त्यसपछि मात्र हट्न सक्छ शेयर बजारको ग्रहण

त्यसपछि मात्र हट्न सक्छ शेयर बजारको ग्रहण


बढनु पर्ने शेयर बजार घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले आफनो मौद्रिक नीतिलाई निरन्तर लचिलो बनाउँदै लैजाँदा पनि बजार बढ्न सकेको छैन । अहिले बजार झर्दा–झर्दा शेयर बजार परिसुचक २५८१ अंकको विन्दुमा आइपुगेको छ ।

नयाँ गर्भनरमा प्रा.डा. विश्व पौडेल आइसकेपछि शेयर बजार लगानीकर्ताका धेरै मागहरू पुरा गरिएका थिए । नीतिगत रुपमा अहिले शेयर बजारलाई बाधा-ब्यवधानहरू छैनन् । बैंक तथा वित्तिय संस्थाहरूको ‘ब्यालेनसिट’ पनि अघिल्लो आर्थिक वर्ष भन्दा सुधारिँदै गएका हुन् । अघिल्लो आर्थिक वर्षमा ब्याज तथा किस्ता रकम नउठ्ने समस्याले बैंकहरू आक्रान्त थिए । खराब कर्जा बढेको थियो । त्यसमा पनि गत आर्थिक वर्षदेखि सुधार देखिन थालेको हो । फलस्वरुप पनि यस वर्ष बैंकहरूले थोरै भएपनि लाभांश घोषणा गरिरहेका छन् । लाइफ इन्स्योरेन्स कम्पनीहरूले त यस वर्ष आर्कषक लाभांश घोषणा गरिरहेका छन् । लघुवित्त कम्पनीहरूले पनि राम्रै हिसावको लाभाशं घोषणा गरिरहेका छन् । उर्जा कम्पनीहरूमा त्यति चार्मिङ नदेखिए पनि होटल तथा अन्य क्षेत्रहरूको पनि अवस्था त्यति नराम्रो होइन । तथापि, उर्जा क्षेत्र देशले आश गरेको समृद्धिको आधारशिला हो । आजभन्दा १० वर्ष अघिसम्म यस क्षेत्रका एक दर्जनभन्दा बढी नेप्सेमा सुचिकृत थिएनन् । आज ९७ वटा जलविद्युत् कम्पनी नेपाल स्टक एक्चेन्जमा सुचिकृत छन् । देशले विद्युत् निर्यात बढाउँदै लगेको छ । कम्पनीहरूले निर्माणको चरणमा ऋणपान गरेरै विद्युत् उत्पादन गृह बनाएकाले सोको भारले भनेजस्तो लाभांश दिनसक्ने अवस्थामा पुगिसेका छैनन्् ।

तर हालैको जेनजी आन्दोलनपछि होटल पर्यटन क्षेत्रमा जेनजी विद्रोहको नकारात्मक असर परेको हो । तर पनि पर्यटन आगमन बढ्न थालेकै छ । र, पनि अर्थतन्त्रको ऐनाको रूपमा हेरिने शेयर बजारको प्रतिबिम्ब अँध्यारो छ । शेयर बजार दिनहुँजसो ओरालो मात्र लागिरहेको छ । आखिर किन त ? के कारण घटिरहेको छ त शेयर बजार ? त्यसलाई केलाउने प्रयासमा आलेख केन्द्रित छ ।

पुराना दलहरूको अति राजनीति

वास्तम्बमा जेनजी आन्दोलनपछि शेयर बजारको नुर गिरेको हो । त्यसअघि २९ सय अंक नजिक पुगिसकेको शेयर बजार परिसुचक हठात् भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिले उच्च अंकले घटेको हो । राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष ०८२/८३ को लागि मौद्रिक नीतिमार्फत शेयर बजारलाई जब प्रोत्सहनकारी नीति ल्यायो । त्यहीताका नै आन्दोलन सुरु भयो । फलस्वरुप बजारले अहिलेको परिस्थीति भोगिरहेको छ । जेनजी आन्दोलन भएको १०० दिन बितिसकेको छ । चुनाव गराउन गठित अन्तरिम सरकारले हनिमुन अवधि पार गरिसकेको छ, तर चुनाव हुनेमा सन्देह कायम नै छ । किनकि, ठुला भनिएका काङ्ग्रेस र एमाले जस्ता दलहरूको अति राजनीतिले चुनावी वातावरण बन्न सकेको छैन । उनीहरू भन्नलाई चुनाबाट भाग्दैनौँ भनिरहेका छन्, निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सूचि दर्ता पनि गरिरहेका छन्, तर उनीहरूको मूल ध्येय सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना गर्ने कसरतमा छ ।

उनीहरूले जेनजी विद्रोहलाई विद्रोह नै मानिरहेका छैनन् । त्यो आन्दोलनलाई आन्दोलन नै मानिरहेका छैनन् । फगत् २४ गतेको घटनालाई फलाकिरहेका छन् । २३ गतेको घटना र त्यसको जिम्मेवारी उनीहरूले सत्ता-सञ्चालकको हिसाबले लिनै मानिरहेका छैनन् । त्यसकारण जेनजी आन्दोलनपछि पनि काङ्ग्रेस-एमालेको परिवर्तन नभएको सोच, अति राजनीतिले शेयर बजारका लगानीकर्तालाई अन्यौल तुल्याएको छ । उनीहरू निर्वाचन भएर देशमा स्थिरता र शान्तिपूर्ण ब्यवसायिक वातावरण आउनेमा ढुक्क हुन सकेका छैनन् । बरु आगामी दिनहरू झन् बढी संकटपूर्ण पो हुने हो कि भन्ने ठानिरहेका छन् । त्यसकारण लगानीकर्ता त्रसित छन्, अन्यौलग्रस्त छन् । त्यसमाथि जेनजी आन्दोलनताका सत्ताको बागडोर सम्हालेका, आन्दोलनको उत्कर्षमा डरत्रासले ज्यान जोगाउन हेलिकप्टर चढेर भागेकाहरूको नै स्वर ठुलो हुँदै आएको छ । उनीहरू नै पार्टीमा झन् शक्तिशाली भएका छन् । अनि त शेयर लगानीकर्ताले आगामी दिन झन् संकटपुर्ण हुने ठान्ने नै भए ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि विछिप्त भएर पार्टीको कार्यवाहक जिम्मेवारी पुर्णबहादुर खड्कालाई दिएका हुन् । अहिले त उनी आफै सक्रिय हुँदै आएका छन् । कार्यबाहक दिएर करिव राजनीतिबाट विदा लिएझैँ गरेर सिंगापुर उपचारमा गएका देउवा फर्किसकेका छन् । सो पार्टीले महाधिवेशनसम्म गर्न सकेको छैन । बरु जेनजी आन्दोलनताका सत्ता-साझेदार दल एमालेसँग मिलेर काङ्ग्रेस पनि संसद् पुनर्स्थापनाका लागि दौडिरहेको छ । यसरी, जेनजी आन्दोलनले ज-जसलाई ‘आउट’ भनेको थियो – उनीहरू नै ‘इन’ भइरहेका छन् । तिनै बुढा-पुराना र दशकौँदेखि सत्ताको तालाचाबी लिएर बसेकाहरू हाबी भएछि नयाँ भनिएकाहरू रुष्ट छन् । एकथरी फागुन २१मै चुनाव चाहन्छन् भने अर्काथरी संसद् पुनर्स्थापना गरेर पुरानो विरासद फर्काउन चाहन्छन् । यही घम्साघम्सीमा ब्यवसायिक क्षेत्र परेको छ । चन्दा आतंक, डरत्रास र धम्कीहरू बढिरहेका छन् । यस्तो अवस्थामा शेयर बजारको नुर गिर्नु स्वभाविक हो ।

बढ्दो अराजकता

पुराना राजनीतिक दलहरूको अति-राजनीति त भयो नै, नयाँ कतिपयहरूबाट अराजकता पनि बढिरहेको देखिन्छ । जस्तो एकातिर निर्वाचन घोषणा भएको छ भने अर्कोतिर सडकमा दिनहुँ आन्दालन भइरहेका छन् । आन्दोलन र हडतालको धम्की बहुध्रुवबाट आइरहेका छन् । शान्ति र स्थायित्वका कुरा भन्दा देश ठप्प पार्ने कुरामा धेरैको जोड छ । जेनजी आन्दोलनकै क्रममा पनि २३ गते घट्ना भड्किएपछि २४ गते देशका धेरै संघ संस्था, नीजि क्षेत्रका उद्योग कलकारखानामा आगजानी भए । सो विद्रोहको क्रममा ८४ अर्ब हाराहारी नोक्सानी भएको आँकलन छ । तथ्याङ्कमा ८४ अर्ब नोक्सानी भएपनि विश्वले देखेको सो आगजानी, लुटपपाट तथा तोडफोड घटनाले देशमा ब्यवसायिक मनोबल गिराएको छ । ब्यवसायिक वातावरण खल्बलिएको छ । विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न डराउने अवस्था सिर्जना भएको छ । होटल तथा पर्यटन उद्योगहरूमा नकारात्मक असर परेको छ । उद्यम ब्यवसाय गर्न बैंकहरूमा ऋण लिन जानसम्म हच्किएका छन् । भोलि के हुने हो भनेर डराइरहेका छन् । यस्तैमा बिमा कम्पनीहरूले पनि दाबी भुक्तानी खुलेर गरिरहेका छैनन् । ब्यवसायिक माहौल भत्किएको छ । अराजकता बढेको छ । चन्दा आतंक तथा विभिन्न नामका धाकधम्कीले व्यवसायिक जगत आक्रान्त छ । शान्तिसुरक्षाको वातावरण खल्बलिएको छ । लुटिएका हतियार सबै फिर्ता भएका छैनन् । भागेका कैदीबन्दी सबै समातिएका छैनन् । त्यसकारण अराजकताको अवस्था अद्यापि कायम छ । फलस्वरुप शेयर लगानीकर्ताहरूको मनोबल उठ्न सकेको छैन ।

अन्त्यमा, माथि उल्लेखित अवस्थाका बीच पनि लगानीकर्ताहरूले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । चुनाव गर्ने वातावरण बनाउन सबैले सहयोग गर्न आवश्यक छ । सरकारलाई चुनावी वातावरण बनाउने, दलहरू चुनावमा जाने अवस्था सिर्जना गराउन ब्यवसायीहरूको तर्फबाट पनि पहल हुनुपर्छ । तोकिएकै समयमा चुनाव हुँदा सबै कुराको सामाधान मिल्नेछ भने चुनाव सरेमा वा नहुने अवस्था सिर्जना भयो भने त्यसको मार सबै क्षेत्रमा पर्नेछ । त्यसकारण चुनाव गराउनेमा सबैको सहयोग अपरिहार्य छ ।