- विकाश रौनियार, धादिङ
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार (२८ फागुन) औपचारिक रूपमा बिदाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय खानीखोलाले आफ्नो मातहत तालिम लिएका नेपाल प्रहरीतर्फ २ हजार २५ जना र सशस्त्र प्रहरीतर्फ ७९ जना गरी कुल २ हजार १०४ जना निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानसहित बिदाइ गरेका हुन् ।
निर्वाचनका क्रममा देशभर खटाइएका निर्वाचन प्रहरीलाई एकै दिन बिदाइ गर्ने निर्देशनअनुसार धादिङमा पनि तालिम लिएका प्रहरीलाई औपचारिक रूपमा बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले निर्वाचन प्रहरीलाई टीका–अबिर लगाएर प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न निर्वाचन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा सहभागी निर्वाचन प्रहरीहरू आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरी घर फर्कन पाउँदा खुशी देखिएका थिए । उनीहरूले निर्वाचन अवधिभर खटिएर काम गर्दा महत्वपूर्ण अनुभव हासिल भएको र यसले आगामी दिनमा थप जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको बताए । कार्यक्रममा सहभागी प्रहरीहरूले प्रधानमन्त्री सुशीला कर्कीसम्म धन्यवाद व्यक्त गरेका थिए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार जिल्लामा भर्ना गरिएका सबै निर्वाचन प्रहरीलाई तालिम लिएको स्थानबाटै प्रमाणपत्र प्रदान गरी बिदाइ गरिएको हो । निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूले मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया