चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज हुँदै रु ९० अर्ब ६ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको ६ महिनामा भने रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो ।
भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा रु ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा रु १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी सोही अवधिमा रु २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा रु १३ अर्ब ८२ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै रु १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा रु दुई अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।
प्रतिक्रिया