- विकाश रौनियार, धादिङ
समाजमा अझै पनि जातीय विभेदका घटना सुनिनु सामान्यजस्तै देखिन्छ । तर त्यही समाजमा कहिलेकाहीँ यस्ता सकारात्मक उदाहरणहरू पनि देखिन्छन्, जसले विभेदको सोचलाई चुनौती दिन्छन् र समानताको सन्देश दिन्छन् । धादिङको ज्वालामुखी गाउँपालिकामा सम्पन्न भएको एक अन्तरजातीय मागी विवाह पनि यस्तै प्रेरणादायी उदाहरण बनेको छ।
ज्वालामुखी गाउँपालिका–७ चैनपुरका कृष्ण रम्तेल र राधिका रम्तेलकी छोरी मञ्जु रम्तेल (दलित समुदाय) र ज्वालामुखी गाउँपालिका–६ का बेदबहादुर राना र भक्तकुमारी राना मगरका छोरा संगम राना मगरबीच सहमतिमा अन्तरजातीय मागी विवाह भव्य रूपमा सम्पन्न भएको हो ।
परम्परागत सोचले अझै पनि कतिपय स्थानमा अन्तरजातीय विवाहलाई सहज रूपमा स्वीकार नगर्ने अवस्था रहेको बेला ज्वालामुखीमा सम्पन्न यो विवाहलाई धेरैले सामाजिक परिवर्तनको सकारात्मक संकेतका रूपमा लिएका छन् । परिवार र समुदायको सहमतिमा सम्पन्न भएको यो विवाहले समाजमा विद्यमान विभेदकारी सोचलाई कमजोर बनाउने विश्वास गरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरूले पनि यसलाई स्वागतयोग्य कदमका रूपमा लिएका छन् । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले अन्तरजातीय विवाहले समाजमा समानता, सहिष्णुता र आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नवदम्पतीलाई गाउँपालिकाको तर्फबाट बधाई तथा सम्मानसमेत गरिएको जानकारी दिनुभयो ।
नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको भए पनि व्यवहारिक रूपमा जातीय विभेदका घटना पूर्ण रूपमा अन्त्य हुन सकेका छैनन् । यस्ता अवस्थामा अन्तरजातीय विवाहले सामाजिक चेतना बढाउने र विभेद अन्त्यतर्फ समाजलाई अघि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार, यस विवाहले युवापुस्तामा सकारात्मक सन्देश प्रवाह गरेको छ। जातभन्दा पनि मानवीय सम्बन्ध, समझदारी र आपसी सम्मानलाई प्राथमिकता दिनुपर्ने सन्देश यस घटनाले दिएको उनीहरूको भनाइ छ ।
ज्वालामुखीमा सम्पन्न भएको यो अन्तरजातीय विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र नभई सामाजिक परिवर्तनको संकेतका रूपमा समेत हेरिएको छ । यस्ता उदाहरणहरूले समाजमा समानता र समावेशीताको भावना बलियो बनाउँदै जातीय विभेदमुक्त समाज निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया