नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त


नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् । उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी थिइन् ।

डंगोल २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् र प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवम् वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पुरा गरिसकेकी छन् । उनी हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले ग्राहकको चाहना र सरकारको प्राथमिकताबमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताइन् ।