‘दलाई लामाको पुनर्जन्म भारतबाहेक अन्यत्र हुन सक्दैन’ : ङवाङ गदेन (तिब्बती शरणार्थी नेता)

‘दलाई लामाको पुनर्जन्म भारतबाहेक अन्यत्र हुन सक्दैन’ : ङवाङ गदेन (तिब्बती शरणार्थी नेता)


नेपालमा संसदीय निर्वाचनको हुरी चल्दै गर्दा उता तिब्बती शरणार्थीहरू पनि आफ्नो (निर्वासित) सरकार प्रमुखको निर्वाचनमा जुटेका छन् । भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालालाई आफ्नो राजधानी मान्ने भारत र नेपालका तिब्बती शरणार्थीहरूको सरकारप्रमुख बन्न यसपटक चार जना उम्मेदवार खडा भएका छन् । चारमध्य करिव दुई दशकअघि चीनबाट भागेर नेपाल हुँदै भारत पुगेका ङवाङ गदेन अतिवादी सोच राख्दैनन्, उनी मध्यमार्गी शरणार्थी नेताका रूपमा चिनिन्छन् । ङवाङ चीनको अखण्डता र सार्वभौमिक सर्वोच्चताका पक्षमा छन् । यिनै नवाङसङ्ग घटना र विचारका लागि लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

■ तपाईं आफूलाई कसरी चिनाउन चाहनुहुन्छ र तपाईंलाई चीन छोडेर बाहिरिनुपर्ने अवस्था कसरी आयो ?
– म रिम्पोछे (लिभिङ बुद्ध) हुँ । मलाई चीन सरकार र दलाई लामा दुवैले मान्यता दिएका छन् । मैले बेइजिङ्गको मिन्छु विश्वविद्यालय र तिब्बतीभाषी उच्च तहको बौद्ध एकेडमीमा अध्ययन गरेको हुँ । मेरो अध्ययनको विषय धार्मिक दर्शन हो । मेरो मान्यताप्रति चीन सरकारको आपत्ति रह्यो र सन् २००७ को डिसेम्बर २९ मा मलाई काराबासको सजाय भयो, युनानको जेलमा मैले डेढ वर्ष बिताउनु पऱ्यो । सन् २००९ को डिसेम्बरमा म कुनै तरिकाले भागेर नेपाल हुँदै भारत आइपुगे । यहाँ आएपछि यहीँ बसिरहेछु ।

■ चीन-तिब्बतदेखि भारतसम्मको यात्राका बारेमा तपाईं थप केही बताउन सक्नुहुन्छ कि ? तिब्बतको मुद्दा उठाउन तपाईंले किन दलाई लामालाई नै आत्मसात गर्नुभयो ?
– सन् २०१० को जनवरी १० मा म भारत आइपुगेको थिएँ, यहाँ आएपछि दलाई लामासङ्ग मैले भेट गरेँ । त्यसबेला उहाँले मलाई भन्नुभयो- ‘मैले सन् १९७४ देखि नै तिब्बत स्वतन्त्रताको मुद्दा छोडेको हुँ । त्यसयता मैले तिब्बतको संस्कृति, धर्म, भाषा र वातावरण संरक्षणको मुद्दा मात्र उठाउँदै आएको छु । चीन सरकारको साथ पाउन पनि हामीले मध्यमार्गी सोच राख्नुपर्छ ।’ दलाई लामाको यस्तो विचार बुझेपछि उहाँलाई पछ्याउँदै मैले मध्येमार्गी विचारको वकालत र प्रवर्द्धन गर्दै आएको छु । दलाई लामाको भनाइले तिब्बत अलग्गै राज्य नभएको स्पष्ट गर्दछ । उहाँको विचारअनुरुप काम गर्नु उचित र उपयुक्त हुने मेरो विश्वास छ ।

■ तिब्बत मामिलामा तपाईंको आफ्नै मौलिक विचारचाहिँ छैन ? तपाईंले अपनाउनुभएको विचारले सरकारप्रमुख बन्ने तपाईंको योजनामा कस्तो असर/प्रभाव पार्ला ?
– मैले भनिहालेँ मेरो राजनीतिक विचार मध्यमार्गी हो । म एक देश दुई प्रणालीको पक्षमा वकालत गर्छु, तर त्यो चीन सरकारकै नीति र ब्यवस्थाअन्तर्गत हुनुपर्छ । स्वतन्त्र तिब्बतको अवधारणाप्रति म असहमति जनाउँछु । यसो भनिरहँदा तिब्बतभन्दा बाहिर जन्मिएका तिब्बतीहरूले मलाई मन नपराउन सक्छन् । अमेरिका र अन्य पश्चिमी मुलुकबाट तिब्बत मामिलामा भइरहेको हस्तक्षेपको म विरोध गर्ने गर्छु । मेरो मतमा असहमति राख्ने जो-कोहीबाट म सम्भावित सरकारप्रमुखका रूपमा नरुचाइन सक्छु ।

■ यदि निर्वासित सरकारप्रमुख बन्न सक्नुभयो भने कस्तो उपलब्धि हाशील गर्न सक्नुहोला ?
– मैले आफूलाई सरकार प्रमुखको प्रत्यासी बनाउनुको मूल कारण दलाई लामा र चीन सरकारका वीचमा समन्वय गराउन हो । दलाई लामालाई तिब्बत भ्रमण गराउने मेरो इच्छा छ ।

■ सरकारप्रमुख चयन भएको घोषणाचाहिँ कसरी हुनेछ ?
– निर्वासित सरकारको निर्वाचन आयोगबाट सरकारप्रमुखको घोषणा हुनेछ ।

■ तिब्बत स्वतन्त्रताको माग गर्दै आत्मदाहसम्म गरिने घटना सन्दर्भलाई तपाईंले कसरी लिनुभएको छ ?
– विखण्डनकारी सोचबाट प्रेरित भएर कतिपय मानिस चीनको विरोध गर्दै आत्मदाहसम्म गर्न तयार हुनुका पछाडि खास कारण छ । निर्वासित सरकार र विखण्डनकारीहरूले तिब्बतमा रहेका तिब्बतीहरूलाई चीन सरकारविरुद्ध आत्मदाह गर्न उक्साउने गर्दछन् । त्यसरी आत्मदाहका घटना गराएमा अमेरिका र अन्य पश्चिमा मुलुकहरूबाट आर्थिक सहयोग प्राप्त गर्न सकिन्छ भनेर विखण्डनकारीहरूले सोझा जनतालाई दिग्भ्रमित गर्ने गरेका छन् ।

■ निर्वासित सरकारले विश्वका कुन-कुन मुलुकबाट कसरी आर्थिक सहयोग प्राप्त गरिरहेको छ ?

– अमेरिकी सरकारले निर्वासित तिब्बती सरकारलाई उपलब्ध गराउँदै आएको सहयोगमा हालै भारी कटौती गरेको छ । अन्य पश्चिमी मुलुकबाट चाहिँ त्यति ठूलो सहयोग पहिलेदेखि नै भइरहेको थिएन । चीन सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो हुँदै गएको, खासगरी आर्थिक अनि अन्य सम्बन्धको प्रभाव बढेकोले पनि निर्वासित सरकारले प्राप्त गर्ने अनुदानमा ठूलो असर गरेको छ । सबैलाई थाहा भएको कुरा के हो भने चीनको अमेरिकालगायत अन्य पश्चिमा मुलुकसङ्गको सम्बन्धमा निकै सुधार आएको छ ।

