चिनियाँ विकास मोडेलबाट नेपालले लाभ लिनुपर्ने

चिनियाँ विकास मोडेलबाट नेपालले लाभ लिनुपर्ने


चीनको तीव्र आर्थिक विकास, खुला नीति तथा दीर्घकालीन योजनाबाट नेपालले लिनसक्ने अवसरबारे शुक्रबार (२३ माघ) काठमाडौंमा छलफल कार्यक्रम सम्पन्न भएको छ । ‘चीनको खुलापन र नेपालका लागि अवसरहरू : चीनको १५औँ पञ्चवर्षीय योजनाको व्याख्या’ विषयक उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वक्ताहरूले चीनको विकास दिनप्रतिदिन सुदृढ बन्दै गएको उल्लेख गर्दै नेपालले पनि चिनियाँ विकास मोडेल, नीतिनिर्माण प्रक्रिया, प्रविधि हस्तान्तरण र आर्थिक रणनीतिबाट सिक्दै आफ्ना विकासका लक्ष्य हासिल गर्न सक्ने बताए । विशेषगरी आगामी १५औँ पञ्चवर्षीय योजनामार्फत चीनले दिगो विकास, नवप्रवर्तन, हरित अर्थतन्त्र, डिजिटल प्रविधि र क्षेत्रीय सहकार्यलाई प्राथमिकतामा राखेको सन्दर्भमा नेपालका लागि नयाँ सम्भावना खुल्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. रघु काफ्ले र नेपाल नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ रिसर्च कन्सल्टेन्ट डा. मुक्ति रिजालले मुख्य वक्ताका रूपमा आफ्ना धारणा राखे । डा. काफ्लेले चीनको दीर्घकालीन योजना प्रणाली, कार्यान्वयन क्षमता र नतिजामुखी दृष्टिकोणबाट नेपालले धेरै कुरा सिक्न सक्ने उल्लेख गरे । उनले नेपालमा पनि योजनालाई कागजमा सीमित नराखी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।

यसैगरी डा. रिजालले चीनको आर्थिक रूपान्तरणको अनुभवलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारे । उनले पूर्वाधार विकास, औद्योगिकीकरण, निर्यात प्रवर्द्धन, मानव संशाधन विकास र डिजिटल अर्थतन्त्रमा चीनसँग सहकार्य विस्तार गर्न सके नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा चिनियाँ विकास मोडेलका अनुसन्धानकर्ता रोयल आचार्यले चीनमा हाल भइरहेका विकास गतिविधि, नीतिगत सुधार तथा १५औँ पञ्चवर्षीय योजनाका मुख्य विशेषता समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । चीनले कसरी दीर्घकालीन सोच, प्रविधिमा लगानी, नवप्रवर्तन र खुला अर्थनीतिमार्फत आफ्नो अर्थतन्त्रलाई सुदृढ बनाउँदै गएको छ भन्नेबारे पनि उनले व्याख्या गरे ।