भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ । यही चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिका गरी तीन स्थानीय तहको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।
मुन्दुम पदमार्गको प्रचार–प्रसार तथा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।
सो रेसअन्तर्गत भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको दौड आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र तावाभञ्ज्याङसम्म करिब ६० किलोमिटर दूरी पार गर्ने रुट तय गरिएको थियो ।
प्रतियोगितामा ६० किलोमिटर पुरुष खुलातर्फ ओखलढुङ्गाका विनोद थापा मगर ६ घण्टा ५० मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम भए । खोलुखुम्बुका अर्जुन कुलुङ र मिलन राईले क्रमशः द्वितीय र तृतीय हासिल गरे। विजेताले क्रमशः नगद ८० हजार, ६० हजार र ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिलातर्फ खुल्ला ६० किलोमिटर दौडमा खोटाङकी निर्मला राई प्रथम, रोल्पाकी आश्मा विक द्वितीय र सोलुखुम्बुकी आङफुर्वा शेर्पा तृतीय भइन् । तीनै विजेताले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ८० हजार, ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
पुरुष खुल्ला ४५ किलोमिटर दौडमा काठमाडौंका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू द्वितीय र भोजपुरका उमेश राई तृतीय भइ ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
महिला ४५ किलोमिटरतर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोश्नी बुढा द्वितीय र भोजपुरकी रुश्मा राई तृतीय भइन् । उनीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
भेट्रान (४० वर्षमाथि) पुरुषतर्फ धरानका यामनाथ लिम्बु प्रथम, विजय राई द्वितीय र रेशम लिम्बू तृतीय भए । उाीहरूले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक समितिका अध्यक्ष सन्दिप किरावाले जानकारी दिए ।
भेट्रान महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र विनिता राई द्वितीय बने । उनीहरूले क्रमशः २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया