माघे संक्रान्तिमा खाइने चाकू, घ्यू, तिल र तरुल केवल स्वादका लागि होइनन् । यी यो ऋतुका लागि अचुक औषधि हुन् । जब यी परिकार कुलपितृ र इष्टदेवलाई अर्पण गरिन्छ, तब ती ‘भोग’ बाट ‘प्रसाद’मा रूपान्तरित हुन्छन् । यसले हाम्रो आत्मिक र शारीरिक शुद्धि सुनिश्चित गर्दछ ।
✍ रामचन्द्र ढकाल

’अयन’ को शाब्दिक अर्थ मार्ग वा गति हो । खगोलशास्त्रको दृष्टिमा सूर्यले दक्षिण दिशाबाट उत्तरतर्फ आफ्नो मार्ग परिवर्तन गर्ने प्रक्रियालाई उत्तरायण भनिन्छ भने उत्तरबाट दक्षिणतर्फ लाग्ने प्रक्रियालाई दक्षिणायन भनिन्छ । भौतिक रूपमा पुसको पहिलो साता (डिसेम्बर २१-२२) देखि नै सूर्य पृथ्वीबाट उत्तरतर्फको यात्रामा प्रस्थान गरिसकेको देखिन्छ । यद्यपि, हामी माघ १ गते मात्र उत्तरायण र मकर संक्रान्ति मनाउँछौं । यो विरोधाभास बुझ्न हाम्रो प्राचीन गणना पद्धतिको गहिराइमा पुग्नु आवश्यक छ ।
वैदिक ज्योतिषमा समय गणनाका सायन पद्धति र निरयण पद्धतिको दुई प्रमुख आधारहरू छन् । सायन पद्धति प्रत्यक्ष देखिने खगोलीय घटना जस्तै सूर्योदय, सूर्यास्त र ग्रहणमा आधारित छ । यसले ऋतु परिवर्तनको तात्कालिक समयलाई जनाउँछ ।
निरयण पद्धति स्थिर नक्षत्रमा आधारित पद्धति हो । संक्रान्ति, तिथि, व्रत र आध्यात्मिक अनुष्ठानका लागि यसको प्रयोग गरिन्छ ।
आर्यभट, वराहमिहिर, भास्कराचार्य, कमलाकार, नयराज ,जस्ता हाम्रा पूर्वज मनीषीहरूले दृश्य फलका लागि सायन र अदृष्ट फलका लागि निरयण पद्धति अपनाउनु पर्छ भनेर स्पष्ट पारेका छन् । मकर संक्रान्ति र उत्तरायण अदृष्टफलसँग सम्बन्धित पर्व भएकाले स्थिर नक्षत्रमा आधारित निरयण पद्धतिअनुसार मनाउनु नै वैज्ञानिक र तार्किक छ ।
ऋतु परिवर्तनको यो सन्धिबेलामा चिसोका कारण शरीर संकुचित हुन्छ। वैदिक आयुर्वेदले यस समयमा मधुर र स्निग्ध रसको सेवन अनिवार्य मानेको छ । माघे संक्रान्तिमा खाइने चाकू, घ्यू, तिल र तरुल केवल स्वादका लागि होइनन् । यी यो ऋतुका लागि अचुक औषधि हुन् । जब यी परिकार कुलपितृ र इष्टदेवलाई अर्पण गरिन्छ, तब ती ‘भोग’ बाट ‘प्रसाद’मा रूपान्तरित हुन्छन् । यसले हाम्रो आत्मिक र शारीरिक शुद्धि सुनिश्चित गर्दछ ।
पर्वमा देखिने विभिन्न स्थानीय अभ्यासहरू जस्तै- गिर खेल्ने, गोरु जुधाउने, नदी-धारामा स्नान गर्ने र भजन-कीर्तन गर्ने परम्पराहरू केवल रमाइलोका लागि मात्र होइनन् । यी अभ्यासहरू प्रकृति, समाज र आत्माबीच सन्तुलन स्थापित गर्ने सूक्ष्म माध्यम हुन् । यसले एकातिर शारीरिक स्फूर्ति बढाउँछ भने अर्कोतिर सामाजिक सद्भाव र सामुदायिक एकतालाई बलियो बनाउँछ ।
आजको तनावपूर्ण र यान्त्रिक विश्वमा यस्ता पर्वहरू मानसिक विश्रामका उत्कृष्ट साधन हुन् । दैनिक जीवनको असफलता र थकानबीच यी उत्सवहरूले मनलाई पुनर्जीवन प्रदान गर्छन् । यसले मानिसलाई यन्त्रबाट मानव बन्न र आफ्ना जराहरूसँग जोडिन मद्दत पुर्याउँछ ।
आजको समाजमा परम्परा र विज्ञानलाई हेर्ने दृष्टिकोणमा केही विचलनहरू देखिन्छन्। विशेष गरी पछिल्लो समयमा ६ प्रकारका प्रवृत्तिहरू चर्चामा छन् ।
१. नक्षत्रात्मक अयनको ज्ञान नभएकाहरू ।
२. परम्परालाई योजनावद्ध रूपमा नजरअन्दाज गर्न खोज्नेहरू ।
३. बिना अध्ययन पश्चिमा वा अन्य आयातित तर्कमा गर्व गर्नेहरू ।
४. पञ्चाङ्गका सूक्ष्म पद्धति (सायन र निरयण) नबुझ्नेहरू ।
५. समय र सन्दर्भको बोध नभएकाहरू ।
६. पूर्खाहरूको ज्ञानलाई गाली गरेर मात्र प्रसिद्ध हुन चाहनेहरू ।
अत: अयन केवल आकाशको भौतिक प्रकाश मात्र होइन, यो आत्माको अनुभूत ज्ञानको सेतु पनि हो । भगवद्गीतामार्फत भगवान् श्रीकृष्ण भन्नुहुन्छ, ‘ज्ञानीले अज्ञानीलाई भ्रमित तुल्याउनु हुँदैन, बरु स्वयं सही मार्गमा रहेर अरूलाई कर्ममार्गमा प्रेरित गर्नुपर्छ ।’
उत्तरायण र मकर संक्रान्ति केवल तिथिहरू होइनन् । यी हाम्रा समयबोध र चेतनाका शाश्वत हस्ताक्षर हुन् । यसलाई विवेकपूर्वक बुझ्नु, जोगाउनु र आगामी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हुन आउँछन् ।
प्रतिक्रिया