लेखिका पार्वती तिवारीको संघर्ष-कथा ‘पुर्पुरो’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच विभिन्न क्षेत्रका अग्रज ब्यक्तित्व एवम् साहित्यकारहरुको उपस्थितिमा ‘पुर्पुरो’ सार्वजनिक गरिएको हो ।
बाल्यकालमा अथाह संघर्ष, दुख र शहरी गरिवीको दुश्चक्रले प्रताडित बनेकी तिवारीले पुस्तकमा आफ्ना ती पेचिला दिनहरु उतारेकी छन् । आजका युवाहरुले आमाबाबाको अथाह माया, सुविधा र सुखका दिनहरु गुजार्दा पनि भनेजस्तो गर्न नसकिरहँदा तिवारीको आत्मकथाले धेरैलाई प्रेरणा दिन सक्छ । आफ्नी दिवंगत आमाले आफू र भाइलाई पढाउन गरेको अथक संघर्ष, बाल्यकालमा भोगेका रोग, भोक, अभाव र दुःख, संघर्ष अनि अहिलेको आफ्नो प्रगति र सन्तुष्टिलाई समेत पुस्तकमा लेखिकाले उतारेकी छन् ।
हुन त नेपालमा कर्णाली प्रदेशका कतिपय जिल्लामा अझै भोकमरी छ । त्यहाँ लाखौं मान्छे रोग, भोक, दुःख र संघर्षको मैदानमा छन् । कर्णालीलाई दुःखको घर पनि भनिन्छ र सम्भावनाको थलो पनि । ‘देशमा अहिले पनि २१ प्रतिशत मानिस निरपेक्ष गरिवीमा जीवन बाँचिरहेका छन्, यस्तोमा शहरमा हुर्के–बढेकाहरुले के नै दुःख पाए होलान् र ?’ भन्नेहरु पनि हुन्छन् । फेरि दुःख र संघर्ष त नेपालीहरुको भाग्यमा लेखिएकै कुरा त हो नि भन्न सकिएला । तर पार्वती तिवारीको कथा बेग्लै हो र हृदयविदारक पनि छ । उनको कथामा शहरी गरिवी झन् कति पेचिलो छ र फराकिलो बन्दैछ भन्ने तस्बिर देखिन्छ ।
यद्यपि, शहरमा गरिवी मात्र छैन, मानवता पनि छन् र समाजसेवी हातहरुले धेरैको अन्धकार जिन्दगीलाई उज्यालो बनाएको पुस्तक पढ््दा थाहा हुन्छ । पार्वतीले आफ्नै कथावस्तुलाई जसरी साहित्यिक ढंगले पस्केकी छन्, त्यसले पुस्तक पढ्न जाँगर दिनेछ । भुइँतहबाट उठेकी तिवारी अहिले एउटा ‘क’ वर्गको बैंकमा अधिकृत तहमा पुग्न सफल भएकी छन् । उनको कथा धेरैलाई प्रेराणाको स्रोत बन्न सक्छ ।
आफैले भोगको सत्यलाई प्रकट गरिएको यस पुस्तकमा नेपाली परिवेशको यथार्थसमेत प्रस्तुत गरिएको छ । नेपाली समाजको प्रवृत्ति, उचनीच ब्यवहार, सामन्तपना र विभेद, गरिव तथा दीनदुःखीहरुलाई गरिने ब्यवहार र हेरिने दृष्टि लगायत तमाम सामाजिक प्रवृत्तिको आलोकमा यस कृति युवापुस्ताको लागि अत्यन्त सन्देशमुलक हुनेछ ।
पुस्तक सनातन प्रेस, वानेश्वरले मुद्रण गरेको हो । पुस्तकमाथि डा. हेम भण्डारी, महर्षि ल कलेजका नि. क्याम्पस प्रमुख दीनदयाल रेग्मी लगायतले टिप्पणी गरेका छन् । पुस्तकको मुल्य रु. ५ सय रहेको छ । पुस्तकको वितरक भृकुटीमण्डपस्थित कालिन्चोक पुस्तक पसल रहेको छ ।
प्रतिक्रिया