प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ


प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनविपरीत कर्जा दुरुपयोग गरेको अभियोगमा डङ्गोललाई पक्राउ गरी मंगलबार (३ चैत) सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार प्रभु बैंकबाट ‘प्रभु म्यानेजमेन्ट प्रालि’मा प्रवाह भएको कर्जा दुरुपयोग प्रकरणमा डङ्गोलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

ब्युरोले यसअघि बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनमाथि बैंकिङ कसुरको आरोपमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सङ्कलित तथ्य, प्रमाण र विज्ञ टोलीको विश्लेषणबाट डङ्गोलले कर्जा दुरुपयोग गर्ने तथा गराउने कार्यमा भूमिका खेलेको देखिएको हो ।

ललितपुरका डङ्गोललाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान गर्न उच्च अदालत पाटनबाट अनुमति लिइएको थियो ।