परिवर्तनको अर्थ रगत बगाउनु मात्र होइन, बरु स्वाभिमानका साथ बाँच्न पाउनु र राष्ट्रको विकासमा सहभागी हुनु नै वास्तविक क्रान्ति हो । नेपालीहरू अब शहीद बन्नका लागि होइन, समृद्ध देशमा सम्मानित नागरिक बनेर बाँच्नका लागि जन्मिनुपर्छ ।
✍ दीपक राज जोशी
नेपालको प्रजातान्त्रिक इतिहास नागरिकहरूको रगत र बलिदानको जगमा उभिएको छ । चाहे त्यो १९०३ को कोत पर्व र भण्डारखाल पर्व होस् जहाँ सत्ता कब्जाका लागि भएको सबैभन्दा ठूलो रक्तपातमा करिब ४२३ (दुवै गरेर) जनाको हत्या गरियो । २०२९ को सुखानी झापा हत्याकाण्ड जहाँ पाँच जना क्रान्तिकारी योद्धा लाई जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर हत्या गरिएको थियो । २०४० को पिस्कर हत्याकाण्ड जहाँ सिन्धुपाल्चोकको पिस्करमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला तत्कालीन शासकले चलाएको गोलीबाट स्थानीय किसान र सर्वसाधारणको हत्या गरिएको थियो ।
वि.सं. २०३६ को छिन्ताङ हत्याकाण्डमा १५ जनाको हत्यादेखि २०३६ कै विद्यार्थी आन्दोलनमा ११ जनाको सहादतसम्मको यात्राले दमनको क्रुर रूप देखाउँछ। २०४६ को जनआन्दोलनमा झण्डै ५० र २०६२/६३ को आन्दोलनमा १८ जनाले ज्यान गुमाए । दरबार हत्याकाण्डमा १० जनाको हत्या भयो । थारुहट आन्दोलन ९ जनाको हत्या भयो । यसैगरी, विभिन्न चरणमा भएका मधेश आन्दोलनहरूमा ८० भन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । राणाकालका चार शहीददेखि पञ्चायत र गणतन्त्रसम्मका यी तथ्याङ्कले नेपाली राजनीतिमा हिंसाको गहिरो र घातक प्रभावलाई पुष्टि गर्छन् ।
हाम्रो राजनीतिक इतिहास बलिदानको गाथाले भरिएको छ । व्यवस्था बदल्न र नागरिकका अधिकार स्थापित गर्न हजारौँ नेपालीले आफ्नो रगत बगाएका छन् । तर बिडम्बना, दश वर्ष लामो जनयुद्धमा १७ हजारभन्दा बढी शहीदको बलिदानीबाट प्राप्त परिवर्तनले समेत आम जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेन । हिजो १७ हजारको रगतले ल्याएको परिवर्तनको राप नसकिँदै, फेरि अर्को लहरमा २४ घण्टाभित्रै जेन जी को आन्दोलनमा ७४ जनाले ज्यान गुमाउनुपर्ने अवस्था आउनु राष्ट्रका लागि दुःखद र गम्भीर विषय हो । यसले एउटा टड्कारो प्रश्न खडा गरेको छ- के परिवर्तनको एक मात्र मूल्य रगत नै हो त ? यी सबै घटनाहरूको सूची हेर्दा एउटै निष्कर्ष निस्कन्छ: नेपालको हरेक राजनीतिक उपलब्धिमा नागरिकको लास सिँढी बनेको छ ।
