आरोग्य-पर्यटनसँगै ‘भावनात्मक स्वास्थ्य’मा काम गरौँ

आरोग्य-पर्यटनसँगै ‘भावनात्मक स्वास्थ्य’मा काम गरौँ


नेपाललाई आरोग्य-पर्यटन, पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सालगायतको हब बनाउन आरोग्य-पर्यटन नीति जारी गर्ने सरकारको १०० बुँदे घोषणामा परेको छ । ‘आरोग्य’ शब्दको अर्थ गहिरो छ । सरकारले घोषणा गरेका बुँदामध्येको राम्रो र अत्यावश्यक कार्यका रूपमा यसलाई लिन सकिन्छ । आरोग्य भन्नाले शारीरिक र मानसिक रूपमा पूर्ण स्वस्थ र सन्तुलित अवस्था हो । शारीरिक र मानसिक रूपमा स्वस्थ भएपछि मानिसको सामाजिक र सार्वजनिक जीवन राम्रो हुन्छ । हिजोआज शारीरिक भन्दा बढि मानसिक र भावनात्मक स्वास्थ्य जटिल बन्दै गएको छ । मन शान्त र सन्तुलित भएन भने मानिसलाई अघि बढ्न गाह्रो हुन्छ । शरीर र मन दुबैलाई आनन्द दिने यात्रा आरोग्य-पर्यटन हो । विगतमा ऋषिमुनीहरूको स्थल भएकाले नेपाललाई आरोग्य पर्यटन स्थल बनाउन सहज हुने आधारहरू हामीसँग धेरै छन् ।

प्राकृतिक सम्पदाले भरिपूर्ण भएका कारण मानिसहरूमा भरिने उकुसमुकुसलाई प्राकृतिक हिलिङ हामी दिन सक्छौँ । शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलनले मान्छेभित्रको मान्छे जगाउन सहज हुन्छ । जुन अहिलेको अवस्थामा निकै आवश्यक छ । प्रकृति र अध्यात्मको अभूतपूर्व संयोजनले हराउँदै गएको पूर्वीय दर्शनको मूल्य-मान्यतालाई फर्काउन सक्छ । जडिबुटीको धनी देश, आयुर्वेदिक उपचार पद्दतीको अभ्यास, योग ध्यानको पृष्ठभूमि भएको मुलुक, पूर्वीय सभ्यता र संस्कृति बोकेको समाजलगायत यस्ता धेरै कुरा छन्, जसका कारणले बाह्य र आन्तरिक दुबै अवस्थामा आरोग्य-पर्यटनमा हामी सफल हुन सक्छौँ । साथै अहिले मानिसहरूमा देखिएको भावनात्मक असुरक्षा र कठिन मानसिक अवस्थालाई मध्यनजर गर्दै इमोशनल लिटरेसीलाई पनि सँगसँगै लानु आवश्यक छ ।

मानिसको जीवनमा धेरै कुराले महत्व राख्छ, त्यसमध्ये सबैभन्दा बढि भावनात्मक सुरक्षा र असुरक्षाले राख्छ । विश्वमा धेरै घटनाहरू भावनात्मक असुरक्षाका कारण भएका छन् । सर्वसाधारणदेखि धेरै ठुला ओहदामा पुगेकाहरूसम्मलाई भावनात्मक स्वास्थ र सुरक्षाले फरक पारिरहेको हुन्छ । मान्छेको मन र मष्तिष्कमा कतिबेला के कुरा झट्ट आउँछ भन्नै सकिन्न । एउटा काम गर्दागर्दै मष्तिष्कमा अर्कै कुरा आइदिन सक्छ । महाभारतमा उल्लेख भएको ‘यक्ष प्रश्न’मा युधिश्ठिरलाई यक्षले गरेका प्रश्नमध्ये एक थियो- यो संसारमा सबैभन्दा तीव्र गतिमा दौडिन सक्ने के हो ? युधिश्ठिरको जवाफ थियो- ‘मन’ । मन र मष्तिष्कको तालमेल गर्न सकिएन भने जीवनको बाटो असहज हुनपनि सक्छ । तथापि, जीवनमा कहिले मन हाबी भइरहेको हुन्छ त कहिले मष्तिष्क । कहिलेकाहीँ मनले गर भनेको कुरा मष्तिष्कले रोकिदिन्छ, कहिले मष्तिष्कले निर्देश गरेको कुरा मनले ‘यो त हुँदैन’ भन्छ । हामीले गहिरिएर नसोचेका मात्रै हौँ, यस्तो हामीलाई जीवनमा पटक-पटक पर्दै आएको छ ।

