(सन्दर्भ : राष्ट्रिय एकता तथा मेलमिलाप दिवस)
गरीबी, पछौटेपन, रोग, भोक, शोक, अभाव र अनावश्यक प्रभावले ग्रस्त भएर मुलुकले समाजवादी मार्ग पहिल्याउन सक्दैन । गरीबलाई धनी नबनाइ देशले समृद्धिको यात्रा पनि तय गर्न सक्दैन । गरीबलाई धनी बनाउने – यही हो बीपीको समाजवादी नीति । त्यसैले अबको लडाइँ काङ्ग्रेसले यसैतर्फ केन्द्रित गर्नुपर्दछ ।
✍ कृष्ण हुमागाइँ
आधुनिक नेपालका परिकल्पनाकार, महान् समाजवादी नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले भौतिक रूपमा हामीलाई छोडेर जानुभएको ४३ वर्ष भएछ । तर उहाँले देशबासीलाई युगौँसम्म मिलेर बस्न र एकआपसमा हातेमाले गर्दै देशको विकास गर्नका लागि अघिसार्नुभएको राष्ट्रिय मेलमिलापको नीति वर्तमानमा झन् सान्दर्भिक हुँदै गएको छ ।
हाम्रो देशमा वर्गका आधारमा, जातका आधारमा, उमेर समूहका आधारमा, रङ्गका आधारमा, भूगोलको आधारमा अनि लिङ्गका आधारमा विभाजन, बेमेल र द्वन्द्व र झै-झगडाहरू बढाएर देशलाई अस्थिरता र अनिश्चयको अन्धकारमा धकेल्ने षडयन्त्रहरू भइरहेका छन् । यी सबैलाई समाधान गर्न बीपीले अघिसार्नुभएको राष्ट्रिय मेलमिलापको नीतिलाई सबैले अनुशरण गर्ने हो भने देश, शान्त, समृद्ध र सुखी बाटोमा निश्चय नै अघि बढ्ने थियो ।
देश र जनतालाई मेलमिलापको बाटोमा हिँडाउने कार्यको अगुवाइ गर्नुपर्ने नेपाली काङ्ग्रेस यतिबेला आफैं महाधिवेशन दुई महिनाअघि गर्ने कि दुई महिनापछि भन्ने झमेलामा फसेको छ । लोकतन्त्र र विधिको शासनका लागि राणा, राजा र पञ्चायती निरंकुशताका विरुद्ध कठोर संघर्ष गरेको काङ्ग्रेसले आफ्नो नियमित रूपमा हुने वैधानिक कुरालाई निश्चय नै ब्यवस्थित त गर्नैपर्छ । तर यही बहानामा विभाजन, बेमेल र फुटको षडयन्त्र कसैले पनि गर्नु हुँदैन । बीपी, गणेशमान, किसुनजी, लगायत हजारौँ प्रजातान्त्रिक योद्धा र वीर शहीदहरूलाई सम्झेर बीपीले देखाउनुभएको मेलमिलापको बाटोमा पहिला त काङ्ग्रेस आफैं हिँड्नपर्छ, अनि देशबासीलाई यही मेलमिलापको बाटोबाट मात्र शान्ति, स्थिरता, विकास र समृद्धिको यात्रा अघि बढाउन सकिन्छ भनेर अरुलाई एकाकार गर्न सकिन्छ । त्यसका लागि सर्वप्रथमत काङ्ग्रेसजनले बीपीको मेलमिलापको नीतिलाई हृदयदेखि नै अनुशरण र अनुकरण गर्नैपर्दछ ।
आजकै दिन ४९ वर्षअघि (२०३३ पुष १६ गते) आठ वर्ष लामो भारत निर्वासनबाट मृत्यदण्ड समेतको परवाह नगरी आफ्ना सहकर्मीसहित राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएको दिन । यस दिन (पुस १६)लाई नेपाली काङ्ग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा देश-विदेशमा मनाउने गरेको छ । यही दिन बीपीलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरी सिधै सुन्दरीजल जेल लगियो, जहाँ बीपीलाई १६ वर्षअघि थुनामा राखिएको थियो । २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रबाट दुई तिहाई बहुमतसहित प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेस्वरप्रसाद कोइरालाको मन्त्रिपरिषद् र संसद् विघटन गरि शाही सेनाको बलमा प्रजातन्त्रको हत्या भयो । राजाले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् – बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाएर जेल हाल्नुभयो । बीपीलाई जेल हालिएको आठ वर्षपछि २०२५ कात्तिक १४ गते बीपी कोइरालालगायतका नेताहरू जेलमुक्त हुनुभयो । त्यसपछि उनीहरू भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरू आफूहरूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किनुभयो ।
नेपाल तरुण दलको महाधिवेशन उद्घाटनमा सरिक भइरहेकोे अवस्थामा २०१७ साल पुस १ गत नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका बीपीलाई पक्राउ गरि सुन्दरीजल जेल लगियो र प्रजातन्त्रलाई कू गरियो । भागेर, देश छोडेर हिँडेका राजाहरूलाई स्वदेश फर्काएर राजगद्दीमा राख्ने काङ्ग्रेस र नेपाली जनताको अधिकारप्रति राजाहरूको बारम्बारको आक्रमणकै कारण ज्ञानेन्द्र शाहको पालामा आइपुग्दा नेपालबाट २४० वर्षे इतिहासको विरासत खण्डित गर्दै राजतन्त्र÷राजसंस्था समाप्त भयो । विश्वको राजनैतिक इतिहासमा अत्याचार गर्नेहरूको अन्त्य यसरी नै हुँदै आएको छ, हुन्छ ! र गणतन्त्रको बिउ त राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र खोसेर काङ्ग्रेसलाई दमन गर्दै कांग्रसको कउण्टरमा दरबारिया दानापानीमा रोयल कम्युनिष्ट उत्पादन गरेर रोपेका थिए । यस्तो दरबारिया षडयन्त्रको चक्रब्यूहमा परेको नेपाली काङ्ग्रेसले त्यही राजतन्त्रसँग देश बचाउन मेलमिलापको हात अघि बढायो ।
काङ्ग्रेस इतिहासदेखि नै मेलमिलापको पक्षमा
नेपाली काङ्ग्रेसले आफ्नो स्थापनाकालदेखि नै क्रान्ति र शान्तिको मार्ग पहिल्याएको पाइन्छ । मध्ययुगिन दासतापूर्ण जहानिया राणा शासनकालको अन्धकार युगमा जनतामा चेतना भर्ने र समानताका लागि संघर्ष गर्ने काङ्ग्रेसीहरूको त्यो परिवेशको राजनैतिक चेतलाई क्रान्तिकारीहरूको उत्साहपूर्ण बलिदानको रूपमा लिइन्छ । नेपालीलाई रैतीबाट नागरिक बनाउन हतियारबन्द क्रान्ति गरेको नेपाली काङ्ग्रेसले भागेर नेपालस्थित भारतीय दुतावासको शरण हुँदै दिल्ली पुगेका राजा त्रिभुवनको राजगद्दी पुनर्स्थापना र राणाहरूलाई पनि देश छोड्न नपर्ने बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरे स्वदेशमै बस्न दिने नीति अंगिकार गऱ्यो । यही नीतिका कारण भारतको दिल्लीमा नेपाली काङ्ग्रेस, तत्कालिन राजा श्री ५ त्रिभुवन र राणाहरूका बीचमा त्रिपक्षीय सम्झौता भएपछि नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा गरियो ।
नेपालमा प्रजातन्त्र आएपछि राजाको समेत प्रतिनिधि रहनेगरी तत्कालिन श्री ३ महाराज मोहन शम्सेरको नेतृत्वमा बीपी कोइराला गृहमन्त्री रहेको मन्त्रिमण्डल पनि गठन भयो । राणहरूको श्री ३ पदवी खोसियो, राजाले मात्र श्री ५ लेख्न पाउने अधिकार रह्यो । यो घटना पनि क्रान्तिका बीचमै पनि शान्ति र बढी रक्तपात नहोस् भन्नका खातिर एउटा मेलमिलापको नीति थियो । प्रजातन्त्रमा कसैको हार हुँदैन भन्ने एउटा बलियो उदाहरण हो, २००७ सालको त्रिपक्षीय सम्झौता पनि ।
मुलुक नै नरहे केका लागि र कसका लागि राजनीति गर्नु ? पहिला मुलुक बचाउँ, अनि राजासँग, पञ्चसँग जो-जोसँग लड्नु परेपनि लडौँला भनेर स्वदेश फर्किनुभएका बीपीले देश बचाउँन राष्ट्रियताका सवालमा राजाको घाँटीभन्दा पहिला मेरो घाँटी छ, मलाई नछिनाई राजालाई सक्दैनौ भन्नुभएको थियो ।
वि.सं. २०३१ साल बैशाख १३ (सन् १९७५ अप्रिल २६) मा भारतले सिक्किमलाई आफ्नो मुलुकमा बिलय गराएपछि बीपी कोइरालालाई नेपालको अस्तित्व पनि संकटमा पर्न लागेको आशंका भयो । जसरी सिक्किममा त्यहाँका राजा र जनताका बीचमा फाटो पैदा गराएर भारतमा बिलय गराइयो, नेपाललाई पनि राजा र आफ्ना बीचमा फाटो गराएर नेपालको राष्ट्रिय अस्मितालाई धरापमा पर्ने षडयन्त्र भइरहेको बीपीले पूर्वानुमान लगाउनुभयो । यही परिवेशमा अनेक अप्ठ्यारोका बीच पनि मतृभूमि र नेपाली जनताको मायाले गर्दा आफ्नो ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किनुभएको थियो ।
मुलुक नै नरहे केका लागि र कसका लागि राजनीति गर्नु ? पहिला मुलुक बचाउँ, अनि राजासँग, पञ्चसँग जो-जोसँग लड्नु परेपनि लडौँला भनेर स्वदेश फर्किनुभएका बीपीले देश बचाउँन राष्ट्रियताका सवालमा राजाको घाँटीभन्दा पहिला मेरो घाँटी छ, मलाई नछिनाई राजालाई सक्दैनौ भन्नुभएको थियो । अर्थात्, ‘देश बचाउन राजा र म सँगै छौँ, देश जोगाएपछि राजा र पञ्चसँग प्रजातन्त्रका लागि लड्ने लडाइँ त फेरिपनि छँदैछ’ भनेर मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ बीपी भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किनुभएको थियो । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किनुभएका महामानव बीपीले पत्रकारहरूले राखेको जिज्ञासामा मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।
निरंकुश राजतन्त्रलाई बीपीले कहिल्यै स्वीकार गर्नुभएन, तर उहाँले राजासँग मिल्नुपर्छ भन्नुभएको थियो । अहिले काङ्ग्रेसले कम्युनिष्टसँग मिलेर राजा फाल्यो भनेर गलत भाष्य निर्माण गर्न खोजिँदैछ । बीपीले राजासँग मिल्ने कुरा कुन सन्दर्भ र प्रसंगमा गर्नुभएको थियो भनेर विश्लेषण नगरी एकोहोरो राजाको कुरामात्र गर्दा मेलमिलाप नीतिको उद्देश्य, औचित्य र सान्दर्भिकतामाथि अन्याय हुन जान्छ ।
आजभन्दा ५० वर्षअघि सिक्किममा ‘सिक्किम नेशनल काङ्ग्रेस’ र ‘सिक्किम जनता काङ्ग्रेस’सँग राजा छोग्यालको द्वन्द्व बढेर जाँदा राजतन्त्र मात्र समाप्त भएन, देशको स्वतन्त्र अस्तित्व नै सकियो, विश्वमानचित्रबाट सिक्किम हरायो, विलय भयो । भारतीय गुप्तचर संस्था रअ र प्रधानमन्त्री इन्दिरा गान्धीको गुप्त योजनाअनुसार नै सिक्किमलाई भारतले निलेपछि बीपीले देश जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिनुभयो । यही नीतिपछि सशस्त्र विद्रोहको तयारी गर्दै गरेको काङ्ग्रेसले हतियारको राजनीति छोड्दै शान्तिपूर्ण राजनीतिमा आउने सोचाइ बनाएकोे पाइन्छ ।
बीपीको स्वदेश आगमन र त्यसको प्रभावले देशमा प्रजातान्त्रिक आन्दोलनका पक्षमा राजनीतिक तरंग सिर्जना गऱ्यो, सर्वसाधारण जनतासमेतलाई प्रभावित गऱ्यो । त्यसैको परिणाम २०३५ को विद्यार्थी आन्दोलन, २०३६ को जनमत संग्रह हँुदै राजनीति केही खुकुलो भयो । त्यही मेलमिलापको नीतिमा टेकेर काङ्ग्रेसले राणा, राजा र कम्युनिष्टहरूलाई प्रजातन्त्र र जनतामा निहित सार्वभौम सत्ता (अर्थात् जनताको सर्वोच्चता)लाई स्वीकार गराउन नेपाली काङ्ग्रेसले समय–समयमा कठोर संघर्ष गर्नुपरेको इतिहास साक्षी छ । काङ्ग्रेसले २०४२ सालमा सत्याग्रह आन्दोलन गऱ्यो । त्यसले पार्टीलाई थप संगठित गर्न मद्दत पुग्यो र काङ्ग्रेस पार्टीकै नेतृत्वमा २०४६ सालको राष्ट्रिय जनआन्दोलन सम्पन्न भइ प्रजातन्त्र पुनःस्थापना भएको थियो ।
राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन र पछि यसको ब्याख्या गर्दा राष्ट्रियताको विषयमा बीपीले भन्नुभएको थियो – राजामा जुन राष्ट्रियताको तत्व छ, त्यसकारणले राजाले प्रजातन्त्रलाई पनि स्वीकार गर्छन् भने राजा पनि चाहिन्छ । यसोभन्दा निरंकुश राजा चाहिन्छ भनेको होइन । बीपीले कम्युनिष्ट पार्टीहरूसँग कहिले पनि सहकार्य गर्नुभएन र गर्ने पक्षमा पनि हुनुहुन्नथ्यो । किनकि, कम्युनिष्टहरू सर्वहारा वर्गको एकदलीय अधिनायवादी शासनको वकालत गर्दथे । उनीहरू प्रजातन्त्रलाई मान्दैनथे, अधिकार सार्वभौम जनतामा होइन, कम्युनिष्ट पार्टीको पोलिट ब्यूरोमा हुनुपर्छ भन्ने कम्युनिष्टहरूको नीतिको बीपी खरो विरोधि हुनुहुन्थ्यो । कम्युनिष्टले बहुदलीय ब्यवस्था, मानवअधिकार, प्रेस स्वतन्त्रता र जनताको सर्वोच्चतालाई स्वीकार गरेको भए २०३६ सालको जनतमत संग्रहमा बहुदलको निलो रङको मतपत्रमा छाप लगाउँथे र त्यसैबेला निरंकुश पञ्चायत ब्यवस्था समाप्त हुन्थ्यो । जनमत संग्रहमा केही कम्युनिष्टले पञ्चको पहेँलो रङमा भोट हाले भने केहीले यो बहुदल भनेको काङ्ग्रेसले ल्याउन चाहेको ब्यवस्था हो, हाम्रो होइन भनेर जनमत संग्रहमा तटस्थ बसे ।
मनमोहन अधिकारीको मार्क्सवादी समूहले पञ्चायत भन्दा काङ्ग्रेसले चाहेको बहुदल उचित छ भनेर बहुदलको पक्षमा भोट हालेका थिए । यिनै कारणहरूले बीपीले नेपालका कम्युनिष्टहरूकाप्रति विश्वास र भरोसा गर्न सक्नुभएन । तर जब कम्युनिष्टहरूले पूर्वी युरोपमा कम्युनिष्टसत्ताको पतनको श्रृङ्खला देखे तब उनीहरूमा प्रजातन्त्रलाई स्वीकार गरेर अघिनबढेमा नेपालबाट पनि आफ्नो अस्तित्व समाप्त हुने कुरा बुझे । त्यसपछि उनीहरूले प्रतिष्पर्धात्मक बहुदलीय ब्यवस्था र जनताबाट निर्वाचित प्रतिनिधिले बनाएको संविधान र कानून अनुसार शासनसत्ता संचालन हुने कुरालाई स्वीकार गरे । तब सर्वोच्च नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्राद कोइरालाले २०४६ सालको संयुक्त जनआन्दोलनमा बाम मोर्चाको रूपमा सँगै प्रजातन्त्रप्रप्तिको आन्दोलनमा कम्युष्टिहरूलाई सहभागी बनाउनुभएको थियो ।
कतिपय मानिसहरूले बीपीको जीवनपछि बीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीति काङ्ग्रेसले परित्याग गऱ्यो भनेर त्यसको अपब्याख्या पनि गर्दै आएका छन् । मुलतः प्रजातन्त्र र जानतामा निहित सार्वभौमसत्ता नस्वीकार्नेसँग सहकार्य नगर्ने बीपीको नीति थियो । जब कम्युनिष्टहरू जनताको सर्वोच्चतालाई स्वीकार गर्ने र बहुदलीय प्रजातन्त्रलाई मान्ने सवालमा सँगै आन्दोलन र सहकार्य गर्न राजी भए, तबमात्र नेपाली काङ्ग्रेसले नेपालका कम्युनिष्ट घटकहरूसँग सहकार्य र मेलमिलापको नीति अंगिकार गरेको पाइन्छ । हाम्रा नेताहरूले २०४६ सालमा वाममोर्चालाई साथ लिएर गरेको जनआन्दोलन, काङ्ग्रेसको नेतृत्वमा तत्कालीन ७ दलले माओवादीसँग गरेको १२बुँदे समझदारी र त्यसमा टेकेर गरिएको ०६२/६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौता र २०७२ मा संविधान निर्माण पनि निश्चय नै मेलमिलापको नीतिमा आधारित नै थियो भन्न सकिन्छ । किनकि, कुनैपनि अधिनायकवादी शासक चाहे राजा, महाराजा होस् वा कम्युनिष्ट वा सैनिक तानाशाह – उसले प्रजातन्त्र र जनताको सर्वोच्चतालाई स्वीकार गऱ्यो र राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा आफूलाई उभ्याउने प्रयास गऱ्यो भने नेपाली काङ्ग्रेसले उसँग मेलमिलाप गरेर देश विकासको माहायात्रमा सहभागी गराउनुको सट्टा अनावश्यक द्वन्द्व सिर्जना गरेर मुलुकमा झमेला बढाउनु बीपीको नीतिभित्र पर्दैन ।
अब राष्ट्रियताको जगेर्ना गर्न र जनताको स्वाभिमानलाई अझ उच्च बनाउन बीपीको नीति, विचार सिद्धान्तलाई शब्दमा भन्दा ब्यवहारमा अवलम्बन गरिनुपर्छ । यसलाई वर्तमान राजनीतिक परिवेशमा थप परिभाषित एवम् समृद्ध बनाउँदै राष्ट्रवादी एवम् प्रजातन्त्रवादी शक्तिबीच व्यापक एकता र मेलमिलाप स्थापित गर्न जरूरी छ ।
राजा त्रिभुवनले प्रजातन्त्रको पक्षमा भित्रीरूपमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदा भागेर दिल्ली गएपनि काङ्ग्रेसले नै स्वदेश फिर्ता गराएर राजगद्दीमा राखेकै हो । राजा महेन्द्रले प्रजातन्त्र खोस्दा महेन्द्र चढेको जीपमा जनकपुरमा काङ्गे्रसका दुर्गानन्द झाहरूले बम हानेकै हुन् र बाबुकै पथमा लागेर प्रजातन्त्र मास्न खोज्ने निरंकुश राजा ज्ञानेन्द्रलाई राजद्दीबाट काङ्ग्रेसकै अगुवाइमा हटाइएकै हो । त्यसैले जब नेपालका कम्युनिष्टहरूले प्रजातन्त्र र जनताको अधिकारलाई स्वीकार गरे तब काङ्ग्रेसले उनीहरूलाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा साथ लिएर द्वन्द्व मेटाएको पाइन्छ ।
काङ्ग्रेसबिना इतिहास अपुरो
