बूढीगण्डकी निर्माणको माग गर्दै धादिङ महोत्सवमा हस्ताक्षर अभियान

बूढीगण्डकी निर्माणको माग गर्दै धादिङ महोत्सवमा हस्ताक्षर अभियान


  • विकाश रौनियार, धादिङ

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा भइरहेको निरन्तर ढिलाइको विरोधमा धादिङ महोत्सवस्थलमै हस्ताक्षर अभियान सुरु गरिएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको दशौँ धादिङ महोत्सव-२०८२ मा छुट्टै स्टल राखी सरकारलाई तत्काल निर्णय गर्न दबाब दिने उद्देश्यले अभियान थालिएको हो ।

अभियानको सुरुवात गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर सम्भाव्यता अध्ययन र मुआब्जा वितरणजस्ता महत्वपूर्ण काम सम्पन्न भइसके पनि आयोजना कागजमै सीमित रहनु गम्भीर लापरबाही भएको बताए ।

करिब ३ खर्ब ३१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको १२०० मेगावाट क्षमताको बूढीगण्डकी आयोजना ऊर्जा सुरक्षाका लागि अत्यन्तै आवश्यक भए पनि राजनीतिक अन्योल र निर्णयहीनताका कारण वर्षौदेखि अलपत्र परेको छ ।

स्थानीय उद्योगी, व्यवसायी र सरोकारवालाहरूले आयोजना ढिलाइले ऊर्जा आत्मनिर्भरता, रोजगारी र आर्थिक विकासमा नकारात्मक असर परेको बताएका छन् । हस्ताक्षर अभियानमार्फत जनस्तरबाट सरकारमाथि दबाब सिर्जना गर्ने उनीहरूको लक्ष्य छ ।

अहिलेसम्म आयोजनाका लागि प्रभावित क्षेत्रमा ४५ अर्ब रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरिसकिएको छ । साइड अफिस उद्घाटन भइसके पनि निर्माण कार्य अघि नबढेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बूढीगण्डकी आयोजना धादिङ-गोरखामात्र नभइ सिंगो देशको विकाससँग जोडिएको बहुउद्देश्यीय परियोजना भएको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीका अनुसार अभियान सुरु भएको पहिलो दिनमै एक हजारभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । अभियान माघ २५ गतेसम्म सञ्चालन हुने र संकलित हस्ताक्षर नेपाल सरकारलाई बुझाइने महासचिव तिलक सिंखडाले जानकारी दिए ।