चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न केपी ओलीको माग

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न केपी ओलीको माग


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गरेका छन् ।

एमालेको ओखलढुङ्गा-काठमाडौं सम्पर्क मञ्चले शनिबार (१७ माघ) काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले जिल्लाको विकास गर्ने र जनताको समस्या बुझ्ने युवा नेत्री अस्मिता थापालाई उम्मेदवार बनाएकाले मतदातासँग उनलाई मत दिन आग्रह गर्नुभयो ।

उम्मेदवार थापाले ओखलढुङ्गाका जनताले दिएको मत गलत कार्यमा प्रयोग नगर्ने भन्दै सकारात्मक काम गरेर असल छोरी र असल जनप्रतिनिधिका रूपमा प्रमाणित गर्ने दाबी गरिन् । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ओखलढुङ्गा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवार पाउँदा ओखलढुङ्गामा ठूलो उत्साह आएको धारणा राखेका थिए ।