नयाँ विकल्प’को मोह र पुरानो सत्ताको निरन्तरता

नयाँ विकल्प’को मोह र पुरानो सत्ताको निरन्तरता


नेपालको राजनीति आज गहिरो विश्वास संकटको चरणमा प्रवेश गरिसकेको छ । गणतन्त्र स्थापना भएको डेढ दशक बितिसक्दा पनि जनताले अपेक्षा गरेको सुशासन, समृद्धि र सामाजिक न्याय अनुभूति गर्न सकेका छैनन् । यही कारण, पछिल्ला वर्षहरूमा जनतामा गणतन्त्रप्रति नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । यो असन्तोष कुनै एक दल वा समूहमा सीमित छैन; यो राज्य सञ्चालनको समग्र शैलीप्रतिको अस्वीकृति हो ।

माओवादी आन्दोलन, जसले कहिल्यै नदेखिएको परिवर्तनको सपना देखाएको थियो, आज आएर आफ्नै राजनीतिक औचित्यमाथि प्रश्न खेपिरहेको छ । सशस्त्र संघर्षबाट सत्ता राजनीतिमा प्रवेश गरेको यो शक्ति क्रमशः सत्ता-सम्झौता र गठबन्धनको खेलमा यति अल्झियो कि उसले आफूलाई अलग पहिचान दिने आधार नै गुमाउँदै गएको छ। जनयुद्धका एजेन्डा भाषणमा सीमित हुँदा र व्यवहारमा पुरानै शैली दोहोरिँदा, आधार वर्गमा भरोसा क्षय हुनु स्वाभाविक थियो ।

यसैबीच, दशकौँदेखि सत्ता वरिपरि घुमिरहेका पुराना राजनीतिक पात्रहरूप्रति जनतामा गहिरो वितृष्णा फैलिएको छ । चुनावी परिवर्तन भए पनि नेतृत्व नफेर्ने राजनीतिक संस्कृतिले लोकतन्त्रलाई औपचारिक प्रक्रियामा सीमित बनाइदिएको छ । यही वितृष्णा र मोहभंगको माहोलमा ‘नयाँ विकल्प’को राजनीतिक कथा अघि सारिएको हो ।

तर प्रश्न उठ्छ- यो नयाँ विकल्प कति नयाँ छ ? सार्वजनिक रूपमा पुराना शक्ति केन्द्रहरूसँग दूरी राखेजस्तो देखिए पनि व्यवहारमा पर्दापछाडि सहकार्यको अभ्यास सुरु हुनु चिन्ताजनक संकेत हो । नयाँ भाष्य, नयाँ अनुहार र नयाँ नाराको प्रयोग गरेर पुरानै सत्ता संरचनालाई निरन्तरता दिन खोजिँदैछ भने, त्यो परिवर्तन होइन, केवल आवरण मात्र हो ।

इतिहासले देखाएको छ- सत्ता संरचनाले जब वैधता गुमाउन थाल्छ, तब उसले आफूलाई बचाउन नयाँ कथानक सिर्जना गर्छ । आज ‘नयाँ विकल्प’को प्रचार पनि त्यही रणनीतिक अभ्यासको हिस्सा हो कि भन्ने आशंका बलियो बन्दै गएको छ । यदि यो विकल्प पनि अन्ततः पुरानै शक्ति केन्द्रको सुरक्षा कवच बन्न पुग्यो भने, यसले जनताको निराशालाई झनै गहिरो बनाउनेछ ।

गणतन्त्रको रक्षा केवल राजावादको विरोध गरेर हुँदैन । यसको रक्षा सुशासन, उत्तरदायित्व र पारदर्शिताबाट हुन्छ । नयाँ विकल्पको वास्तविक परीक्षा भनेको पुराना शक्ति सञ्जालसँगको गोप्य सहकार्य तोड्न सक्ने साहस र जनउत्तरदायी राजनीतिक अभ्यास स्थापना गर्न सक्ने क्षमतामा निहित छ ।

यदि त्यो साहस देखाउन सकिएन भने, ‘नयाँ विकल्प’ पनि इतिहासमा अर्को असफल राजनीतिक प्रयोगको रूपमा दर्ज हुनेछ- जहाँ परिवर्तनको नाममा केवल पुरानै सत्ता जोगाइयो ।