बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले एक पुरुष र दुई महिलासहित तीन जनालाई आइतबार (१५ चैत) पक्राउ गरिएको जानकारी दिए । पीडित पक्षले पाँच जनाको नाममा किटानी जाहेरी दिए पनि तीन जनालाई पक्राउ गरिएको उनले बताएका छन् ।
शनिबार राति नेपालगन्ज-१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालयनजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो । सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज-१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए ।
पक्राउ परेकाबाहेक अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया