न ढुंगामा न माटोमा, देवता त संधै भावनामा बस्छन् । देवी-देवताप्रति मनैदेखि गहिरो आस्था र श्रद्धाभाव जागृत भएमा मानिसको जीवनमा स्वतः सकारात्मक प्रतिफल प्राप्त हुन्छ । पुर्खाको त्याग र बलिदानीलाई मनैदेखि नमान्ने हो भने केवल नकारात्मकता मात्र जाग्छ अनि भविष्यप्रतिको आशा र विश्वास अर्थहीन हुन जान्छ ।
✍ गीता ढकाल (बोर्लाङ, गोरखा)

विषय प्रवेश
नेपालका प्रत्येक जाति, थर र वंशको आ-आफ्नै परम्परा, सांस्कृतिक पहिचान र विश्वास छन् । तर, निश्चित समयमा आफ्नो कुलदेवतालाई सम्झनु, पुर्खाको आशीर्वाद लिनु, र कुल संस्कारलाई सम्मान गर्नु यहाँका सबै जातजातिमा रहेको साझा संस्कार हो । कुलपूजाले हाम्रो आदिथलोको पहिचान गर्छ । त्यसैले कुलदेवता मूलतः भूमिसँग सम्बन्धित देवता हुन् । कुनै व्यक्ति वा समुदायले आफ्नो भूमिसंगको सम्बन्ध वा पहिचान बिर्सियो भने उसको इतिहास, वर्तमान र भविष्य सबै खण्डित हुनपुग्छ । यसैले कुलपूजा गर्नु भनेको केवल देउता पुज्नुमात्र होइन, आफ्नो वंशको जरो, संस्कार र आत्मालाई पुज्नु हो । ‘कुललाई मान्ने घर कहिल्यै उँधो हुन्न, कुल नमान्ने घर कहिल्यै उँभो हुन्न’ भन्ने हाम्रो लोकोक्ती यसै बनेको होइन । जुनसुकै जाती वा सम्प्रदाय होस्, उसको मूल अभिभावक भनेकै कुलदेवता हो । त्यसैले कुलायन पूजा केवल धार्मिक कर्मकाण्ड वा अनुष्ठानमात्र नभइ सामुहिक रुपमा गरिने पुर्खाको सम्झना, वंशीय ऐक्यबद्धता र सांस्कृतिक निरन्तरताको प्रतीक समेत हो ।
कूलपूजा पद्धति
नेपाली परिवेशमा कूलपूजा पद्धतिहरु हेर्दा वैदिक, तान्त्रिक र स्थानीय गरि तीन पद्धतिबाट कुलपूजा गर्ने चलन भेटिन्छ । कुलपूजामा वैदिक विधि अनुसरण गर्नेहरुले – पञ्चोपचार वा षोडषोपचार विधिवाट पूजा गरि कूलदेवलाई धुप-दीप-नैवेद्य, जल-द्रव्य-पुष्प आदि अर्पण गर्दछन् । त्यस्तै तान्त्रिक पद्धति अनुसरण गर्नेहरु – धामी काम्ने, बली दिने लगायतका परम्परागत रित बमोजिमका पुजा गर्दछन् । यसैगरि स्थानीय पद्धति अनुसार चल्ने अधिकांशले – कोरा अक्षता र पाती मात्र चढाएर पूजा गर्दछन् । त्यसैले चलनचल्तिमा यसलाई ‘कोरीपूजा’ पनि भनिन्छ । ठाँउ र जात विशेष अनुसार कोरीपूजाका विधिहरु फरक-फरक हुन्छन् ।
