भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु


चितवनस्थित भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबार (६ फागुन)देखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो ।

लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए । हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको उनको भनाइ छ ।

हाल भरतपुर विमानस्थलबाट दैनिक आठवटा उडान हुँदै आएको बताउँदै उहाँले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका ६ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनले जानकारी दिए ।

यहाँबाट हाल दैनिक भरतपुर-काठमाडौं-भरतपुर र आंशिक रूपमा भरतपुर-पोखरा-भरतपुर उडान हुँदै आएको छ । बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए । अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या नहुने हुँदा काठमाडौंबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने उनको भनाइ छ ।