झापा जिल्लाको सदरमुकाम नगर भद्रपुरको वडा नं. ३ का ज्येष्ठ नागरिकहरूलाई वडाध्यक्षको सौजन्यमा धार्मिक तथा पर्यटकीय भ्रमण गराइएको छ ।
भद्रपुर–३ का वडाध्यक्ष हेमबहादुर कार्की (सन्तु)ले व्यक्तिगत रुपमा आफ्नै लगानीमा चैत २१ गते १ सय २० जना वडाबासी ज्येष्ठ नागरिकलाई सुनसरी जिल्लाको धार्मिकस्थल बराह क्षेत्र र धरानस्थित पर्यटकीयस्थल ‘श्रम संस्कृति पार्क’को अवलोकन भ्रमणमा लगेका हुन् ।
वडाध्यक्ष कार्कीले २०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएयता आफूले पाउने सेवा–सुविधा वापतको रकम लगातार सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा यस्तो भ्रमणमा समेत खर्च गर्दै आएका छन् ।
‘निर्वाचित भएयता वडाध्यक्षको नातामा वर्षेनी मैले पाउने तलब लगायतका सुविधाबाट वडाका ज्येष्ठ माता–पितालाई धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गराउँदै आएको छु’- वडाध्यक्ष कार्कीले भ्रमणका लागि आँपगाछीमा भेला भएका ज्येष्ठ नागरिकका अघि भने ।
‘ज्येष्ठ माता-पितालाई भ्रमण गराउनु सबैभन्दा ठूलो धर्म हो भन्ने मलाई लाग्छ’ भन्दै उनले भने– ‘वडाका ज्येष्ठ नागरिकहरूलाई वर्षैपिच्छे भ्रमणमा लगेको यो समेत चौथो पटक हो ।’
जीवनको उत्तराद्र्धमा पुगेका वृद्ध-वृद्धाका लागि यो यात्रा केवल भ्रमण मात्र नभई भावनात्मक सम्बन्ध र र आध्यात्मिक शान्तिको माध्यम पनि बनेको छ । आर्थिक अभावका कारण लामो समयदेखि तीर्थाटनमा जाने चाहना मनमै थाती राखेका वडा नं. ३ का धेरै ज्येष्ठ नागरिकलाई वडाध्यक्ष कार्कीको यस पहलले खुशी दिलाएको छ ।
तीर्थाटनका क्रममा उनीहरूलाई यातायात, खानपान लगायतका आवश्यक सम्पूर्ण व्यवस्थाका लागि वडाध्यक्ष कार्कीले आफै लगानी गरेका हुन् ।
वडाध्यक्षको व्यक्तिगत गाडी सहित ४ वटा बसमा लगिएका ज्येष्ठ नागरिकहरुको टोलीमा भ्रमणका दौरान स्वास्थ्यमा आउन सक्ने समस्यालाई समेत मध्यनजर गरेर स्वास्थ्यकर्मीको टोली पनि साथै लगिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
प्रतिक्रिया