पहाडी क्षेत्रमा बसोबास गर्ने सबै जातिहरुले खस संस्कृतिलाई अवलम्बन गरेका हुन्छन् । यस अन्तर्गत मष्टोपूजा प्रमुख हो । मष्टो निराकार स्वरुपको देवता भएकाले मष्टोपुजकहरुले मूर्तिपूजा गर्दैनन् । मष्टोको कुनै मन्दिर हुँदैन, खुल्ला आकाशमुनि ‘थान’ मात्र हुन्छ । खासमा ‘मष्टो’ भनेको ‘माटो’ हो, मष्टोपूजा गर्नु भनेको आफू जन्मेको भूमि वा माटोप्रति सम्मान ब्यक्त गर्नु हो । विशेषगरि वर्षमा चार पटक – वैशाख पुर्णिमा, जेष्ठ पुर्णिमा, मंसिर पुर्णिमा, र पौष पुर्णिमाका अघिल्लो दिन (चतुर्दशी तिथिमा) वा त्यस समयमा कुनै कारणवश रोकिएमा भाद्र (अनन्त) चतुर्दशीमा समेत मष्टोपूजा गरिन्छ । परम्परालाई निरन्तरता दिइरहेको देखिएपनि यथेष्ट ज्ञान अभावमा मष्टोपुजकहरु अलमलमा छन् ।

गोठपूजा
हाम्रा पुर्खाहरु कृषि र पशुपालनमा आश्रित थिए । कृषिकर्मका लागि पशुपालन अनिवार्य आवश्यकता हो । गाईको दुध, दही, घ्यू, गोबर, गहुँत आदि दैनिक कर्ममा अनिवार्य आवश्यक पर्ने भएकाले पूजाकर्ममा समेत तिनै चिजहरुको प्रयोग गर्ने गरियो । हाम्रा गोत्र प्रवर्द्धक ऋषिहरुले पशुपालनमा आधारित कृषिमा नै विशेष जोड दिएका थिए । अहिलेपनि आर्थिक-सामाजिक र भौगोलिक सवै दृष्टिले गौ संरक्षण गर्ने पुरानो परम्परा नै वैज्ञानिक ठहर्छ ।
उहिले उत्तम चरन-खर्कहरुको खोजिमा पहाडमा बस्ने मानिसहरुले ऋतु र मौसम अनुसार लेक-बेंशी र भित्री मधेशमा एक ठाउँवाट अर्को ठाउँमा गोठ राख्दै-सार्दै लैजाने परम्परागत चलन थियो । केहि हिमाली जिल्लाका ग्रामीण भेगमा अझैपनि यो परम्परा देख्न सकिन्छ । त्यतिबेला रोग-ब्याधि-महामारी, भूत-प्रेत-पिशाच जस्ता अमंगलकारी तत्वहरुबाट आफ्ना पशुबस्तुलाई जोगाउन स्थानीय देवीदेवता र आफ्ना कुलदेवताको नियमित पूजा-आराधना गरिन्थ्यो । यो पूजा विशेषतः उँधौली र उँभौली पूर्णिमाका अवसरमा गरिने परम्परा थियो । ज्येष्ठ शुक्ल पुर्णिमाका दिनमा गरिने गोठपुजालाई ‘गैंडुपूजा’ पनि भन्ने गरिन्छ ।
गोरखा बोर्लाङका ढकालहरुको कूलपूजा
शास्त्रहरूमा ‘कुल’, ‘कुलायन’ र ‘कुलायिनी’ जस्ता शब्दहरूले कुल, गोत्र र वंश संरक्षणका लागि कुलदेवताको आराधनालाई अनिवार्य मान्दछन् । यही परम्पराको निरन्तरताका रूपमा बोर्लाङ पिपलटारमा अवस्थित कुलायन थानमा उपमन्यु गोत्रका ढकाल बन्धुहरूले नियमित पुजा सञ्चालन गरिरहेका छन् । राजा राम शाहका सल्लाहकार ज्योतिष अनन्त ढकालले बोर्लाङलाई आफ्नो कर्मथलो बनाएपनि आफ्नो जन्मस्थल अछाम रहेको सनातन संस्कृति र परम्पराको अनुसरण गर्न कन्जुस्याइँ गरेनन् । तत्कालीन समयदेखी आजसम्म नियमित पूजापाठ हुँदै आएको यो स्थल भौगोलिक दृष्टिले पनि महत्वपूर्ण छ । यस स्थानको दक्षिण-पूर्वमा बुढीगण्डकी, मरेङघाट र भाङघारी क्षेत्र रहेको छ भने दक्षिण-पश्चिमतर्फ क्यामुन्टार-पाटनदेवी, रुखाथुम र सिमलटार क्षेत्र पर्दछन् । उत्तर-पश्चिमतर्फ बोर्लाङकोट, ऐरिभञ्ज्याङ र आसपासका सुन्दर डाँडाकाँडा देखिन्छन् भने उत्तर-पूर्वतर्फ जागेश्वर महादेव, बोर्लाङघाट र राङदीघाट सहित विशाल फाँटहरू छन् । हरियाली जंगल, खोला-नदी र टारहरुका विचमा रहेको यो भू-भाग प्रकृतिको अनुपम उपहारजस्तो देखिन्छ । यही शान्त र पवित्र प्राकृतिक वातावरणले कुलपूजालाई अर्थपूर्ण, ध्यानमय र आस्थापूर्ण बनाएको छ । त्यसैले यहाँको कुलपूजा वंशपरम्परा, सांस्कृतिक निरन्तरता र आत्मिक आस्थासंगको निरन्तर संवाद र जीवन्त अभ्यास समेत हो भन्न सकिन्छ ।
प्रत्येक वर्ष पौषशुक्ल चतुर्दशी र बैशाखशुक्ल चतुर्दशीका दिन (वर्षमा दुईपटक) सञ्चालन हुने यहाँको कुलपूजामा अघिल्लो दिन नै कूलायन स्थान भित्र सरसफाई गरिन्छ । पूजामा सहभागी हुने ढकाल बन्धुहरु एकछाक सात्विक आहार मात्र गरेर भोलिपल्ट हुने पूजाका लागि तयार रहन्छन् । पूजाको दिन बिहान पुजा सामग्री तयार गरि उपमन्यु गोत्रिय ढकाल परिवारका सदस्यहरू मात्र भेला भई वैदिक विधिपूर्वक पूजा-पाठ, यज्ञ-हवन तथा कुलदेवताको आह्वान गर्दै पारिवारिक सुख-शान्ति, स्वास्थ्य र समृद्धि तथा पशु-बालीको समेत निरन्तर उन्नतीको कामना गर्ने परम्परा रहिआएको छ । पहिले पहिले त हरेक कृषि उत्पादन आफूले उपभोग गर्नुअघि कुलदेवताको थानमा ल्याई चढाएपछि मात्र उपभोग गर्ने चलन थियो । यहाँको कुलपूजाका विशेष पक्षमध्ये अघिल्लो दिनदेखि नै नुन र मासु नखाने तथा सात्विक आहार मात्र ग्रहण गर्ने परम्परा प्रमुख हो ।
पूजामा ईष्ट-कूल-गैंडु त्रिदेवलाई पायश (खीर), बाबर (वा पुवा) र गोदुग्ध (दूध) मुख्य प्रसादका रूपमा अर्पण गरिन्छ । शास्त्रीय आधार अनुसार उपमन्यु ऋषिले नियमित शिव आराधनाका क्रममा दूध चढाउने प्रचलन नै यस परम्परासँग जोडिन्छ । यस प्रचलनले कुलपूजालाई केवल संस्कारमात्र होइन, संयम र आत्मिक शुद्धताको अभ्यासको रुपमा स्थापित गरेको छ । कुलपूजामा वंशावलीको स्मरणपनि महत्वपूर्ण अङ्ग हो । पुजारीद्वारा पुर्खाहरूको नाम उच्चारण, गोत्र-परम्पराको स्मरण र कुलाचारको पुनरावृत्तिले नयाँ पुस्तालाई आफ्नो जरा र पहिचानसँग जोड्दछ । यसक्रममा जेष्ठ नागरिकहरूले कुलपूजाको ऐतिहासिक पृष्ठभूमि, संस्कार र व्यवहारिक नियमबारे अनुभव सुनाउने परम्परापनि जीवितै छ । श्रुतिपरम्परा र मौखिक इतिहासलाई पुस्तान्तरण गर्न यसले महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ ।
