शेयर बजारमा चुनाव-परिणामले ल्याउला बहार ?

शेयर बजारमा चुनाव-परिणामले ल्याउला बहार ?


भदौ २३-२४ को जेनजी आन्दोलनले निम्त्याएको अकल्पनीय परिस्थितिमाझ आसन्न निर्वाचन ढोकैमा आइपुगेको छ । निर्वाचन हुनेमा आशङ्का ब्यक्त गर्नेहरू पनि ‘चुनाव अब त पक्का हुन्छ’ भन्ने मानसिकतामा पुग्दैछन् । यसै सन्दर्भमा पर्ख र हेरको अवस्थामा रहेको शेयर बजारले पनि निर्वाचन र त्यसको भावी परिणामलाई खास रुपमा नियालिरहेको छ । निर्वाचनको मिति संघारमै आउँदा र सम्पन्न हुनैलाग्दा शेयर बजारमा त्यसले कस्तो परिस्थीति ल्याउला ? शेयर बजारमा पनि वसन्तको बहार आउला त ? धेरैको आशा, अपेक्षा र विश्वास निर्वाचनले शेयर बजारमा बहार ल्याउँछ भन्ने नै छ ।

०७८ सालको राष्ट्रिय जनगणना अनुसार देशमा २ करोड ९१ लाख ६४ हजार ५८० जनसंख्या रहेको छ । १० दिनपछि हुन लागेको चुनावमा, निर्वाचन आयोगका अनुसार १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । आयोगमा सुचित मतदातामध्ये पनि कति विदेशमा छन्, सरकारसँग त्यो तथ्याङ्क छैन । तर भनिन्छ- विदेशमा कम्तिमा ८० लाख नेपाली रहेको अनौपचारिक तथ्याङ्क छ । भारतबाहेकका देशमा ४० लाख नेपाली रहेको परराष्ट्र मन्त्रालय सम्बद्ध स्रोतको भनाइ रहँदै आएको छ । यसरी करोड भन्दा बढी नेपालीले पक्कै यसपटक भोट हाल्दैछन् र त्यसले नेपालको इतिहासमा नयाँ दिनको सुरुवात गर्ने धेरैको अपेक्षा छ । यसले शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुरा नकार्न सकिन्न ।

राजनीति र शेयर बजार

गत वर्ष अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रुपमा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनरोदय भयो । दोहोऱ्याएर चुनाव नजिताउने १३०वर्षे अमेरिकी इतिहासलाई बे्रक्र गर्दै डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भए । जसले अमेरिकी शेयर बजारमा ठुलो उछाल ल्यायो ।

अमेरिकी मात्र होइन, युरोप र एसियाका कतिपय देशको शेयरबजारमा समेत ट्रम्पको उदयले सकारात्मक प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । त्यतिमात्र होइन, अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उदयसँगै डलर र विट क्वाइनले नयाँ रेकर्ड कायम गरेको थियो । सन् २०२४ जुलाईमा भएको भारतीय लोकसभा निर्वाचनको परिणामले नरेन्द्र दामोदर दास मोदी प्रधानमन्त्री हुने देखिएपछि त्यहाँको शेयर बजारले सगरमाथा जस्तो उचाइ भरेको थियो । बम्बई स्टक एक्चेन्ज ( बीएसई) सेन्सेक्सले अल टाइम हाई बनाएको थियो । त्यसैगरी नेशनल स्टक एक्सचेन्जको निफटी पनि रकेटको गतिमा उचाई भरेको थियो । लोकसभाको निर्वाचन परिणाम आएको दोश्रो दिन त्यहाँ सेन्सेक्स १६१८ अंकले वृद्धि भएर ७६,६९३ विन्दुमा बन्द भयो । त्यस्तै एसएसई निफ्टीले ४६८ अंकले बढेको थियो ।

नेपाली शेयर बजारले पनि आसन्न निर्वाचनबाट त्यही खालको परिवर्तन खोजेको छ । किनकि दलहरूको घोषणापत्रले नै शेयर बजारलाई अन्र्तराष्ट्रिय स्तरमा लैजाने कुरा छिपाएका छैनन् । फेरि शेयर बजारप्रति उदार दल नै निर्वाचनबाट उदाउने छनक देखिँदैछ । विगतको निर्वाचनहरूको परिणामले पनि नेपालमा जहिल्यै शेयर बजारमा उछाल ल्याएको थियो । किनकि नेपालीहरू निर्वाचनलाई जहिल्यै परिवर्तनको, आशाको र विकासको सुदिन भित्रने ढोकाको रूपमा लिन्छन् र आशावादी हुन्छ । वास्तवमा त्यो लोकतन्त्रको सुन्दर अभ्यास मानिने निर्वाचनबाट आउने परिणाले राम्रो दिन आउने सबैको विश्वास हुन्छ ।

खासगरी नेपालमा अधिकांश संसदीय निर्वाचनमा शेयर बजार बढेको इतिहास छ । ०५६ सालमा दुई चरणमा भएको निर्वाचनपछि शेयर बजार ११ प्रतिशतले बढेको थियो । २८ चैत्र २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा (निर्वाचनअघि र पछि) पनि शेयर बजार १० प्रतिशतले उकालो लागेको थियो । सो निर्वाचनबाट तत्कालिन माओवादी पार्टी पहिलो बनेको थियो । ४ मंसिर २०७० मा भएको दाश्रो संविधानसभा निर्वाचनअघि र पछि गरेर करिव एक महिना शेयर बजारले ४१ प्रतिशतको फराकिलो वृद्धिदर हासिल गरेको थियो । संविधान बनिसकेपछि ०७४ मा अर्को चुनाव भएको थियो । त्यतिबेला माओवादी र एमाले मिलेर गठबन्धन गरी चुनाव लडेका कारण निर्वाचनमा बामपन्थी प्रभाव बजारमा पऱ्यो । र, ९ प्रतिशतजसो बजार घटेको थियो । त्यसैगरी गत ०७९ मा मंसीरमा भएको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको थियो । निर्वाचनमा मिश्रित खालको नतिजा आउँदा पनि त्यतिखेर सामान्य खालको सुधार बजारमा देखिएको थियो । यसपटक भने दृश्यमा पुँजीवादलाई पश्रय दिने र ब्यवासायिक वातावरणलाई सर्वोपरि ठान्ने दलहरू बलिया मानिएका छन् । जसले बजारमा उछाल ल्याउने पर्खाइमा लगानीकर्ताहरू छन् ।

राजनीति र शेयर बजारको सम्बन्ध दर्शाउने नेपाल, भारतसहित अमेरिकी चुनाव र त्यसको परिणाम एउटा सशक्त उदाहरण हो । राजनीतिले जहिल्यै शेयर बजारलाई असर गर्ने सम्भावना हुन्छ । यो तथ्य शेयर बजारमा व्यावसायिक हिसाबले लाग्नेहरूलाई मात्र होइन, सामान्य लगानीकर्ताहरूलाई समेत थाहा भइसकेको छ । तर, राजनीतिक उतारचढावले शेयर बजारलाई कुन हदसम्म र कति समयसम्म असर गर्ने सम्भावना हुन्छ भन्ने कुरा बेग्लै हो ।

खासगरी राजनीतिक दलहरू विभिन्न सिद्धान्त बोकर अस्तित्वमा हुन्छन् । जस्तो कि कोही कम्युनिष्ट विचारधारा बोकेर अस्तित्वमा छन् त कोही उदार तथा प्रजातान्त्रिक विचार बोकेका हुन्छन् भने कतिपय दलहरू अलि-अलि उदार र अलअलि नियन्त्रित विचारधाराको पक्षपोषक हुन्छन् । त्यसकारण विभिन्न विचारधारा बोकेका राजनीतिक दलहरूले सतहमा गर्ने गतिविधि, राजनीतिक उतारचढाव, सत्ता फेरबदल तथा फेरबदल हुने खालका सङ्केत तथा गतिविधि, त्यस खालका समाचारहरूले शेयर बजारमा प्रभाव पार्दछ, जसले बजारलाई बढाउने तथा घटाउने गर्दछ ।

अलग-अलग विचारधारा बोकेका राजनीतिक दलहरू सरकारमा हाबी हुँदा उनीहरूले ल्याउने नियमन र कानुनहरूले कम्पनीहरूमा प्रभाव पार्छ । फलतः शेयर बजारमा असर गर्दछ । खासगरी राजनीतिका कारण आर्थिक र व्यापारिक वातावरणलाई प्रभाव पार्ने सबैजसो समाचारहरू शेयर बजारका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । यसले अप्रत्यक्ष रुपमा बजारमा प्रभाव राख्दछ ।

राजनीतिमा हुने अस्थिरताका कारण सरकारको आर्थिक नीति, मौद्रिक नीति, सार्वजनिक खर्च, करको दर, कानुनी व्यवस्थामा फेरबदल आउन सक्छन् । जसको कारण शेयर बजारमा उतारचढावको अवस्था सिर्जना हुन्छ ।

त्यसकारण पनि राजनीतिक अस्थिरता शेयर बजारका लागि घातक हुन्छ । तर पनि शेयर बजारका लागि राजनीतिक घटनाक्रमले बजारमा छोटो अवधिका लागि अस्थिरता निम्त्याउँछ । नयाँ आउने लगानीकर्ताहरूलाई हतोत्साही बनाउँछ । बजारप्रति नकारात्मक मनोवृत्ति सिर्जना गर्दछ । त्यसकारण शेयर बजारले अस्थिर राजनीतिबाट निकास खोजेको छ । बलियो र नीजि क्षेत्रमैत्री दल निर्वाचनबाट चुनिएर स्थायी प्रकृतिको सरकार बनोस् भन्ने बजारको चाहना छ । आशा छ आसन्न फागुन २१ को निर्वाचनले एउटा स्थायी सरकार बनाउने म्याडेट जनताले कुनै एक दललाई दिनेछ । जसले बजरामा हरियालीको बहार ल्याउनेछ ।