✍ उमङ्ग जङ्ग पराक्रम शाह
न निष्क्रिय न चञ्चल न टाढा न नजिक
म जहाँ उभिएको छु
यो माटो समान समतल छ
लौकिक चाहनाभन्दा निक्कै पृथक ।
भूगोल मात्र पनि होइन यो
ढुङ्गा र बालुवाले बनेको
आत्मासँग गाँसिएको सूत्र हो यो
जसले मेरो चलायमान शरीरलाई
हंस-हंस दिन्छ ।
त्यसैले त यो
मेरो पाउमुनि होइन,
मेरो शिरमाथि छ ।
स्वयं काल सामु पनि नझुकुला
जब यो माटोको तिलक
मेरो निधारमा छ ।
म दुखी, सुखी, पीडित, सम्पन्न अनेक हुँला
तर म जे छु, जो छु
यही माटोमा उभिँदा छु ।
म कहाँ थिएँ त्यो मेटेर होइन,
फरक-समानका भेदहरू खोजेर पनि होइन ।
जब विजयध्वज मेरो चन्द्र-सूर्य फरफराउँछ,
एक रेसा, एक तन्तु उध्रिएको
नसहौँला ।
कसैलाई नछुटाई
काँधमा काँध मिलाई
हरेक लडेकालाई उठाई
मेरो राष्ट्र उठाउँला ।
एकताको पथमा जुटौँला ।
मेरो पुर्खाको रगत र पसिनाले सिँचिँदै गर्दा
टप्-टप् यो माटो बोलेको आवाज
मेरो कानमा गुन्जिरहँदा
लौकिक आवश्यकताहरू गौण छन् मलाई ।
मातृभक्तिको सुर-ताल,
स्वयं महाकाल ताण्डव गर्छन् जसरी,
मेरा रक्ततन्तुहरूमा दौडन्छन्।
भूत, भविष्य र वर्तमान
एकै बिन्दुमा समेटिँदा
तब मेरो नशा–नशाले भन्छ
आमा।
त्यसैले त यो
मेरो शिरमाथि छ,
यो भौतिक अवशेषभन्दा निकै पर
मेरो आत्माभित्र छ ।
मेरो माटोलाई शिरमा पहिरी
सफलताको शिखर चढौँला ।
प्रतिशोध र द्वेषका जालो पन्छ्याई
एकताको ध्वज ओढौँला ।
मेरो माटोलाई अब उर्वर तुल्याउन
एक म, एक अघि बढ्नुछ ।
तराई, हिमाल, पहाडको एक म ।
प्रतिक्रिया