देशको प्रधानमन्त्री हुन् या राष्ट्रपति, सार्वजनिक जीवन बाँचिरहेको मानिस होस् या नितान्त ब्यक्तिगत जीवन बाँचिरहेका मानिस तपाईं कस्तो ‘स्टेट आफ माइण्ड’मा हुनुहुन्छ भन्ने कुराले अर्थ राख्छ । तपाईंको ‘इमोशनल हेल्थ’ राम्रो छैन भने तपाईंले गर्ने निर्णयहरू गलत पनि हुन सक्छन् । रुनु, हाँस्नु, पीडा या खुशी महसूस गर्नु इमोशन अर्थात् भावनात्मक अवस्थासँग जोडिएका कुरा हुन् । मानिसको जीवनमा कुनै न कुनै प्रकारको भावनात्मक दुःख या खुशी चलिरहेकै हुन्छ । वरिपरि हतियारले सुसज्जित सुरक्षाकर्मीका साथमा हिँडेका राष्ट्र या सरकार प्रमुख, सेना या प्रहरी प्रमुख, मन्त्री या यस्तै ओहदामा हुँदैमा ती मानिसहरू भावनात्मक रूपमा सुरक्षित छन् भन्न मिल्दैन । चोट, पीडा या खुशीबाट मुक्त मान्छे भेट्न गाह्रो छ । जति सुख भोग्ने ठाउँमा पुगोस्, यदि उसले सानो छँदा धेरै दुःख पाएको रहेछ भने ती दृष्यहरूबाट उ टाढा रहन सक्दैन । भावनात्मक स्वतन्त्रता मानिसको जीवनमा निकै ठुलो कुरा हो । दुःख, सुख, खुशी, पीडालगायतका कुरालाई ब्यवस्थापन गर्न सक्नु भावनात्मक स्वतन्त्रता हो । जुन ठाउँसम्म पुग्न मानिसले धेरै ठुलो मिहिनेत गर्नुपर्ने हुन्छ ।

मनमा परेको चोटलाई कसरी ब्यवस्थापन गर्ने ? जीवनमा सहनै गाह्रो हुनेगरी अकस्मातै केही कुरा आइलाग्यो भने कसरी सम्हालिने ? नकारात्मक प्रतिक्रियालाई कसरी हेण्डिल गर्ने ? अरुले नराम्रो गरे भने त उनीहरूलाई रोक्न दायरा बनाउँला, आफूले आफैलाई नराम्रो गर्दा त्यस्ता कुरालाई रोक्नका लागि सीमा कसरी तय गर्ने ? तारबार कसरी लाउने ? प्रायः हामी अरुले आफूमाथि गरेको नराम्रो ब्यवहारको चर्चा गर्छौं, तर आफूले आफैलाई हानी हुने काम कति गरिरहेका हुन्छौं – जसको चर्चा हामी गर्दैनौं । भावनात्मक साक्षरता अर्थात् इमोशनल लिटरेसीभित्र यी र यस्तै कुराहरू पर्छन् । हामी प्रायः मिडिया लिटरेसी, डिजिटल लिटरेसी, फाइनान्सियल लिटरेसी लगायतका कुरामा चर्चा गरिरहेका हुन्छौँ । तर इमोशनल लिटरेसीको कुरा गर्दैनौँ । विगतमा धेरै आवश्यक थिएन होला तर समयक्रममा अहिले परिवारसँगै भएको मानिसले पनि एक्लो महसूस गर्दै जीवन समाप्तिसम्मको गलत निर्णय लिएका घटनाहरू बढ्दै गएकाले भावनात्मक साक्षरताको आवश्यकता देखिएको छ ।

आफूलाई के भइरहेको छ ? कस्तो कुराले असर गरिरहेको छ ? भन्ने कुरा थाहा पाउनु, बुझ्नु, ब्यक्त गर्नु, ब्यवस्थापन गर्नु जस्ता कुराको जानकारी भावनात्मक साक्षरताभित्र पर्छन् । दुःख, सुख, खुशी मात्र होइन रीस, इर्ष्या, डर, भय, त्रास सबै भावनात्मक कुरा हुन् । मृत्युको त्रास, आफन्त या आफ्नो नजिकको मान्छे गुमाउने भय, असफलताको डर जीवनमा केही न केही त भइ नै रहेको हुन्छ । सफलता र असफलता कुनै पद या ओहदासँग नभएर तिमीले यो संसारलाई हेर्ने दष्टिकोणसँग सम्बन्धित छ भनेर बुझाउने मान्छे कमै भेटिन्छन् । कसैलाई ठुला-ठुला पदमा पुग्दा यो केवल उत्तरदायित्व मात्रै हो भन्ने लाग्नसक्छ । कतिलाई त्यही ठाउँ पुग्दा संसारै पाए झैँ लाग्न सक्छ । तपाईं कुन धरातलमा उभिएर सोच्नुहुन्छ त्यसमा भरपर्छ । जिन्दगीमा अहिलेसम्म लागेको सबैभन्दा गाह्रो कुरा मानिसको सोच बदल्नु नै हो । हामीले धेरै कुरामा काम गऱ्यौँ, गरिरहेका छौं अब सोचमा काम गर्नु आवश्यक छ । अरुको होइन आफ्नै सोच बदल्न अग्रसर हुनुपर्छ । अरुले के गर्छन्, के भन्छन् हामी त्यसको जिम्मा लिन सक्दैनौं तर आफू के गर्छौं त्योचाहिँ हाम्रो आफ्नै हातमा छ, आफैमा निहित छ । अनि हामी आफू आफै राम्रो बन्यौँ भने त परिवार, समाज, देश राम्रो बनिहाल्छ नि । ब्यक्ति-ब्यक्ति मिलेरै त यो सबै बन्ने हो ।

