बिना रूपान्तरण कांग्रेस अब बाँच्दैन । वर्तमान नेतृत्वले कांग्रेसलाई जनताका आँखामा मरेतुल्य पारेकै छ । अबको प्रश्न यति मात्र हो – कोमामा गएको कांग्रेसलाई पुनर्जीवन दिने कि त्यसै लावारिस छाडेर लाशमा परिणत हुन छाडिदिने ? कांग्रेसले विशेष महाधिवेशनमार्फत निर्णय लिनु पर्नेछ ।
✍ राजेश ढुंगाना
यतिबेला जीवितमध्ये नेपालको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेस आफ्नो जीवनको गम्भीर मोडमा उभिएको छ । उसले आफ्नो जीवनमा दोस्रो पटक विशेष महाधिवेशन भोग्न गइरहेको छ । इतिहासको पहिलो विशेष महाधिवेशन दुवै पक्षको सहमतिमा भएको थियो । तर, अहिलेको विशेष महाधिवेशन भने विद्रोह भएर दुई पक्षमा ‘फ्याक’ भएर हुँदैछ ।
संस्थापन पक्ष भनिएको पुरातन शैली र सोच भएको एउटा झुण्डलाई दलमा देखिएको यो विग्रहको सम्बन्धमा अहिलेसम्म कुनै पीडा देखिँदैन । परिस्थितिलाई सम्हाल्नु सट्टा पूस २७-२८ गते विशेष महाधिवेशनकै दिन युवा भेला नामक ‘प्रतिकार’ भेला गरेर संस्थापन पक्षले परिस्थितिलाई झन् बिगार्दै र भड्काउँदै छ ।
हो, अब कुनै विशेष परिस्थिति विकसित भएन भने विशेष महाधिवेशन हुने पक्का छ । विशेष महाधिवेशन होस् वा कुनै अन्य तरिकाले नै किन नहोस्; कांग्रेसमा व्यापक रूपान्तरणको खाँचो थियो र छ । अझ यसो भनौं- कांग्रेसका लागि रूपान्तरणको प्रयास गर्ने यो अन्तिम समय पनि हो । महान जेन्-जेड क्रान्तिले मुलुकमा चेतनाको स्तर ह्वात्तै बढाइदिएको छ । यसले गर्दा अब अन्य कुनै दल जस्तै, नेपाली कांग्रेस पनि पुरानै नेतृत्व र नीति लिएर जनतामा वा विशेषगरी चुनावमा जानु मृत्युवरण गर्नु जस्तै हुने छ ।
यस अर्थमा विशेष महाधिवेशनले कांग्रेसलाई सुध्रिने एउटा मौका दिएको छ । तर, विशेष महाधिवेशनले एमालेमा न नेतृत्व बदलियो न त नीति नै । एमालेको यही शर्मनाक पदचापमा हिंड्ने हो भने कांग्रेसको विशेष महाधिवेशन पनि होहल्लामय रमिता मात्र हुने छ । अब हेर्नु के छ भने, विशेष महाधिवेशनवालाहरू पनि नेतृत्वको केही र कुनै गुलियो ललिपपको उधारो सहमति खोज्दैछन् कि साँच्चै कांग्रेस रूपान्तरणको संकल्पमा दृढ र इमान्दार छन् ?
जहाँसम्म दल विभाजन हुने कुरा र पीडा छ, त्यो त विगतमा स्वयम् शेरबहादुर देउवा समेतले गरेकै हुन् । त्यसमाथि अहिलेको परिस्थिति अलिक अलग छ । कि त विभाजनलाई समेत स्वीकार्नु पऱ्यो, कि त यथास्थितिमा नै रहनेगरी मृत्युवरण गर्नु पऱ्यो । कांग्रेसजनका सामू छनोटका विकल्प दुई वटा मात्र छन् : पहिलो- समाप्ति र दोस्रो- विभाजनद्वारा अग्रगति । अब कार्यकर्ताले मृत्यु खोज्ने कि एक पटकका लागि घाइते हुन स्वीकार्ने ? – रोजाइ कांग्रेसजनको हातमा छ ।
बिना रूपान्तरण कांग्रेस अब बाँच्दैन । एक प्रकार भनौं- वर्तमान नेतृत्वले कांग्रेसलाई जनताका आँखामा मरेतुल्य पारेकै छ । अबको प्रश्न यति मात्र हो – कोमामा गएको कांग्रेसलाई पुनर्जीवन दिने कि त्यसै लावारिस छाडेर लाशमा परिणत हुन छाडिदिने ? कांग्रेसले विशेष महाधिवेशनमार्फत निर्णय लिनु पर्नेछ ।
तथापि, विगतमा कांग्रेसका ठूल्ठूला ‘झगडा’हरू सम्झौतामा गएर टुङ्गिएका छन् । त्यसैले विशेष महाधिवेशनवालाहरुले अहिलेको स्थिति व्यक्तिगत लाभहानीको छिर्के झगडा नभएर संगठनात्मक सुदृढीकरण तथा वैचारिक र नीतिगत सुधारको इमान्दार एवम् निर्विकल्प प्रयत्न हो भन्ने कुरा पहिले सिद्ध गर्नुपर्छ । यदि गुलियो आश्वासन पाएका भरमा विशेष महाधिवेशनलाई अर्कै नाममा विसर्जन गरियो भने त्यो संस्थापन पक्षले गरेको पापभन्दा ठूलो घात हुने छ ।
यसै अर्थमा दुई युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्व क्षमता र इमानको परीक्षा पनि यो विशेष महाधिवेशनले लिइरहेको छ । यसमा उनीहरू चुके भने केवल उनीहरू मात्र चुक्ने छैनन्, सिंगो कांग्रेस चुक्ने छ ।
प्रतिक्रिया