कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो

कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो


पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार (८ माघ) बताएका छन् ।

कराचीको दक्षिणी जिल्लाका उपायुक्त जावेद नबी खोसोले भनेका छन्, ‘शनिबार राति आगलागी भएपछि हालसम्म कुल ५५ जनाको शव उद्धार गरिएको छ ।’ उनका अनुसार उद्धार कार्य अझै जारी छ र भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको छ ।

तीन तले गुल प्लाजामा भएको उक्त आगलागीपछि अझै केही व्यक्ति बेपत्ता रहेको आशङ्कामा आफन्तहरूले उद्धार कार्य ढिलो भएको भन्दै आलोचना गरेका छन् । घटनास्थलमा उद्धारकर्ताहरूले निरन्तर खोजी गरिरहे पनि धेरै परिवार अझै आफ्ना प्रियजनको अवस्थाबारे अनिश्चिततामा रहेका छन् ।

५० भन्दा बढी परिवारले डिएनए नमूना उपलब्ध गराइसकेको जानकारी दिँदै प्रान्तीय स्वास्थ्य अधिकारी डा. सुमैया सैयदले सिभिल अस्पताल कराचीको शवगृह बाहिर भने, ‘डिएनए नमूनाहरू मिलान भएपछि मात्र हामी शव वा अवशेष सम्बन्धित परिवारलाई सम्मानपूर्वक हस्तान्तरण गर्नेछौँ ।’

कराचीका बजार र कारखानाहरूमा कमजोर पूर्वाधारका कारण आगलागीका घटना बेला–बेला हुने गरेको पाइन्छ । तर अधिकारीहरूका अनुसार यसपटकको आगलागीको परिमाण र मानवीय क्षति असाधारण र दुर्लभ रहेको छ ।

यस घटनाबारे छानबिन गर्न सरकारी समितिले अनुसन्धान सुरु गरिसकेको छ । तर आगलागी कसरी र किन भयो भन्ने विषयमा हालसम्म स्पष्ट कारण पत्ता लाग्न सकेको छैन ।