा निम्तो पठाइएको हो ।’ कौतुहलता बीच जुद्धको प्रश्न भुइमा झर्न नपाउँदै भाइसरायले भने- ‘अंग्रेज सरकार भारतलाई स्वतन्त्र बनाउनुअघि बंगलादेश नेपाललाई सुम्पन चाहेको जानकारी गराउन चाहन्छु ।’ देशले समुन्द्री किनार भेटे विकास गर्न सहज हुन्छ भन्ने अंग्रेजको लामो अनुभव थियो । तसर्थ नेपाललाई समुन्द्रसँग जोडिदिन चाहेका थिए ।
राणाविरोधी आन्दोलनबाट आजित भइसकेका जुद्धशम्शेर बंगलादेश नेपालमा गाभ्ने प्रसंगले अझ तर्सिए । उनले हुन्छ वा हुँदैन भन्न सकेनन् । छिट्टै जानकारी पठाउँछु भन्दै फर्किए । दुई महिनापछि उनले पत्रमा देशभित्र नै आन्दोलन चर्किरहेको अवस्थामा बंगलादेश स्विकार्न कठिन हुने जानकारी पठाए । प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौंको नेपाललाई भूपरिवेष्टितबाट जोगाउने र भारतको पराधीनताबाट रोक्ने इच्छा पूरा हुन सकेन ।
भारतको स्वतन्त्रतापछि नेहरूको चंगुलमा फसेका राजा त्रिभूवनले अरू केही सहि देख्न नै सक्दैनथे, केवल नेहरूको सल्लाहलाई शिरोपर गर्थे । कार्तिक २२, २००७ मा नेपाललाई स्वतन्त्र गर्ने चाहनाले राजा भारतमा पुगेका थिएनन्, नेहरूको इच्छाले पुगेका थिए । हैदरावाद भवनमा कैदीसरह बसेका थिए, राजकीय सम्मानका साथ बसेका थिएनन् । त्यो कैदखानामा राजा त्रिभूवनलाई पहिलोपटक भेट्न पुगेका पुरूषोत्तमशम्शेरको अनुभवमा त तिहाडमा पनि त्यति सुरक्षा हुँदैन जति त्रिभूवन बसेको ठाउँसम्म सेनाको पहरा थियो । Erika Leuchtag लाई रानी कान्तीको उपचारको लागि होइन नेहरूको प्रतिनिधीको रूपमा दरबारको जासुसी गर्न पठाइएको थियो । पछि यिनै नर्ससंग राजाको हिमचिम बढ्यो । Erika को सहयोगमा राजालाई दिल्ली पुऱ्याइयो । हुन त नेहरूले चाहेको (भारतको हिमाञ्चल राज्यमा गाभ्ने) कुरा युवराज महेन्द्रले गर्दा पुगेन तर एक किसिमको उपनिवेश भने बनाइछाडे ।
२००७ पछि हामी भारतको अधीनमा आयौँ, नेहरूले राजाको साथ आफ्ना प्रतिनिधि पठाए, राजाको सल्लाहकारको रूपमा । २००८ मा नेपालको सुरक्षा परिषदको पहिलो बैठक दिल्लीमा बस्यो । यसलाई भारतीय सेना प्रमुखले ब्रिफिङ गरे ।
२००७ पछि नेपालमा अर्को राणा जन्म्यो । देशभरी कांग्रेसका कार्यकर्ताले राणाबाट पीडित रहेको भन्दै थुप्रै जमिन हात पारे । केवल ८ वर्षमा देशभरीमा डेढलाख रोपनी भन्दा बढी जमिन कांग्रेसी कार्यकर्ताले हात पारेका थिए ।
२०१७ सालको घटना-चक्रमा पनि नेहरूले पूर्ण सहयोग गरे राजा महेन्द्रलाई । केही दिन राजासँग भेटघाटमा ब्यस्त रहेका सेनाप्रमुख थिम्मैया पुस १ को अघिल्लो रात John Coapman संग थिए भने राजदूत भगवान सहाय पनि निकै ब्यस्त थिए । थिम्मैया अरू दुई दिन John Coapman को होटलमै बसे भने भगवान सहायलाई फिर्ता बोलाई पुरस्कारस्वरूप नेहरूले दिल्लीको गवर्नरको पद दिए । तर महेन्द्रले पंचायती ब्यवस्थाको घोषणासँगै नेहरूलाई पनि बेवास्ता गरे । त्यसपछि महेन्द्रसँग चिढिए नेहरू, अनि त नेपालको राजपरिवारसँग नेहरूको परिवार सदैव टाढा नै रहे । न इन्दिरा गान्धी न त राजीव गान्धी नै नजिक हुन खोजे । अन्तमा सोनिया पनि टाढा नै बनिरहिन् ।
२०१७ पछि देशले अर्को राणा शासन पायो । तर, यो समय जनताले रोजगारीको थुप्रै अवसर पाए । पंचायतभित्रका पञ्च त उस्तै राणा जस्तै थिए तर देशले ३० वर्षे स्वर्णकाल पायो । दलिय राजनीतिको मिठो भागबण्डा चाखेकालाई पीडा भयो । उनिहरू राजनैतिक मह चाट्न आतुर थिए ।
२०४७ फेरि दलिय राजनीतिको प्रवेश भयो, दलको नाममा राजनीति गर्ने र त्यसको रसोस्वादन गर्न पल्केकाहरू पञ्चायतवाट दलिय भए । देशले अर्को दुर्गती पायो । वर्ल्ड बैंक र आईएमएफको सल्लाहमा अर्थ मन्त्रालयले privatisation cell गठन गऱ्यो । पञ्चायतकालमा उत्कर्षमा पुगेको सरकारी उद्योगहरूलाई निजीकरणको नाममा धराशायी बनाइयो । देशले बेरोजगारी पायो, देशका युवा रोजगारीको खोजीमा विदेशी भूमिमा भौँतारिन बाध्य भए । ४३४ अरव रेमिट्यान्स भित्राउन सफल भएको गर्विलो समाचार बनाउने राष्ट्र बैंकले नेपालबाट केवल भारतले ३५० अर्ब रेमिट्यान्स लैजाने तथ्य उजागर गर्न चाहन्न ।
तसर्थ देशका आम जनताले प्रजातन्त्र के हो, कस्तो हुन्छ थाहा नै पाएका छैनन् । दलमा आवद्धता देखाउने र त्यसको चम्चागिरी गर्ने २–४ प्रतिशतको लागि त देशमा प्रजातन्त्र मात्र होइन देशै स्वर्ग भएको छ, बाँकीको जीवन साँझ–बिहानको छाक टार्नमै सकस छ ।
राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढी मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको विकासको लागि विभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरू खुलेका थिए । क्रमशः बाटाहरूले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यति बेला ती उद्योग कल-कारखानामा रहेका कर्मचारी तथा मजदूरहरू राष्ट्रमुखी सोच राख्ने थिए । तर, अहिलेको तुलना गऱ्यो भने ब्यक्तीमुखी तथा दलमुखी हुन पुगे । जसले गर्दा सीमित ब्यक्ति त सम्पन्न भए तर समग्र देश सम्पन्न हुन सकेन ।
राजनीतिका खेलाडीहरूको लागि आजको दिन इतिहासमा कालो दिन होला । तर, राजनीतिप्रति चासो नहुने साधारण नेपाली जनताको लागि भने एउटा स्वर्णिम युगको शुरुवातको दिन थियो । हुन त यहाँ धेरैको विरोधाभास आउन सक्छ । एउटा जनताले चुनेको प्रजातान्त्रिक सरकारमाथि राजाको क्रुर कदमको ब्याख्या पनि गरिएला । प्रजातान्त्रिक सरकार गठन र त्यसपूर्वका घटनाचक्रहरू गहिराइमा नियाल्दा भने धेरै नै गलत कदम राजाले उठाएझैँ लाग्दैन, तैपनि २-४ वर्ष प्रजातान्त्रिक सरकारलाई काम गर्न दिएपछि मात्रै कठोर कदम उठाएको भए केही भिन्न तर्क पनि आउन सक्थे ।
दोश्रो, बिपी नेतृत्वको प्रजातान्त्रिक सरकार भंग गराउन भने भारतको नेहरू सरकारले पूर्ण सहयोग गरेको थियो । तर राजाले ल्याएको नयाँ ब्यवस्था पनि गलत नै भने थिएन, किनकि राजनैतिक विश्लेषणको आधारमा हेर्ने हो भने पञ्चायतको तीसवर्षे कालमा नेपालमा धेरै विकास भएको थियो । तर पञ्चायतको पछिल्लो समयमा भने पञ्चहरू भ्रष्ट हुन थाले, जसले गर्दा पञ्चायतप्रति रुष्टता शुरु भयो ।
खैर ! राजनैतिक उथलपुथल पछि अहिले देशमा गणतन्त्र आइसकेको छ । राजा पनि देशबाट हटिसकेका छन् । परिवर्तनपछि पनि जनता फेरि गणतन्त्रबाट वाक्क हुन थालिसकेका छन् । देशमा समय-समयमा राजनैतिक परिवर्तन अपरिहार्य छ । जनता हरेक शासन पद्धतिबाट केही समयपछि वाक्क हुनु स्वभाविक नै हो । साथै देशका नेता तथा राजनैतिक कार्यकर्ता तथा तिनका पिछलग्गुहरूको कारणले पनि हरेक शासन पद्दति शुरुवात भएको केही वर्षपछि जनता आजित हुन थाल्ने गर्छन्, जसले गर्दा परिवर्तन खोज्न थाल्दछ ।
हरेक शासनपद्धतीमा गुण र दोष दुबै हुने गर्दछ । तर, त्यसलाई सञ्चालन गर्ने शासक वा राजनीतिकर्मीहरूको नियत गलत भइदियो भने सत्ता वा शासनपद्दति परिवर्तन हुनु कुनै आश्चर्यको घटना हुँदैन । गणतन्त्र देखेर पनि जनता आजित भएको अहिलेको अवस्थामा फेरि पनि परिवर्तन खोज्न जनता सडकमा आउनु कुनै नौलो होइन ।
प्रतिक्रिया