इतिहासमा नेपाली काङ्ग्रेस र नेपाली जनताको विरुद्ध जो जो उभिए ती समाप्त भएर गएका छन् । यसका प्रसस्त उदाहरणहरू छन् । १०४ बर्षे जहाँनीया राण शासन, ३० वर्षे पञ्चायती शासन, २४० वर्षे शाही शासन सबै नेपाली काङ्ग्रेस र नेपाली जनतासँग निहुँ खोज्दा, दमन गर्न खोज्दा समाप्त भएका हुन् । यो सब देखेका नेपालका कम्युनिष्टहरूले काङ्ग्रेसलाई बुर्जुवा आदित्यादि भनेपनि नेपाली काङ्ग्रेससँगको सहकार्य र सहयात्रा बिना आफ्नो अस्तित्व जोगिन नसक्ने ठानेर नै मेलमिलापको नीतिमा उनीहरू पनि आएकै हुन् र सहकार्य गरेका हुन् ।
राष्ट्रियताका सन्दर्भमा बीपीले राजसंस्था वा राजासँग गर्नुभएको मेलमिलापको प्रस्तावलाई राजा वीरेन्द्रद्वारा स्वीकार गरिएन, तर जनमतसंग्रहमार्फत केही सुधारका प्रयास भने भए । बीपीको मेलमिलापको नीति स्वीकार नगर्नाको परिणाम हो अन्ततः देशबाट राजसंस्था नै पतन भयो । २०६२÷०६३ को परिवर्तनपछि नेपाली काङ्ग्रेस स्वयंको नेतृत्वमा देशमा गणतन्त्र स्थापना भयो ।
बीपीले मेलमिलाप नीति प्रतिपादन गर्दाको विश्व राजनीतिक परिवेश र घरेलु परिस्थितिमा अहिले परिवर्तन आएको छ । तर हाम्रो राष्ट्रियता र प्रजातन्त्रमाथि देखिएको चुनौती र खतरा भने अझै टरेको छैन । अहिले हाम्रा छिमेकी एवं मित्रराष्ट्रहरू र विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीको नेपालप्रतिको चासो झन् बढेको छ । त्यो चासो कतिपय अवस्थामा दबाब र हस्तक्षेपकै तहमा देखिने गरेको छ । यस अवस्थामा राष्ट्रियतामाथिको चुनौती विगतमाभन्दा अझ बढ्दो छ ।
अब राष्ट्रियताको जगेर्ना गर्न र जनताको स्वाभिमानलाई अझ उच्च बनाउन बीपीको नीति, विचार सिद्धान्तलाई शब्दमा भन्दा ब्यवहारमा अवलम्बन गरिनुपर्छ । यसलाई वर्तमान राजनीतिक परिवेशमा थप परिभाषित एवम् समृद्ध बनाउँदै राष्ट्रवादी एवम् प्रजातन्त्रवादी शक्तिबीच व्यापक एकता र मेलमिलाप स्थापित गर्न जरूरी छ । जनतामा भ्रष्टाचार र बेथितिले गर्दा चरम निरासा बढेर गएको छ । यो लोकतन्त्र र राष्ट्रियताका लागि झन् खतरा हो । अरु सबैसँग मेलमिलाप गरेपनि नेपाली काङ्ग्रेसले भ्रष्टाचारी, दलाल, कमिसनखोरहरूका विरुद्ध कठोर संघर्ष गरेर बीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादी यात्रालाई द्रूत गतिमा अघि बढाउन ढिला गर्नु हुँदैन ।
गरीबी, पछौटेपन, रोग, भोक, शोक, अभाव र अनावश्यक प्रभावले ग्रस्त भएर मुलुकले समाजवादी मार्ग पहिल्याउन सक्दैन । गरीबलाई धनी नबनाइ देशले समृद्धिको यात्रा पनि तय गर्न सक्दैन । गरीबलाई धनी बनाउने – यही हो बीपीको समाजवादी नीति । त्यसैले अबको लडाइँ काङ्ग्रेसले यसैतर्फ केन्द्रित गर्नुपर्दछ । यही नीतिले हामीलाई प्रजातान्त्रिक समाजवादको लक्ष्यमा पुऱ्याउँदछ । त्यही भएर बीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीति वर्तमानमा झन् सान्दर्भिक भएर गएको छ । जय नेपाल ।
(लेखक नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति तथा हाल नेपाली काङ्ग्रेस झापाको जिल्ला-सचिव हुन् ।)
प्रतिक्रिया