‘निर्वाचनमा जानुपूर्व नियमित या विशेष दुईमध्ये एक महाधिवेशन गर्नु अपरिहार्य’ : महामन्त्री शर्मा

‘निर्वाचनमा जानुपूर्व नियमित या विशेष दुईमध्ये एक महाधिवेशन गर्नु अपरिहार्य’ : महामन्त्री शर्मा


लामो विवादपछि नेपाली कांग्रेसले यही २६-२९ गतेका लागि महाधिवेशनको मिति तोकेपनि तोकिएको मितिमा महाधिवेशन हुन सक्ने सम्भावना अब लगभग समाप्त भएको छ । जेन-जी आन्दोलनलगत्तै कांग्रेसमा महाधिवेशन गर्नुपर्ने दबाब बढेपछि ‘विशेष’ कि ‘नियमित’ महाधिवेशन गर्ने भन्ने विषय चर्कियो र अन्ततः विशेष महाधिवेशन टार्नकै लागि नियमित महाधिवेशनको मिति तोक्ने औपचारिकता निर्वाह गरियो, संस्थापन पक्षबाट । हालसम्म क्रियाशील सदस्यता विवाद टुंगो नलागेको कारण महाधिवेशनको कार्यतालिका अन्योलमा परेको छ, तथापि इतर पक्ष तत्काल महाधिवेशन वा विशेष महाधिवेशनको मागमा अडिग छ ।

नियमित महाधिवेशन नजिक आइपुग्दा पनि क्रियाशील सदस्यताको विवाद टुंगो लाग्न बाँकी रहेकाले त्यसैलाई बहाना बनाएर महाधिवेशन पछाडि सार्नुपर्ने प्रस्ताव संस्थापन पक्षले गरेको छ । तर निर्वाचनअगाडि नै पार्टीको नीति र नेतृत्व परिवर्तन नगरे कांग्रेसलाई ठूलो क्षति हुने जिकिर इतर पक्षको छ ।

यसैबीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन्, जबकि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा-१ बाट निर्वाचित भएका प्रखर नेता शर्माको नाम सो क्षेत्रबाट एकल रुपमा सिफारिस भएको छ । गत चुनावमा आफ्नो क्षेत्रमा सीमित रहेपनि यसपटक पार्टीका उम्मेदवारहरूका साथमा मुलुकभर पुग्नका लागि आफू उम्मेदवार नबन्ने उनको तर्क छ । यसरी उम्मेदवार नबन्ने महामन्त्री शर्माको घोषणालगत्तै अर्का महामन्त्री गगन थापाले पनि चुनावअघि पार्टीको महाधिवेशन नभए आफू निर्वाचन नलड्ने उद्घोष गरेका छन् । महामन्त्रीद्वयको यस्तो निर्णयले कांग्रेसभित्र बेग्लै तरङ्ग पैदा गरिदिएको छ । यो प्रसंगले महाधिवेशनको बहस र विवादलाई नयाँ मोडमा खडा गरिदिएको अनुभूति गरिएको छ ।

महाधिवेशनकै मुद्दालाई केन्द्रमा राखेर कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि जारी रह्यो । विशेष महाधिवेशन पक्षधर कांग्रेस नेताहरूले विशेष महाधिवेशन आह्वानका लागि स्मृति पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका छन् । शुक्रबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ‘नियमित सम्भव बनाऔं अन्यथा विशेष अधिवेशनमा जाउँ’ भन्दै विशेष महाधिवेशनको पक्षधर नेता(कार्यकर्ताको आवाजलाई कार्यसम्पादन समितिको बैठकले गम्भीरतापुर्वक लिएर आवश्यक छलफल गरी टुंगोमा पुग्न प्रस्ताव गरे । अझै पनि नियमित महाधिवेशन गर्न सकिन्छ भन्ने थोरै सम्भावना बाँकी रहेको तर त्यसका लागि नियमित महाधिवेशनको कार्यतालिका हेरफेर गरेर १५औं महाधिवेशन सम्भव तुल्याउनुपर्ने उनको तर्क छ ।

यसका लागि अविलम्ब कार्यतालिका हेरफेर गर्दै नियमित महाधिवेशन सम्भव तुल्याउन सकिने उनले सुझाएका छन् । नयाँ कार्यतालिका बनाउन सकिन्न भने तत्कालै विशेष महाधिवेशनको प्रक्रिया थालनी गर्न उनले आह्वान् गरेका छन् ।

महामन्त्री शर्माका अनुसार निर्वाचनमा जानुपूर्व नियमित या विशेष दुईमध्ये एक महाधिवेशन गर्नैपर्दछ । महाधिवेशनबाट मात्रै पार्टी पंक्तिमा उर्जा र नागरिक पंक्तिमा नयाँ विश्वास जागृत गर्न सकिन्छ !

file photo