हाम्रा पुर्खाले जिन्दगीमा असाध्यै दुःख हुँदा कसरी सहने ? जीवनमा अकस्मातै के-कस्तासम्म नसोचेका कुराहरू आइपर्न सक्छन् ? भन्ने कुरा बुझाउन र मानसिकरूपले तयार गराउन विभिन्न कथाहरूको सिर्जना गर्थे । राजा–महाराजाहरूले कसरी सडकको बास भोग्नुपऱ्यो भन्ने सन्देश दिने जीवनीहरू तयार गर्थे । भर्तिृहरिको कथा होस् या सुनकेशरी रानीको यी सबै दुःखलाई ब्यवस्थापन गर्न सिकाउने सिर्जना हुन् । त्यतिबेला अहिले जस्तो पाठ्यक्रम नै बनाएर पढाउने स्कुल कलेजहरू थिएनन्, तर अहिले छन् । भावनात्मक साक्षरता स्कुलको पाठ्यक्रममै राख्नु आवश्यक छ । सानैदेखि सिकायो भने मानिसलाई परिस्थिति सम्हाल्न त्यति कठिन हुँदैन जति एक्कासी आइलाग्दा हुन्छ । स्वचेतना, स्वजागरण जस्ता कुराहरूले हाम्रा पाठ्यक्रममा स्थान पाएका छैनन् । ‘स्वास्थ शिक्षा’मा पनि हामीकहाँ प्रायः शारीरिक स्वास्थ्य पढाइन्छ; भावना, मानसिकता जस्ता कुराहरू भन्दा शरीरलाई महत्व दिइएको छ । शरीरको बारेमा जान्नु आवश्यक छ, साथै भावनात्मक र मानसिक स्वास्थ्यलाई पनि महत्व दिनु त्यत्तिकै जरुरी छ । प्रायः लेख्ने, बोल्ने गरेको कुरा एकपल्ट फेरि दोहोऱ्याउँछु, हामीलाई सानैदेखि अरुलाई कस्तो ब्यवहार गर्नुपर्छ भनेर सिकाइयो तर आफैसँग कस्तो ब्यवहार गर्ने भन्ने सिकाइएन । फलतः हामी आफूले आफैलाई जोखिममा पुऱ्याउने क्रियाकलाप गरिरहेका हुन्छौं । भावनात्मक साक्षरतामा आफूले आफैलाई गर्ने ब्यवहार प्रमुखरूपमा रहन्छ । राम्रो र सहज बनाइसकेपछि आफूलाई जे गर्दा राम्रो लाग्छ अरुलाई त्यस्तै ब्यवहार गरे भइहाल्यो । जुन कुरा घर, पाठशाला, कुराकानी, छलफल सबैतिर चर्चा गर्दा हुन्छ ।

तपाईं-हामीमध्ये जो-कोही जति ठुलो र शक्तिशाली पदमा पुगेपनि, जति धेरै नाम कमाएपनि आफ्नो भावनालाई नियन्त्रण गर्न सकेनौँ भने सबैभन्दा कमजोर मानिस हौँ । भावनालाई नियन्त्रण गर्न र मानसिकरूपले सवल हुनका लागि प्रत्येक दिन आफूले आफैमा काम गर्नुपर्ने हुन्छ । अरुलाई यस्तो बन्नुपर्छ उस्तो बन्नुपर्छ भनेर उपदेश दिन सजिलो भएपनि आफूले आफैलाई बनाउन त्यति सहजचाहिँ छैन । सकारात्मक ब्यवहार अरुलाई मात्र होइन आफैलाई पनि गर्नुपर्छ । बिहानैदेखि मन र मष्तिष्कमा राम्रा राम्रा सोचहरू ल्याउनु, अरुलाई दुःख हुने काम नगर्नु पनि आफूलाई राम्रो गर्नु हो । लामो समय न्युयोर्क टाइम्समा साइन्स जर्नलिष्टको रूपमा काम गरेका इमोशनल इन्टेलिजेन्स पुस्तकका लेखक डानियल गोलम्यानले भनेका छन्, ‘पैसाले मात्रै जिन्दगी सहज हुँदैन । साथमा धन, सम्पत्ति टन्नै हुनेहरूले पनि आफूले आफैलाई प्रेरित गरिरहनुपर्छ, आफूवरिपरिको परिवेश सौहार्द्धपूर्ण नहुञ्जेलसम्म जीवन सहज हुँदैन । त्यो परिवेश बनाउनेचाहिँ आफूले नै हो ।’

अन्त्यमा, देशका लागि राजनीतिक स्थिरता जति आवश्यक छ, मानिसको जीवनमा भावनात्मक स्थिरता त्यत्तिकै जरुरी छ । भावनात्मक स्थिरताका लागि हरेक तह र तप्कामा छलफल गरौँ । सरकारले बनाउने आरोग्य रणनीतिमा मानसिक र भावनात्मक स्वास्थ्यलाई प्राथमिकताका साथ समावेश गरौँ ।