गुग्लिएलमो एरिना नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

गुग्लिएलमो एरिना नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त


अखिल नेपाल फुटबल सङ्घले इटालियन प्रशिक्षक गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले शुक्रबार (२९ फागुन) एरिनालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनी दुई साताअघि नै नेपाल आएका थिए ।

स्वीट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन् । एएफसी प्रो–लाइसेन्स प्रशिक्षक उनसँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ । उनले पछिल्लोपटक लाओसको सिनियर र युवा राष्ट्रिय फुटबल टोली सम्हालेका थिए ।

एरिनाको नेतृत्वमा पहिलोपटक नेपालले यही चैत १२ गते हङकङसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ । एरेनालाई एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

प्रशिक्षक एरिनाले नेपाली खेलाडीहरूमा क्षमता रहेको र राम्रा खेलाडीहरूको सङ्ख्या बढाउने उद्देश्य रहेको उल्लेख प्रतिक्रिया दिएका छन् ।