मुहारमा हेरफेर होइन, संस्कारको पुनर्जागरण अपरिहार्य !

मुहारमा हेरफेर होइन, संस्कारको पुनर्जागरण अपरिहार्य !


नेपाली राजनीति र नागरिकको भविष्य आज एक जटिल मोडमा दिग्भ्रमित छ । हालसम्म त राजनीति केवल सत्ताप्राप्तिका खातिर दलहरूको किचलोमा सीमित रहँदै आयो । खासमा आम नागरिकको जीवनस्तरमा तात्विक परिवर्तन नआउँदा समाजमा व्याप्त निराशा आज ‘आक्रोश’मा बदलिएको छ । यही आक्रोशको जगमा ‘नयाँ राजनीति’को उदय भएको छ । तर, वर्तमान परिवेशले एउटा गम्भीर प्रश्न खडा गरेको छ- के हामीले खोजेको परिवर्तन केवल मुहारको हेरफेर हो कि राजनीतिक संस्कारको शुद्धीकरण पनि ?

नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा रवि लामिछाने र बालेन शाह जस्ता पात्रहरूको उदय आकस्मिक होइन । यी त दशकौंदेखिको कुशासन, नीतिगत भ्रष्टाचार र अवसरको अभावले थिचिएका जनताको सामूहिक ‘चित्कार’ प्रखर रुपमा मुखर गर्ने जन-आशाका विम्ब हुन् । किनभने, उनीहरूले उठाएका मुद्दाहरू र बोलेका शब्दहरूमा आम मानिसले आफ्नै पीडाको प्रतिध्वनि सुनेका छन्, त्यसैले उनीहरूको लोकप्रियता चुलिएको पनि हो । यद्यपि लोकप्रियताको कसी साँचो र इमानी नेतृत्व हो, जसले समाजको आक्रोशलाई रचनात्मक समाधानमा बदल्न सकोस् ।

विडम्बना…! नेपालको राजनीतिमा खाइखेली गर्दै आएका दलहरू ‘विचारको मन्थन’ गर्दै जनताको गन्थनको स्थायी समाधान खोज्नुको साटो ‘प्रदर्शनको प्रतिस्पर्धा’मा मस्तराम देखिएका छन् ! पुराना दलहरूले टायर बालेर र सडकका रेलिङ भाँचेर आफ्नो उपस्थिति देखाउँथे भने नयाँ भनिएकाहरूले सामाजिक सञ्जालमा ‘आगो’ बालेर जनमत तताइरहेका छन् । आजको आवश्यकता भनेको परम्परागत राजनीति होइन, दिगो समाधानमा आधारित नीति-पद्धति हो । नेपाललाई आज दीर्घकालीन सोच र संयमित नेतृत्व चाहिएको छ । किन पनि भने, नेपाली राजनीतिको वर्तमान तस्वीर कुनै सामान्य सत्ता हेरफेरको कथा मात्र नभएर दशकौंदेखि गुम्सिएको जनाक्रोश र भविष्यको अनिश्चितता बीचको एउटा संवेदनशील र जटिल मोड हो ।

पुराना मुहार र तिनका असान्दर्भिक एवम् म्याद गुज्रेको कार्यशैलीबाट आजित नागरिकले विकल्प खोज्नु अत्यन्त स्वाभाविक छ । तर, विकल्पको खोजी गर्दा त्यसले समाजलाई कुन दिशा तर्फ डोऱ्याउँदैछ भन्ने पक्ष निर्णायक हुन्छ । नेतृत्व तहबाटै संयम र मर्यादा कायम हुनुपर्ने हो, न कि अराजकतालाई प्रोत्साहन । राजनीतिमा ‘नयाँ’ हुनुको अर्थ उमेर वा मुहारको परिवर्तन मात्र हुन सक्दैन, सोच र संस्कारमा चाहिं रूपान्तरण हुनु पर्छ र जनअपेक्षा पनि त्यही नै हो । पद्धति सुधारका लागि संघर्ष गरिरहेका नेतृत्वले अब केवल आवेगलाई मात्र शक्ति मान्नु आत्मघाती हुन्छ, संयमतापूर्वक समस्या समाधानमा केन्द्रित हुन जरुरी छ ।

नेपाललाई आज चर्को स्वरको होइन, स्पष्ट र जिम्मेवार सोचको खाँचो छ । यदि अब पनि लोकप्रियतालाई नै सफलता र उत्तेजनालाई नै राजनीतिक सामर्थ्य मानिरहेको खण्डमा त्यो नयाँ राजनीति नभएर पुरानै प्रवृत्तिको नयाँ आवरण मात्र हुने छ । अबको समय आवाज ठूलो हुनेको होइन, दृष्टिकोण प्रष्ट हुने र तद्नुरुप निशर्त काम देखाउने अनि जनताप्रति जिम्मेवार/जवाफदेही हुने हो । नागरिकले पात्र होइन, प्रवृत्ति फेरिएको हेर्न चाहेका हुन् । त्यसैले राज्य सञ्चालनको गुरुत्तर जिम्मेवारी सम्हाल्न आवेग र विवेकबीचको भिन्नता छुट्याउनै पर्छ – राजनीतिमा आएका ‘नयाँ’ र ‘आशलाग्दा’ पात्रहरूले ।