✍ शेखर ढुंगेल
मैले त च्यातिदिएँ प्रमाणपत्रहरु
पढेका ती पुस्तकमा नेताको ढोका कुर्न निषेध थियो
पढेका ती पुस्तकमा योग्यको भाग खोस्नु पाप लेखिएको थियो
पढेका ती पुस्तकमा इमान्दार हुन सिकाइएको थियो
पढाउने ती गुरुहरु भ्रष्टाचार गर्नु नर्कमा पर्नु हो भन्नुहुन्थ्यो
पढेका ती अनगिन्ती पुस्तकमा
इमान्दारिता नै मानिसको गहना लेखिएको थियो
पढेका ती पुस्तकमा
अरुलाई ठगेर नखानु – पोल्छ एकदिन लेखिएको थियो
चाङका चाङ पुस्तकहरु अनि थानका थान प्रमाणपत्र हरु हेरेँ
कुनै प्रमाणपत्रमा
सफलताको लागि
नेताको तलुवा चाट्नुपर्छ लेखेको पाइनँ
प्रमाणपत्रसँगै मैले विवेक पनि बन्धक राख्नुपर्ने भए
सफलता पाउन घुष लिने-दिने गर्नुपर्ने भए
किन चाहियो यो यी ज्ञान र विवेक बिनाका प्रमाणपत्र हरु
ती पुस्तक ती गुरु सबै झुठा रहेछन्
त्यसैले म जहाँ छु त्यहाँ यी प्रमाणपत्र हरुको सम्मान छैन
जहाँ बौद्धिक दासत्व स्विकार्नेको भन्दा ज्ञानको मूल्य छैन
सबै प्रमाणपत्र धुजा धुजा पारेर च्यातिदिएँ
जुन प्रमनापत्रको ज्ञान जीवनमा कहिल्यै काम आएन
विवेक नै बन्धक राख्नु परेपछि
आर्जित ज्ञान काम नआएपछि
मैले बिहान ४ बजे उठेर कलेज धाएको प्रमाणपत्र
मैले चप्पल घिसार्दै स्कुल पुगेर आर्जन गरेको ज्ञान
भ्रष्ट नेता प्रशासकको पाउमा चढाउनुपर्ने भए
मैले आर्जन गरेको विवेक
कुशसकको कित्तामा धितो राख्नुपर्ने भए
लाजै पचाएर यी प्रमाणपत्रहरु किन च्याप्नु ?
त्यसैले आज सबै ती प्रमाणपत्र च्यातिदिएँ
अब मलाई छुट छ लुट्न
अब मलाइ छुट छ तलुवा चाट्न
अब मलाइ छुट छ नेताको ढोका चोटा कुर्न
अब मलाई छुट छ लज्जाहीन बन्न
अब मलाई छुट छ भ्रष्टाचार गर्न
अब मलाई छुट छ बिचौलिया बन्न
त्यसैले आज च्यातिदिएँ ती सबै प्रमाणपत्र
प्रतिक्रिया