महन्त काशीदास उदासीको निधनमा रामधुनीमा शोक बिदा घोषणा

महन्त काशीदास उदासीको निधनमा रामधुनीमा शोक बिदा घोषणा


सुनसरीको रामधुनी नगरपालिकाले पूजनीय महन्त काशीदास उदासी महाराजको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक विदा घोषणा गरेको छ। रामधुनी नगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार एक दिन शोक विदा दिइएको हो।

रामधुनी-४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरका मूल पुजारीसमेत रहनुभएका महन्त उदासीले आफ्नो सम्पूर्ण जीवन मन्दिरको सेवा, संरक्षण र धार्मिक आस्थाको प्रवर्द्धनमा समर्पित गर्नुभएको थियो । उहाँको निधनले धार्मिक क्षेत्र मात्र नभई समग्र समाजमा अपूरणीय क्षति पुगेको स्थानीयवासीको भनाइ छ ।

नगरपालिकाद्वारा जारी सूचनाअनुसार शोक विदाका दिन नगरपालिका तथा मातहतका सबै कार्यालय र विद्यालय (अत्यावश्यक सेवा बाहेक) बन्द रहने जनाइएको छ।

नगरपालिकाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ भने शोकसन्तप्त परिवारजन तथा भक्तजनप्रति समवेदना व्यक्त गरेको छ ।