रकम लिएर फरार भएको पीडितको आरोप
- रविन्द्र यादव, पश्चिम नवलपरासी
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारी जग्गा कारोबारमा ठगी गरेको गम्भीर आरोपमा मुछिएका छन् । आफ्नै व्यावसायिक साझेदारलाई जानकारी नदिइ २ करोड बराबरको जग्गा बिक्री गरेको र हिसाब नगरी फरार रहेको आरोप उनमाथि लागेको छ।
भण्डारीले अनुचित शैली अपनाएर जग्गा बिक्री गरेको र अहिले सम्पर्कविहीन भएर भागिहिँडेको बिहीबार (५ चैत) आयोजित पत्रकार सम्मेलनमा पीडित पक्षका झविन्द्र ज्ञवालीले बताए । ज्ञवालीका अनुसार साझेदारलाई कुनै पत्तो नदिइ २०८२ फागुन २९ गते १६ कित्ता जग्गा २ करोडमा बिक्री गरियो, अहिले प्रत्यक्ष सामना नगरेर भण्डारी भागिहिँडेका छन् । आफूहरुले न्यायका लागि समाज गुहारेको उनको भनाइ छ ।
समाजको निर्णय मान्न तयार
पीडित ज्ञवालीले यो विवादलाई सामाजिक रूपमा सुल्झाउन चाहेको संकेत गर्दै भने, ‘समाजले यो विषयमा जे निर्णय गर्छ, म त्यो मान्न तयार छु ।’ आफूहरूले सुरुवाती चरणमा भण्डारीको व्यक्तिगत ऋण तिर्न सहयोग पुगोस् भनेर कम रकम बुझेको तर पछि विश्वासघात भएको उनको जिकीर छ ।
के भन्छन् भण्डारी ?
यता केशव भण्डारीले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै ज्ञवाली दम्पती साझेदार नभइ केवल कमिसनमा काम गर्ने व्यक्ति भएको जिकिर गरे। ज्ञवालीले काम गरेबापतको रकम दिइसकेको र कुनै कानुनी साझेदारी नरहेकोमा उनले जोड दिए ।
नवलपरासीको बर्दघाट(५ मा रहेको २२ कठ्ठा जग्गाको यो विवाद अहिले स्थानीय स्तरमा निकै पेचिलो मामला बनेको छ।
प्रतिक्रिया