आगोको गीत

आगोको गीत


म सारङ्गी रेटेर
वियोगको धुन बजाउँदै
जीवनको नमिठो गीत गाउन विवश छु ।

आगोको गीत गाउनु पर्थ्यो मैले
विद्रोहको स्वर उराल्नु पर्थ्यो मैले
जिन्दगीको हिसाब किताब खोज्दै
जिन्दगीको परिभाषा खोज्नु पर्थ्यो मैले
म निःशब्द बनाइएको छु
मैले हिँड्ने मूलबाटो टुङ्ग्याइएको छ
मलाई सडकमा घिसारेर
रगतपच्छे बनाइ
ममाथि राज गर्नेहरू
उन्मादले उफ्रिरहेछन्
विना लगामको घोडाजस्तै
दिशाहीन बनी
वितण्डा मच्चाउँदै
मेरो शरीरमाथि घोडा दौडाएर
जिन्दगीकै मजाक गरिरहेछन्
ममाथि तिनीहरू ।

आफूलाई अजम्बरी ठानी
तिनीहरु दम्भ गरिरहेछन् जिन्दगीको
मृत्युलाई बिर्सिएर
मृत्युसंगै हाँरिरहेका छन् तिनीहरू
मृत्यु शाश्वत सत्य हो
बुझेरै बुझ पचाउँछन् किन ?
एक दिन चोला उठी जाने नै छ
मर्नदेखि डराइरहेछन् तिनीहरु किन ?

मर्न डराउनेसंग के जवाफ माग्नु छ र ?
तिनीहरु कसका लागि बाँचिरहेका छन् आजसम्म ?
त्रशित मुद्धामा देखिन्छन् तिनीहरू
मैले बाँच्न पाउने या नपाउने ?
मैले हाँस्न पाउने या नपाउने ?
मैले नाँच्न पाउने या नपाउने ?
मेरो जीवन यात्रामा
अवरोध हाल्छौ किन ?
के मलाई उन्युक्ति चाहिँदैन र ?
मलाई नरोक
मलाई बेरोकटोक अगाडि बढ्न देउ
मैले मेरो पाइलाहरु उचालि सकेँ ।

अब मैले आगोको गीत गाउन थाल्नुपर्छ
अब मैले विद्रोहको स्वर उराल्न थाल्नुपर्छ
जिन्दगीको हिसाब-किताब क,सँग खोज्ने ?
बहीखाता बोकी को बसेको छ ?
जिन्दगी जिउने कसरी ?
जिन्दगीको परिभाषा सोध्नैपर्छ ।

जिन्दगीको मूलबाटो खन्दै
तिम्रो दिन गन्ति सुरु गरौँ कसरी ?
तिमीलाई असहाय बनाइ
तिम्रो सुरक्षा कवच तोड्न सक्छु म फेरि ।

म रुँदा तिमी नहाँस्नु पर्थ्यो
तिमी रुँदा म पनि हाँस्न पर्थ्यो
उज्यालो छेक्ने दुष्साहस गर्छौं किन ?
हत्केलाले सूर्य छेकिन्छ र ?

मैले त आगोको गीत लेखि सकेँ
त्यसमा उसले संगीत भर्दै
मिठो भाखामा गीत गाउने नै छ
तिम्रो दिमाग चर्कने गरी ।

  • सुन्दरहरैंचा-६, दुलारी, मोरङ