डिजिटल युग र एल्गोरिदमको नियन्त्रण

डिजिटल युग र एल्गोरिदमको नियन्त्रण


आजको डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । बिहान उठेदेखि राति सुत्नुअघि सम्म हामी फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा समय बिताइरहेका हुन्छौं । तर हामीले देखिरहेका सामग्रीहरू – कुन पोस्ट, भिडियो वा समाचार हाम्रो अगाडि आउँछ – त्यो संयोग मात्र होइन । यसको पछाडि एउटा अदृश्य तर अत्यन्त शक्तिशाली प्रणालीले काम गरिरहेको हुन्छ, जसलाई ‘एल्गोरिदम’ भनिन्छ । पछिल्लो समय नेपालमा पनि अत्यधिक चर्चामा आएको यो विषयलाई बुझ्न यो लेख सहयोगी हुने विश्वास लिएको छु ।

एल्गोरिदम सामान्य अर्थमा कम्प्युटरले कुनै काम सम्पन्न गर्न प्रयोग गर्ने नियम वा निर्देशनहरूको श्रृंखला हो । सामाजिक सञ्जालको सन्दर्भमा, एल्गोरिदमले प्रयोगकर्ताको व्यवहार र मनोविज्ञानलाई विश्लेषण गरेर उसलाई कुन सामग्री देखाउने भन्ने निर्णय गर्छ । हामीले कुन भिडियो कति समय हेर्छौं, कुन पोस्टमा लाइक वा  कमेन्ट गर्छौं, कसको सामग्रीसँग बढी अन्तरक्रिया गर्छौं – यी सबै गतिविधिहरू एल्गोरिदमका लागि संकेत (signals) हुन् । यिनै संकेतका आधारमा प्रणालीले हाम्रो रुचि, विचार र प्राथमिकताको एउटा डिजिटल प्रोफाइल तयार गर्छ र त्यसैअनुसार सामग्री छनोट गरेर देखाउँछ । यही कारणले, प्रत्येक प्रयोगकर्ताको सामाजिक सञ्जाल अनुभव फरक-फरक हुन्छ ।

यो प्रणाली स्वतः विकसित भएको होइन। यसलाई ठूला प्राविधिक कम्पनीहरूले निर्माण र व्यवस्थापन गरेका हुन्छन् । फेसबुक र इन्स्टाग्राम का लागि  ‘मेटा प्लेटफर्मस्’,  युट्युबका लागि ‘गुगल’ र टिकटकका लागि  ‘बाइटडान्स’ जस्ता कम्पनीहरूले एल्गोरिदमलाई निरन्तर परिमार्जन गरिरहेका हुन्छन् । यी कम्पनीहरूको मुख्य उद्देश्य प्रयोगकर्तालाई सकेसम्म लामो समय आफ्नो प्लेटफर्ममा सक्रिय राख्नु हो, किनकि प्रयोगकर्ताको समय र ध्यान नै उनीहरूको प्रमुख व्यापारिक स्रोत हो । जति धेरै समय प्रयोगकर्ता प्लेटफर्ममा बिताउँछन्, त्यति नै बढी विज्ञापन देखाइन्छ, जसबाट उनीहरूले आम्दानी गर्छन् । त्यसैले एल्गोरिदमलाई यति आकर्षक बनाइन्छ कि प्रयोगकर्ता निरन्तर स्क्रोल गरिरहोस् ।

एल्गोरिदमका  धेरै सकारात्मक पक्ष छन् ।  यसले प्रयोगकर्तालाई आफूलाई मनपर्ने सामग्री सहज रूपमा उपलब्ध गराउँछ । पहिले जस्तो खोजीमा समय खर्च गर्नुपर्दैन; एल्गोरिदमले नै हाम्रो रुचिअनुसार सामग्री प्रस्तुत गर्छ । यसले नयाँ प्रतिभा र सर्जकलाई पनि अवसर दिएको छ । आज कुनै सामान्य व्यक्ति पनि राम्रो सामग्रीका आधारमा छोटो समयमै लाखौं दर्शकसम्म पुग्न सक्छ । साथै, सूचना प्रवाहको गति पनि तीव्र भएको छ – आपतकालीन सूचना, सामाजिक अभियान वा जनचेतनामूलक सन्देशहरू छिटो फैलिन सक्छन् ।

