जापानवासी नेपालीलाई ‘स्याकाइ होक्केन’बारे जानकारी दिन अनलाइन सेमिनार सम्पन्न

जापानवासी नेपालीलाई ‘स्याकाइ होक्केन’बारे जानकारी दिन अनलाइन सेमिनार सम्पन्न


  • इन्दिरा खनाल, जापान

जापान सरकारले सामाजिक सुरक्षा प्रणालीअन्तर्गत पर्ने ‘स्याकाइ होक्केन’लाई अनिवार्य बनाएसँगै यहाँ बसोबास गर्ने नेपालीहरूका लागि भिसा नवीकरण र कानुनी अवस्थासँग सम्बन्धित विषयहरू थप कडाइका साथ लागू हुन थालेका छन् । यसै सन्दर्भमा अर्घाखाँची समाज जापानले विज्ञहरूसँग अनलाइन सेमिनार आयोजना गरी आवश्यक जानकारी प्रदान गरेको छ।

आइतबार सम्पन्न उक्त सेमिनारमा सामाजिक बिमा तथा श्रम विज्ञ केइको ओनोले स्याकाई होक्केनमा आवद्ध हुनु व्यक्ती र परिवार दुवैका लागि सुरक्षित रहेको बताए । उनले काम गर्ने क्रममा बिरामी भएर काममा जान नसक्ने अवस्थामा स्याकाई होक्केनमा ६ महिनाभन्दा बढी समयदेखि आवद्ध व्यक्तिले करिब डेढ वर्षसम्म ६६.५ प्रतिशत तलब पाउने सुविधा रहेको जानकारी दिए ।

त्यसैगरी, गर्भवती महिलाले बच्चा जन्माउनुभन्दा ४२ दिन अगाडि र जन्मेपछि ५६ दिनसम्म पनि यो सुविधा उपयोग गर्न सक्ने व्यवस्था रहेको उनले स्पष्ट पारे ।

ओनोका अनुसार स्याकाइ होक्केनमा सामाजिक बिमा र पेन्सन दुबै समावेश हुने भएकाले दीर्घकालीन रूपमा पनि निकै फाइदाजनक छ । नियमित रूपमा स्याकाइ होक्केन तिर्ने व्यक्तिले ६५ वर्षपछि पेन्सन पाउने र नेपाल फर्किएपछि पनि उक्त रकम प्राप्त गर्न सकिने व्यवस्था रहेको उनले बताए ।

त्यस्तै, आप्रवासन वकिल तथा भिसा कन्सल्टेन्ट मासाकाजु कोन्दोले हाल जापान सरकारले विदेशीहरूको भिसा प्रक्रियामा कडाइ गरेको जानकारी दिए । उनका अनुसार, पहिले सामान्य रूपमा हेरिने कागजातहरू अहिले गहिराइका साथ जाँच गरिने भएकाले साना त्रुटिहरूका कारण पनि समस्या आउन सक्ने अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा पूर्ण भिसा नवीकरणको सट्टा ३० दिनको छोटो अवधि भिसा दिने गरेको उनले बताए ।

कोन्दोले अघिल्लो र हालको आवेदनबीच कागजातमा फरक परेमा भिसा नवीकरण नहुने जोखिम रहने भएकाले आवेदन अघि सबै कागजात स्वयंले जाँच गर्न सुझाव दिए । साथै स्थायी बसोबास (एजुकेन) र नागरिकता परिवर्तन प्रक्रियामा पनि पहिलेभन्दा कडाइ गरेको उल्लेख गर्दै उनले वार्षिक आम्दानी, कर तिरेको अवस्था र आपराधिक गतिविधिमा संलग्नता भएरनभएको विषयलाई विशेष प्राथमिकतामा राखेको बताए ।

सेमिनारमा लामो समय जापानमा रही विदेशी नागरिकको भासा तथा कानुनी समस्याको सहजीकरण गर्दै आएका राजन पन्तले आफ्नो अनुभव तथा जापानीज बीज्ञहरूको भनाईलाई नेपाली भाषामा अनुवाद गरेका थिए । उनले जापानमा दीर्घकालीन बसाइ र अनुभवका आधारमा सरकारी नियमहरूको पालना गर्न र जापानी भाषा सीपलाई निरन्तर सुधार गर्नुपर्नेमा जोड दिए ।

३५ जना सहभागी उक्त कार्यक्रममा समाजका सल्लाहकार डा। बिष्णु खनालले पछिल्लो समय नियम परिवर्तनसँगै विदेशीहरूको व्यवसायिक भिसा नवीकरणमा समेत चुनौती देखिन थालेको बताए ।

समाजका अध्यक्ष टोपबहादुर घर्ती मगरको अध्यक्षता, उपाध्यक्ष अर्जुन आचार्यको स्वागत मन्तव्य तथा महासचिव अविनास जिसीको सञ्चालनमा सेमिनार सम्पन्न भएको थियो।