तिनीहरूको बलिदान केवल सत्ता परिवर्तनको लागि मात्र थिएन, तर न्याय, समानता, समावेशिता र नागरिकको अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियो । जनताले आशा गरे अब राज्य नागरिकको पीडाप्रति संवेदनशील हुनेछ, सत्ता बन्दुक र ब्यानर होइन, विधि र विवेकबाट चल्नेछ । शहीदको रगतले एउटा दीर्घकालीन रूपान्तरण ल्याउने विश्वास थियो । तर, दशकभन्दा बढी समय बित्दा त्यो सपना पुरा हुन सकेन । शहीदको बलिदानले ल्याएको परिवर्तन स्थायी र संस्थागत रूपमा स्थापित हुन सकेन । राजनीतिक नेतृत्वमा आएको पुनरावृत्ति, सत्ता-भागबन्डा, व्यक्तिगत स्वार्थ र अराजकता शक्तिशाली बने । जनताले देखेका न्याय, समावेशिता र विकासका अवसरहरू स्थिर हुन सकेनन् । यसले दर्शाउँछ कि बलिदानले मात्रै परिवर्तनको ग्यारेन्टी दिन सक्दैन; परिवर्तनका लागि सुधार, जवाफदेहिता र संस्थागत मजबूती आवश्यक छ ।
२४ घण्टाभित्रै ७४ जनाको बलिदानले आएको परिवर्तनले देशलाई कुन दिशामा लैजाने हो अझै देखिन बाँकी छ । यसले स्पष्ट देखाउँछ कि बलिदानको मात्र प्रयोगले दीर्घकालीन रूपान्तरण सुनिश्चित हुँदैन । यदि संरचना, नीति र नैतिक जिम्मेवारीमा ध्यान नदिइएको खण्डमा, परिवर्तन केवल सिमेन्ट र शिलाबाट बनेको भवनजस्तो सतही र अस्थायी हुनेछ । अहिलेसम्मका हरेक ठुला परिवर्तनहरूले शहीदको रगतलाई भर्याङ बनाएर केही निश्चित पात्रहरूलाई सत्ताको शिखरमा त पुर्याए, तर ती शहीदका सपना र उनीहरूको परिवारको आँसुको उचित सम्मान कहिल्यै भएन ।
सबैभन्दा गहिरो चुनौती भनेको नेपाली समाजले परिवर्तनलाई अझै पनि बलिदानको रगत सँग जोडेर बुझ्ने प्रवृत्ति हो । हामी अचेल परिवर्तनको मूल्य मापन गर्दा केवल बलिदान वा संघर्ष देख्छौं, तर नेतृत्व र नागरिक जिम्मेवारीमा ध्यान कम दिन्छौं । परिणामस्वरूप, नागरिकको जीवन जोखिममा पर्ने, रगतको मूल्य प्रयोग गरी मात्रै राजनीतिक जीत हासिल हुने जस्तो स्थिति बनिरहेको छ ।
नेपालीहरू देशका लागि ज्यान गुमाउन मात्र जन्मिएका हुन् भन्ने पुरानो मान्यतालाई चिर्दै, अब आफ्नै भूमिमा पसिना बगाएर सम्मानित र समृद्ध नागरिकका रूपमा बाँच्न पाउने वातावरण निर्माण हुनुपर्छ ।
तर लोकतन्त्रमा परिवर्तनको मूल्य नागरिकको जीवन हुनु हुँदैन । परिवर्तनको मूल्य नेतृत्वको जवाफदेहिता, विधिको शासन, नीतिगत सुधार र जनताको सक्रिय सहभागिता हुनुपर्छ । अब प्रश्न उठ्छ के नेपाली समाज फेरि अर्को परिवर्तनका नाममा शहीद स्वीकार्न तयार छ ? कि हामी अब त्यस्तो राजनीतिक संस्कृतिको माग गर्नेछौं जहाँ परिवर्तन बहस, मतपत्र, नीति र संस्थागत सुधारबाट हुन्छ ?
