घरपरिवारको सम्पर्कमा समेत रहन नदिइ बन्धक बनाएर घरेलु काममा लगाएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरिएको छ ।
भारतको हिमाचल प्रदशको कोतखाइ भन्ने स्थानबाट रुकुम पश्चिमकी २१ वर्षीया युवतीको उद्धार गरिएको हो ।
पीडितका आफन्तले दिल्लीस्थित नेपाली दूतावासको हटलाइनमा फोन सम्पर्क गरेर उद्धारको आग्रह गरेको थियो । दूतावासले ‘किन इन्डिया’ तथा हिमाचलका प्रहरीसँगको समन्वय गरेर पीडितको उद्धार गरेको हो ।
‘किन इन्डिया’का प्रमुख नवीन जोशीले चार वर्षअगाडि स्याउ बगानमा काम थालेकी किशोरीलाई बगानधनीले पछि घरमा काम लगाएको जानकारी दिँदै आफ्नो घर लगेर काममा लगाएपछि पारिश्रमिक नदिने र घरपरिवारलाई समेत सम्पर्क गर्न नदिएर राखेको बताए ।
किशोशी ११ कक्षा पढ्दै गर्दा हिमाचल प्रदेश पुगेकी थिइन् । हिमाचाल प्रहरी तथा स्थानीय बाल कल्याण समितिको सहयोग लिएर पीडितको उद्धार गरेको जोशीले जानकारी दिए । घटनाविरुद्ध प्रहरीमा उजुरी दिएर पीडकलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।
भर्खरै उद्दार गरिएकी पीडित तनावमा देखिएकी छन् । उनको स्थास्थ्य उपचार एवम् आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने क्रममा रुकुम पुगेका ‘किन इन्डिया’का निर्देशक नवीन जोशीलगायतको टिमलाई हर्षोल्लासका साथ गाउँलेले स्वागत गरेका छन् । बारम्बारको प्रयासका बाबजुद उद्धार गर्न नसकेर पीडामा बसेका परिवारजनलाई आफ्नो छोरी सकुशल घरमा ल्याइपुऱ्याएपछि परिवारमा मात्र नभइ सम्पूर्ण गाउँलेहरुमा नै खुशी छाएको थियो ।
प्रतिक्रिया