तर यसका नकारात्मक प्रभावहरू गहिरा र चिन्ताजनक पनि छन् । एल्गोरिदमले प्रायः हामीलाई मनपर्ने वा पहिले देखेका जस्तै सामग्री मात्र देखाउँछ, जसले गर्दा हामी ‘प्रतिध्वनि कक्ष’ (echo chamber) भित्र सीमित हुन सक्छौं । फरक विचार, आलोचनात्मक दृष्टिकोण वा वैकल्पिक तथ्यहरू हाम्रो पहुँचबाट बाहिर जान सक्छन् । यसले समाजमा वैचारिक ध्रुवीकरण बढाउने खतरा निम्त्याउँछ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने, सामाजिक सञ्जालमार्फत फैलिएका अफवाह, भ्रामक समाचार वा राजनीतिक रूपमा प्रेरित सामग्रीहरूले समाजमा भ्रम र तनाव सिर्जना गरेका उदाहरणहरू प्रशस्त छन् । कतिपय अवस्थामा झुटा सूचना सत्यभन्दा छिटो फैलिन्छन्, किनकि ती भावनात्मक र सनसनीपूर्ण हुन्छन् । एल्गोरिदमले यस्तै सामग्रीलाई बढी प्राथमिकता दिन सक्छ, जसले गर्दा गलत सूचना झनै व्यापक रूपमा फैलिन्छ ।

अर्कोतर्फ, एल्गोरिदमले मानिसमा लत (addiction) सिर्जना गर्ने वातावरण पनि बनाउँछ । श्रब्य-दृष्यका अनेक अनेक सुविधाहरूले  प्रयोगकर्तालाई निरन्तर प्लेटफर्ममा बाँधेर राख्छन् । यसले समयको दुरुपयोग मात्र होइन, मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ । अरूसँग निरन्तर तुलना गर्ने प्रवृत्ति, लाइक र प्रतिक्रियामा निर्भरता, र डिजिटल तनाव बढ्दै जान सक्छ ।

यसरी हेर्दा, एल्गोरिदम केवल एउटा प्रविधि मात्र होइन; यो आजको समाजमा विचार, सूचना र व्यवहारलाई प्रभावित गर्ने शक्तिशाली माध्यम बनेको छ । यसले हामीलाई के देखाउने मात्र होइन, अप्रत्यक्ष रूपमा हामीले के सोच्ने, के विश्वास गर्ने र कसरी प्रतिक्रिया दिने भन्ने कुरामा पनि प्रभाव पार्छ ।

त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु अत्यन्त आवश्यक छ । हामीले देखेको हरेक सामग्री सत्य नहुन सक्छन् भन्ने बुझ्नुपर्छ । फरक-फरक स्रोतबाट जानकारी लिनु, आलोचनात्मक सोच विकास गर्नु, र आफ्नै समय तथा ध्यानको नियन्त्रण आफैंसँग राख्नु आजको आवश्यकता हो।

अन्ततः, हामी केवल एल्गोरिदमका प्रयोगकर्ता मात्र होइनौं, सचेत नागरिक पनि हौं । यदि हामीले डिजिटल संसारलाई बुझेर जिम्मेवारीपूर्वक प्रयोग गर्न सकेनौं भने एल्गोरिदमले हामीलाई नियन्त्रण गर्नेछ । तर, यदि हामी सचेत भयौं भने यही प्रविधि हाम्रो सशक्तिकरणको माध्यम पनि बन्न सक्छ ।