- अर्जुन लामिछाने, टोकियो (जापान)
जापानमा आयोजना हुने दोस्रो मोना इताबासी नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
यही अप्रिल ११ र १२ तारिखका दिन आयोजना हुने दोस्रो म्याग्दी मोना इताबासी नेपाल फेस्टिवलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
फेस्टिवलका लागि दाइतो विश्वविद्यालय, इताबासी क्याम्पसको विशेष प्रस्तुति रहनेछ भने नेपाली राजदूतावास जापान र ताकाशिमादाइरा प्रहरीको जानकारीमूलक स्टलहरू पनि रहने बताइएको छ ।
फेस्टिवलमा नेपाली १२ र जापानी ११ गरी कुल २३ वटा स्टल रहने जानकारी दिइएको छ । दुई दिने फेस्टिवलमा करिब १५ हजार दर्शकको सहभागिता रहने र ५० देखि ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने संयोजक कार्कीले बताए ।
फेस्टिवलमा म्याग्देली कलाकार रवि कार्की, गायक सूर्य खड्का लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा एनआरएनए आइसीसीका नवनिर्वाचित उपाध्यक्ष तथा मोना जापानका सल्लाहकार ददिवल खड्का, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा मोना जापानका सल्लाहकार तिलक मल्ल, कलाकार रवि कार्की र नेपाल पत्रकार महासंघ जापानका सचिव अर्जुन लामिछानेले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता तथा महासचिव सुरेश पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया