पृथ्वीनारायण शाहको दिव्य उपदेशले दिएको भूराजनीतिक चेतावनी, नेपाली कांग्रेसले बोकेको लोकतान्त्रिक मूल्य र Gen-Z पुस्ताले उठाएको चेतना सहितको प्रश्नलाई जोड्न सकेमात्र नेपाल सुरक्षित र आत्मनिर्भर लोकतान्त्रिक बाटोमा अघि बढ्न सक्छ । कांग्रेस आफै अन्तरद्वन्द्वमा फसिरह्यो भने त्यो बाटो बन्द हुन्छ; कांग्रेस सुध्रियो भने त्यो बाटो खुल्छ ।
✍ रश्मिशेखर सुवेदी
नेपालको लोकतान्त्रिक यात्रामा नेपाली कांग्रेसलाई एउटा दह्रो खम्बाका रूपमा हेरिँदै आएको छ । राणा शासनविरुद्धको संघर्षदेखि २०४६ सालको जनआन्दोलन, २०६२/०६३ को परिवर्तन हुँदै संविधानसभासम्म आइपुग्दा कांग्रेसको भूमिका ऐतिहासिक रहँदै आएको छ । तर आज विडम्बनापूर्ण अवस्था के देखिएको छ भने जसलाई लोकतन्त्रको संरक्षक मानिन्थ्यो, त्यो दल स्वयं आन्तरिक अन्तरद्वन्द्व, नेतृत्व संकट र वैचारिक अस्पष्टतामा फसेको छ । यो अवस्था केवल एक दलको समस्या होइन; यो नेपालको लोकतान्त्रिक संरचनामाथि नै प्रश्न उठ्ने स्थिति हो, किनकि कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक सन्तुलन पनि कमजोर हुन्छ ।
नेपालको भूराजनीतिक अवस्था सधैं संवेदनशील रहँदै आएको छ । भारत र चीनजस्ता दुई शक्तिशाली राष्ट्रको बीचमा अवस्थित नेपालले सन्तुलित, स्पष्ट र राष्ट्रिय हितमा आधारित राजनीति गर्नुपर्ने हुन्छ । तर यस्तो संवेदनशील भूराजनीतिक अवस्थामा जब प्रमुख लोकतान्त्रिक दल नै आन्तरिक द्वन्द्वमा अल्झिन्छ, तब राष्ट्रको रणनीतिक निर्णय क्षमता कमजोर बन्छ । आज नेपालले भोगिरहेको कूटनीतिक अस्पष्टता, परराष्ट्र नीतिको अस्थिरता र राष्ट्रिय मुद्दामा साझा दृष्टिकोणको अभावको मूल कारण यही राजनीतिक नेतृत्वको कमजोरी हो ।
नेपाली कांग्रेसको वर्तमान संकटलाई केवल गुट-उपगुटको लडाइँ मात्र भनेर हल्का रूपमा बुझ्नु भूल हुनेछ । यो संकट नेतृत्वको चरित्र, संगठनको संरचना र वैचारिक दिशाहीनतासँग गहिरो रूपमा जोडिएको छ । पार्टीभित्र लोकतन्त्रको अभ्यास कमजोर हुँदै गएको छ। निर्णय प्रक्रिया सीमित व्यक्तिको वरिपरि घुम्नु , पार्टीभित्र विचारभन्दा व्यक्ति बलियो बन्दै जानु लोकतान्त्रिक दलका लागि सबैभन्दा खतरनाक संकेत हो ।
यो अवस्था कांग्रेसमा मात्र सीमित छैन । एमाले र माओवादीजस्ता पुराना दलहरू पनि आ-आफ्नै प्रकारका अन्तरद्वन्द्व, सत्तालोलुपता र वैचारिक विचलनको शिकार बनेका छन् । तर कांग्रेसको सन्दर्भमा समस्या अझ गम्भीर छ, किनकि कांग्रेस कमजोर हुनु भनेको लोकतान्त्रिक मूल्यहरू कमजोर हुनु हो । एमालेको राष्ट्रवाद प्रायः सत्ता अनुकूल परिभाषित हुन्छ, माओवादीको क्रान्ति सत्ता-प्राप्तिमा सीमित हुन्छ, तर कांग्रेससँग लोकतन्त्रको नैतिक जिम्मेवारी जोडिएको छ । जब यही पार्टी आन्तरिक द्वन्द्वमा फस्छ भने लोकतन्त्रको नैतिक आधार निश्चय नै कमजोर हुन्छ।
नेपालको भूराजनीतिक यथार्थ यो बेला झन् जटिल बन्दै गएको छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू नेपाललाई आफ्ना रणनीतिक योजनामा समेट्न चाहन्छन् । वैदेशिक सहायता, ऋण, विकास परियोजना र रणनीतिक साझेदारीका नाममा देशभित्र गहिरो प्रभाव विस्तार भइरहेको छ । संगसंगै धार्मिक र राजनैतिक प्रभाव खुलेआम फैलाइरहेछन् । यस्ता विषयमा राष्ट्रिय स्तरको गम्भीर बहस आवश्यक हुनुपर्ने हो, तर जब प्रमुख दलहरू नै आन्तरिक सत्ता संघर्षमा व्यस्त हुन्छन्, तब राष्ट्रिय हितको प्रश्न ओझेलमा पर्नु स्वाभाविक छ ।
कांग्रेसभित्रको अन्तरद्वन्द्वले पनि यस्ता संवेदनशील मुद्दामा पार्टीलाई स्पष्ट बोल्न नसक्ने बनाएको छ । यही सन्दर्भमा पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई पुनः स्मरण गर्नु आवश्यक हुन्छ ।
दिव्य उपदेश कुनै राजतन्त्रको महिमा गान होइन; यो राज्य सञ्चालनको चेतावनी हो । ‘यो देश दुई ढुंगाको तरुल हो’ भन्ने भनाइ आजको भूराजनीतिक सन्दर्भमा झन् सान्दर्भिक छ । पृथ्वीनारायण शाहले विदेशी हस्तक्षेप, आन्तरिक फूट र नेतृत्वको स्वार्थलाई राज्यका लागि घातक मानेका थिए । आज लोकतान्त्रिक प्रणालीमा पनि नेतृत्व स्वार्थकेन्द्रित हुँदा यो घात जीवितै देखिन्छ।
आजको पुस्ता, विशेषगरी Gen-Z, यी सबै विषयलाई नयाँ दृष्टिले हेरिरहेको छ । यो पुस्ता कुनै एक दलप्रति अन्धभक्त छैन। उनीहरू सूचना प्रविधिमा निपुण छन्, विश्व राजनीति बुझ्छन् र प्रश्न गर्न डराउँदैनन्। कांग्रेस, एमाले वा माओवादी – कुनै पनि दलले इतिहासको नाममा कमजोरी लुकाउन खोज्दा Gen-Z ले त्यसलाई सहजै स्वीकार्दैन । उनीहरू लोकतन्त्रको नाममा गुटबन्दी, राष्ट्रवादको नाममा खोक्रो भाषण र विकासको नाममा परनिर्भरतालाई प्रश्न गर्दैछन् ।
भरखरैको Gen-Z आन्दोलन केवल सडकको नारा मात्रै थिएन, यो भूराजनीतिक चेतनाको संकेत पनि थियो । यसको अर्थ नेपालको लोकतन्त्र बलियो पार्न कांग्रेस जस्ता दलहरुमा सुधार ल्याउनै पर्छ भन्ने थियो । यो कुरा नबुझ्नु नै कांग्रेस नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । तर यो एउटा ऐतिहासिक अवसर हो सुधारको ।
अब प्रश्न उठ्छ- नेपाली कांग्रेसको अन्तरद्वन्द्वको निकास के हो ? पहिलो कुरा, पार्टीभित्र वास्तविक आन्तरिक लोकतन्त्र स्थापित गर्नै पर्छ । निर्णय प्रक्रिया पारदर्शी हुनुपर्छ, आलोचनालाई शत्रुता होइन सुधारको आधार मान्नुपर्छ । दोस्रो नेतृत्वमा पुस्तान्तरण अपरिहार्य छ । अनुभवी नेताहरूको योगदान अस्वीकार नगरी, युवालाई नीति निर्माण र नेतृत्वको केन्द्रमा ल्याउनुपर्छ । तेस्रो, कांग्रेसले आफ्नो वैचारिक पहिचान पुनः स्पष्ट गर्नुपर्छ । लोकतान्त्रिक समाजवाद केवल भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ- सुशासन, सामाजिक न्याय र आत्मनिर्भरता अनिवार्य छन् ।
चौथो र सबैभन्दा महत्त्वपूर्ण कुरा, कांग्रेसले भूराजनीतिक सवालमा स्पष्ट राष्ट्रिय दृष्टिकोण विकास गर्नुपर्छ । भारत, चीन वा अन्य कुनै पनि शक्ति केन्द्रसँग सम्बन्ध राख्दा दलगत फाइदा होइन, राष्ट्रिय हित प्राथमिक हुनुपर्छ । यसका लागि पार्टीभित्र परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा सम्बन्धी गहिरो बहस आवश्यक छ । पाँचौँ, कांग्रेसले Gen-Z सँग संवाद गर्न सिक्नुपर्छ । उनीहरूलाई केवल कार्यकर्ता होइन, विचारका साझेदारका रूपमा हेर्नुपर्छ ।
यदि कांग्रेसले आत्मसमीक्षा नगरी पुरानै शैलीमा अघि बढ्यो भने, इतिहासको गौरव बोकेर वर्तमानमा असफल हुने जोखिम उच्च छ । तर यदि उसले आफ्नो अन्तरद्वन्द्वलाई सुधारको अवसरमा रूपान्तरण गर्न सक्यो भने, नेपाली लोकतन्त्र पुनः सुदृढ हुन सक्छ । कांग्रेसको सुधार भनेको केवल पार्टीको सुधार होइन, यो नेपालको लोकतान्त्रिक भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो ।
अन्ततः नेपाल आज यस्तो मोडमा उभिएको छ, जहाँ इतिहास, भूगोल र भविष्य एकै ठाउँमा ठोक्किँदैछन् । पृथ्वीनारायण शाहको दिव्य उपदेशले दिएको भूराजनीतिक चेतावनी, नेपाली कांग्रेसले बोकेको लोकतान्त्रिक मूल्य र Gen-Z पुस्ताले उठाएको चेतना सहितको प्रश्नलाई जोड्न सकेमात्र नेपाल सुरक्षित र आत्मनिर्भर लोकतान्त्रिक बाटोमा अघि बढ्न सक्छ । कांग्रेस आफै अन्तरद्वन्द्वमा फसिरह्यो भने त्यो बाटो बन्द हुन्छ; कांग्रेस सुध्रियो भने त्यो बाटो खुल्छ । यही आजको सबैभन्दा ठूलो राजनीतिक यथार्थ हो ।
(लेखक नेपाली कांग्रेस झापाका सूचना, संचार तथा प्रचार विभाग प्रमुख हुन् ।)
प्रतिक्रिया