■ चीन सरकारसङ्ग दलाई लामाको सम्पर्क र सम्वाद हुने गरेको छ कि छैन ?
– दलाई लामाले आफूमा रहेको अधिकार सन् २०११ देखि निर्वासित सरकारलाई हस्तान्तरण गर्नुभएयता उहाँको चीन सरकारसङ्ग कुनै पनि सम्पर्क र सम्बन्ध छैन । सम्पर्क गरिरहनुपर्ने आवश्यकता नठानिएको हुनसक्छ ।

■ तपाईंले भारतमा आफू सूरक्षित रहेको महसूस गरिरहनुभएको छ कि छैन ?
– सन् २०२२ को नोभेम्बरदेखि मैले निर्वासित सरकार, एनजिओ र तिब्बतियन विखण्डनकारीहरूबाट लगातार धम्की पाइरहेको छु । भारतको सुरक्षा निकायले मेरो सूरक्षामा पर्याप्त चासो दर्शाएको छ । त्यसैले मैले सूरक्षित महसूस गरिरहेको छु ।

■ तपाईं निर्वासित सरकारको भविष्य कस्तो देख्नुहुन्छ ?
– निर्वासित सरकारले भारत र नेपालमा तिब्बती मुद्दालाई लिएर राजनीतिक गतिविधि गर्ने स्थिति छैन । चीनको छिमेकी भएकोले पनि भारत र नेपाल आफ्नो राष्ट्रिय सुरक्षा नीतिका कारण निर्वासित सरकारलाई प्रोत्साहित गर्ने प्रकारका गतिविधि गर्न सक्दैन । दलाई लामाको स्वर्गबास भएपछि निर्वासित सरकार या त बन्द होला या भङ्ग होला जस्तो मलाई लाग्छ ।

■ निर्वासित सरकारको निरन्तरताका निम्ति भारतबाट कुनै सहयोग हुने नगरेको भन्न खोज्नुभएको हो ?
– अठसठ्ठी वर्षअगाडि धर्मशालामा निर्वासित सरकार स्थापित भएको हो । भारत सरकारले निर्वासित सरकारका राजनीतिक मुद्दाहरूलाई सार्वजनिक रूपमा कहिल्यै साथ-सहयोग पुऱ्याएको छैन । दलाई लामाको स्वर्गवास भएपछि भारत सरकारले निर्वासित सरकारको निरन्तरतामा पनि साथ देला जस्तो मलाई लाग्दैन ।

■ त्यसोभए दलाई लामाको निधन भएपछि कस्तो अवस्था आउला ?
– दलाई लामाको निधनपश्चात् निर्वासित सरकार भङ्ग होला जस्तो मलाई लाग्छ । दलाई लामाको पुनर्जन्मका बारेमा चीन सरकार र भारत सरकारका आ-आफ्नै मजबूत धारणा हुन सक्छन् ।

■ दलाई लामाको पुनर्जन्मका बारेमा तपाईंको ब्यक्तिगत धारणाचाहिँ के छ ?
– दलाई लामाको पुनर्जन्म भारतबाहेक कुनै देशमा हुन सक्दैन भन्ने मलाई लाग्छ ।

■ तपाईंको भावी योजना के छ र भारत बसाइको तपाईंको अनुभव कस्तो छ ?
– म यो साल साठी वर्षको भएँ । यदि मेरो स्वास्थ्यले साथ दिएमा म गरीब र दुःखी तिब्बती जनताको सेवामा लागिरहने छु । मेरो भारत बसाइ राम्रो छ, म यहीँ रमाइरहेको छु । यहीँ बसेर मैले अमेरिका र अन्य पश्चिमा मुलुकबाट सिक्न पनि पाइरहेको छु ।

■ जो मानिस तिब्बतमा रहिरहेका छन्, उनीहरूप्रति तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
– म आशा गर्दछु- तिब्बतबासीहरूको जीवन समृद्ध बनोस्, उनीहरूको संस्कृति, धर्म, भाषा, मान्यता र मानवाधिकार सुनिश्चित होस् !

✦ ✦ ✦

Read in English