पहिले पहिले यज्ञकर्ममा महिलाको भुमिका कम हुने र टाढा टाढादेखि आवतजावत गर्न असहज हुने भएकाले कूलपुजामा महिला सहभागिता हुँदैनथ्यो । तर, पछिल्लो समय महिलाहरूको सहभागिता समेत उल्लेखनीय रूपमा बढेको छ । पूजासामग्रीको तयारी, प्रसाद निर्माण तथा व्यवस्थापनदेखि सांस्कृतिक अनुशाषन कायम राख्नेसम्म महिलाहरूको भूमिका निर्णायक छ । यसले कुलपूजालाई परम्परागत र पुरुषको दायित्वमात्र नभइ सामूहिक संस्कारको साझा अभ्यास बनाएको छ । कुलपूजा व्यवस्थापनमा संलग्न अगुवाहरूका अनुसार पुर्खाबाट प्राप्त यस परम्पराले शुद्धता, संयम, आपसी सद्भाव र पारिवारिक एकताको सन्देश दिन्छ । बदलिँदो समाज र जीवनशैलीका बीचपनि कुलपूजाले वंशीय सम्बन्धलाई पुनः जोड्ने, बिछोडिएका नाताहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरिरहेको छ ।

निष्कर्ष
‘आचारो विनयो विद्या प्रतिष्ठा तीर्थदर्शनम् ॥
निष्ठाबृत्तिस्तपो दान नवधा कुललक्षणम्’ ॥ कूलदीपिका ॥
अर्थात् – नैतिकता, नम्रता, शास्त्रको ज्ञान, सामाजिक प्रतिष्ठा, पवित्र तीर्थस्थल भ्रमण, गहिरो आस्था, परम्परा मान्यतामा आधारित व्यवसाय, उपवास र दान सम्वन्धि अनुभव – यी नौ विषय कुलपरीक्षाका मापदण्ड हुन् । यसमा खरो उत्रनेको जीवन नै सफल मानिन्छ ।
हाम्रा सांस्कृतिक परम्पराका कतिपय मौलिक र विशिष्ट पहिचानहरु पारिवारिक र सामाजिक विखण्डनले सिर्जना गरेको अज्ञानताका कारण क्रमशः लोप हुँदै गएका छन् । पुर्खाले कठोर साधना तथा परिश्रम गरेर बसालेका अभ्यास र परम्पराका असल पक्षहरु पछिल्लो पुस्ताले बिर्सनु हुँदैन । भाषा भुल्यो भने इतिहास भुलिन्छ, इतिहास भुल्यो भने संस्कृति भुलिन्छ, र संस्कृति भुल्यो भने पुर्खा भुलिन्छ । भाषा, इतिहास र संस्कृति भुलेपछि समाज र आफ्नो पहिचान नै अन्यौलमा पर्दछ । जब टेक्ने आधार र फैलने संस्कार नै समाप्त भयो भने त्यस्तो व्यक्ति वा समुदाय पूर्ण रुपमा नासिएर जान्छ ।
‘भावे हि विद्यते देवो न पाषाणे न मण्मये’ अर्थात् न ढुंगामा न माटोमा, देवता त संधै भावनामा बस्छन् । देवी-देवताप्रति मनैदेखि गहिरो आस्था र श्रद्धाभाव जागृत भएमा मानिसको जीवनमा स्वतः सकारात्मक प्रतिफल प्राप्त हुन्छ । पुर्खाको त्याग र बलिदानीलाई मनैदेखि नमान्ने हो भने केवल नकारात्मकता मात्र जाग्छ अनि भविष्यप्रतिको आशा र विश्वास अर्थहीन हुन जान्छ । आधुनिकताका नाममा कला, संस्कृति, इतिहास र परम्परालाई त्याग्दै जाने हो भने समाज र राष्ट्रले उन्नतिको सहि मार्ग पहिल्याउन सक्दैन । तसर्थ, परिवर्तनका नाममा शान्ति, एकता, मेलमिलाप, भाइचारा जस्ता महत्वपूर्ण सामाजिक पक्षहरु समाप्त हुन दिनुहुँदैन । कूलदेवताले हामी सवैलाई सद्बुद्धि दिउन् !!
प्रतिक्रिया