हामीले सिक्नुपर्छ कि शहीदको सम्मान भनेको नयाँ-नयाँ शहीद थप्नु होइन । तिनीहरूले देखाएको सपना पूरा गर्नु हो । बलिदानले केवल तत्कालीन परिणाम ल्याउन सक्छ, तर दीर्घकालीन स्थायित्व र विकासका लागि विवेकपूर्ण नेतृत्व, नीतिगत सुधार र संस्थागत क्षमता आवश्यक छ ।
नेपालले इतिहासबाट सिक्नुपर्छ । हामीले अब बदलिनु पर्नेछ, बलिदानको राजनीतिक अर्थबाट सोच बदल्नु पर्छ । परिवर्तन अब रगत, हिंसा वा डरको माध्यमबाट होइन, सहमति, नेतृत्व र जनताको सचेत सहभागिताबाट हुनुपर्छ । यदि हामीले यही पाठ सिक्यौं भने भविष्यमा कुनै पनि परिवर्तनका लागि फेरि नेपालीहरू शहीद बन्नु पर्दैन।साथै, नयाँ शक्ति र युवा नेतृत्वको भूमिका यहाँ निर्णायक छ । उनीहरूले केवल पुराना दलहरूको आलोचना गरेर होइन, व्यवहार र नीति मार्फत फरक देखाउनुपर्छ । जनताको विश्वास जित्नको लागि कार्य-सम्पादन, पारदर्शिता, र समावेशिता देखाउन आवश्यक छ । यदि यी आधारमा काम भयो भने, परिवर्तनको नाममा बलिदानको आवश्यकता समाप्त हुनेछ ।
इतिहास साक्षी छ, रगतले व्यवस्था त बदलिन्छ तर अवस्था बदल्न विवेक, जिम्मेवारी, र जनताको सक्रिय सहभागिता हुनुपर्छ । हामीले शहीदका बलिदानलाई सम्झेर मात्र होइन, तिनीहरूको सपना पूरा गरेर मात्रै सम्मान दिन सक्छौं। नेपालीहरूले अब इतिहासको पाठ बिर्सिनु हुँदैन । फेरि कुनै परिवर्तनका नाममा बलिदानको मूल्य चुकाउन नपरोस् । यही हामी सबैको साझा राजनीतिक चेतना र जिम्मेवारी हुनुपर्छ। नेपालको भविष्यको लागि, परिवर्तनको मार्ग अब रगतबाट होइन, नेतृत्व र नागरिक जिम्मेवारीबाट तय हुनु पर्छ । यही नै हाम्रो समाजको वास्तविक प्रगति, स्थायित्व, र लोकतन्त्रको बल हो ।
अबको राजनीतिको परिवर्तन भौतिक युद्ध वा हिंसात्मक आन्दोलनबाट होइन, बरु नागरिकको सचेत मतदान र नैतिक इमानदारिताबाट हुनुपर्छ । इतिहासमा बन्दुक र ढुङ्गामुढाले व्यवस्था त बदल्यो, तर जनताको अवस्था र प्रवृत्तिको खासै सुधार हुन सकेन । त्यसैले, अबको क्रान्ति निर्वाचनको माध्यमबाट योग्य र नैतिक नेतृत्व चयन गर्ने दिशामा केन्द्रित हुनुपर्छ, जसले विधिको शासन र सुशासनलाई प्राथमिकता देओस् ।
दोस्रो महत्त्वपूर्ण पक्ष भनेको शहीदको बलिदानलाई सम्मान गर्दै अबको पुस्तालाई मृत्यु होइन, जीवनको ग्यारेन्टी दिनु हो । नेपालीहरू देशका लागि ज्यान गुमाउन मात्र जन्मिएका हुन् भन्ने पुरानो मान्यतालाई चिर्दै, अब आफ्नै भूमिमा पसिना बगाएर सम्मानित र समृद्ध नागरिकका रूपमा बाँच्न पाउने वातावरण निर्माण हुनुपर्छ । परिवर्तनको अर्थ रगत बगाउनु मात्र होइन, बरु स्वाभिमानका साथ बाँच्न पाउनु र राष्ट्रको विकासमा सहभागी हुनु नै वास्तविक क्रान्ति हो । नेपालीहरू अब शहीद बन्नका लागि होइन, समृद्ध देशमा सम्मानित नागरिक बनेर बाँच्नका लागि जन्मिनुपर्छ ।
प्रतिक्रिया