जनताले दिएको म्यान्डेटको सम्मान गर्ने हो भने अब युवालाई गाउँमै भविष्य देखाउने वातावरण बनाउनुपर्छ । गाउँमै रोजगारी सिर्जना गर्ने ठोस नीति ल्याउनुपर्छ । कृषि, उद्योग, पर्यटन र स्थानीय उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्छ । ‘गाउँफर्क अभियान’लाई आधुनिक स्वरूपमा तत्काल लागू गरिनुपर्छ । यही बाटो हो सन्तुलित विकासको, यही बाटो हो समृद्ध नेपालको ।
✍ काजी कार्की
नेपालका जनताले अहिलेको सरकारलाई केवल सत्ता चलाउनका लागि होइन, देशलाई सही दिशामा लैजानका लागि दुई तिहाइको शक्तिशाली म्यान्डेट दिएका हुन् । तर आजको यथार्थ हेर्दा, त्यो म्यान्डेटको सही प्रयोग भएको देखिँदैन । सरकार विकासका ठूला नारामा अल्झिएको छ, तर आधारभूत समस्या असन्तुलित विकासप्रति गम्भीर देखिँदैन ।
राजधानी र सीमित शहरहरूमा जनसंख्या, स्रोत र अवसरको अस्वाभाविक थुप्रो लागिरहेको छ । उता गाउँहरू खाली हुँदैछन् । खेत बाँझो छन्, बस्ती सुनसान बन्दैछन्, युवाहरू विदेशिन बाध्य छन् । के यही हो समृद्ध नेपालको परिकल्पना ?
सरकारले बुझ्नैपर्छ- शहरमा भीड बढाएर देश बन्दैन । केही सडक, पुल र भवन बनाएर विकासको भ्रम सिर्जना गर्न सकिन्छ, तर त्यो दिगो समाधान होइन । जबसम्म गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारको पहुँच सुनिश्चित हुँदैन, तबसम्म ‘समृद्धि’ केवल भाषणमै सीमित रहन्छ ।
यही सन्दर्भमा विगतमा राजा महेन्द्रले अघिसारेको ‘गाउँफर्क अभियान’ आज झनै सान्दर्भिक बनेको छ । त्यो अभियानको मर्म गाउँलाई आत्मनिर्भर बनाउने, उत्पादन बढाउने र देशको मेरुदण्डलाई बलियो बनाउने थियो । तर, आजका शासकहरू इतिहासबाट सिक्न तयार देखिँदैनन् ।
विश्वका सफल राष्ट्रहरूले के गरेका छन् ? चीनले ग्रामीण पुनर्जागरणको नीति अपनाउँदै गाउँमै उद्योग, कृषि र पूर्वाधार विकासमा लगानी गर्यो । परिणाम – गरिबी घट्यो, उत्पादन बढ्यो, गाउँहरू आर्थिक केन्द्र बने । दक्षिण कोरियाले ‘नयाँ गाउँ आन्दोलन’ मार्फत गाउँलाई नै विकासको आधार बनायो । जर्मनी जस्ता देशहरूले सन्तुलित विकास नीति अपनाउँदै राजधानीमा मात्र होइन, देशभर अवसर वितरण गरे ।
तर नेपालमा के भइरहेको छ ? नीति निर्माण शहरमुखी छ, बजेट वितरण असन्तुलित छ, र योजनाहरू कागजमै सीमित छन् । गाउँका लागि बोलिन्छ, तर काम सहरका लागि हुन्छ। यो केवल कमजोरी होइन- यो जनताको म्यान्डेटमाथिको बेवास्ता हो ।
यदि सरकार साँच्चिकै जिम्मेवार छ भने अब तुरुन्त कदम चाल्नुपर्छ । गाउँमै रोजगारी सिर्जना गर्ने ठोस नीति ल्याउनुपर्छ । कृषि, उद्योग, पर्यटन र स्थानीय उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्छ । युवालाई गाउँमै भविष्य देखाउने वातावरण बनाउनुपर्छ ।
त्यसैगरी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा गाउँमै सुनिश्चित गरिनुपर्छ । सडक, विद्युत्, इन्टरनेट जस्ता पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्छ । यी कामबिना ‘गाउँ फर्क अभियान’ केवल नारा बन्नेछ, परिणाम आउनेछैन ।
आज आवश्यकता केवल योजनाको होइन, इच्छाशक्तिको हो । सरकारसँग शक्ति छ, स्रोत छ, जनताको समर्थन छ- तर के इच्छाशक्ति छ ? यदि छैन भने, दुईतिहाइको अर्थ के ?
अब समय आएको छ- सरकारले निर्णय लिनुपर्छ । या त शहरमुखी, असन्तुलित र अल्पदृष्टि विकासलाई निरन्तरता दिने, या त साहसका साथ गाउँकेन्द्रित विकास रणनीति अपनाउने ।
जनताले दिएको म्यान्डेटको सम्मान गर्ने हो भने अब कुनै बहाना चल्दैन । ‘गाउँ फर्क अभियान’लाई आधुनिक स्वरूपमा तत्काल लागू गरिनुपर्छ । यही बाटो हो सन्तुलित विकासको, यही बाटो हो समृद्ध नेपालको ।
नत्र इतिहासले यो सरकारलाई अवसर भएर पनि जिम्मेवारी नबुझेको शासनको रूपमा लिन बाध्य हुनेछन् ।
प्रतिक्रिया