तिमी र म

तिमी र म


मैले पनि तिम्रो लागि, मखमली उनेको छु
माया प्रिती जोड हैन, पिरतीले गुनेको छु
लगन् जुर्दा तिम्रा लागि, किन्नुपर्ला चुरा धागो
आफ्नो लागि मिलाएर, उद्रेको कोट् तुनेको छु ॥

साँझ खानु हल्का खाना, शुभ हुन्छ बिहानीको
सम्झना त केही हुन्न, ब्युँझेपछि सपनीको
अर्थ राख्न सक्छौ भने, आऊ अब प्यार गरौँ
आऊ आऊ भन्ने छोडी, तिमीलाई चुनेको छु ।

हात राम्रो रेखीबाट, कोरीबाटी चुल्ठी होला
वर्षा झरी हुँदा कतै, खहरेलाई लाग्छ खोला
भागी जान्छौ डर लाग्छ, माया कहा पोखुँ फेरि
मैना जस्तै गरी मन, भित्रभित्रै थुनेको छु ।

हिउँद् लाग्दा गहत् भए, बर्खा मिठो मास्को दाल
तिमीलाई कुर्दाकुर्दै,जोगी जस्तै मेरो हाल
खुला छाना तारा हेर्दै, दिन रात काटेको हो
जाडो होला तिम्रो लागि, न्यानो स्वीटर् बुनेको छु ।

  • कोमल, काठमाडौं