प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा मंगलबार (३ चैत) केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि भने पुनः बदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बुधबार छिटपुटबाहेक प्रायजसो स्थानमा मौसम सफा भए पनि बिहीबारबाट भने क्रमशः बढ्ने देखिएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रि मनसुनका समयमा कुनैबेला खुल्ने, फेरि प्रणाली विकास भएर बदली हुनेक्रम जारी रहने र बिहीबारबाट बदली थपिने छ । शुक्रबार र शनिबार बदली थप बढी देखिने र ठाउँठाउँमा वर्षा हुने तर देशैभरि एकैसाथ पानी पर्नेभन्दा पनि कतै पर्ने कतै रोकिने अवस्था रहने उनले जानकारी दिए ।
वरिष्ठ मौसमविद् पौडेलले प्रि मनसुनका समयमा हावाहुरी, चट्याङ र असिनापानीको बढी जोखिम हुने पनि बताए । कतै घाम लागिरहेको समयमा अर्को ठाउँमा हावाहुरी र असिनापानीले ठूलो असर गराउने भएकाले सचेत रहन उनको आग्रह छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
विभागले मंगलबार साँझ सार्वजनिक गरेको बुलेटिनमा बुधबार देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
बिहीबार (५ चैत) लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत गण्डकी, वाग्मती र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थान तथा वाग्मती र कोशी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया