अमिशा पराजुलीको राजनीतिक आवाजमाथिको बलात्कार !

अमिशा पराजुलीको राजनीतिक आवाजमाथिको बलात्कार !


अमिशा पराजुलीविरुद्धको सुनियोजित अभियानलाई हामीले केवल सामाजिक सञ्जालमा गरिएको विवाद वा लैंगिक हिंसाका मानक सूचकहरुको साँघुरो लेन्सबाट हेर्नु भनेको यस क्षणको गम्भीरतालाई मौलिक रूपमा गलत बुझ्नु हो । उनिमाथि अनेक आयामहरु (लिङ्ग, उमेर, राजनीतिक आस्था, युवा पहिचान)लाई एकैसाथ जोडेर डिजिटल हमला भइरहेको छ । त्यसैले यो साधारण लैंगिक हिंसा मात्र होइन, न त साधारण राजनीतिक आक्रमण मात्र हो । यो बहु-आयामिक राजनीतिक हिंसा हो, जसले उनको राजनीतिक एजेन्सी (आफ्नो मत राख्ने र सार्वजनिक रूपमा बोल्ने अधिकार) लाई नै नष्ट गर्न खोजेको छ र यो सब चुनाबमा पाएको अप्रत्यासित बिजयको उन्मादमा भैरहेको छ ।

अमिशा पराजुलीलाई मात्र एक किशोरी भएको कारणले होइन, किशोरी भएर पनि विपरीत राजनीतिक मत राख्ने साहस गरेकी कारणले लक्षित बनाइएको हो । गत चुनाबपछिको राजनीतिक वातावरणमा लोकप्रियताको अहंकार र नीलो घण्टीको उन्मादले भरिएको छ, जसले विपक्षी वा फरक मत राख्नेहरूमाथि आक्रमणलाई तीव्र बनाइएको छ । अमिशा ठ्याक्कै त्यही फरक मत राख्ने युवती भएकोले शिकार बनाइएकी हुन् ।

डिजिटल गिलोटिन

यौनजन्य आतंक र चरित्र हत्यालाई हतियार बनाएर, उनका आक्रमणकारीहरूले उनले प्रतिनिधित्व गर्ने विचारधाराहरूविरुद्ध राजनीतिक बदलाको खेल सञ्चालन गरिरहेका मात्र होइनन्, उनीहरुले विशेष गरी केपी ओली जस्ता परम्परागत नेतृत्वको कक्षमा रहेकाहरूलाई लक्षित पनि गरका हुन् । यस डिजिटल गिलोटिन (गिलोटिन एउटा यन्त्र हो जसलाई टाउको काटेर मृत्युदण्ड दिन प्रयोग गरिन्छ) को अन्तिम लक्ष्य केवल एक व्यक्तिलाई हानि पुर्‍याउनु होइन, तर एउटा उदाहरण स्थापित गर्नु हो, जसले भन्छ- उनीहरुसंग असहमत हुने गरि नेपालमा एक महिलाले राजनीतिक प्रदर्शनमा भाग लिँदाको मूल्य वा उनीहरु सहमत नहुने धारणा व्यक्त गर्नु उनको सुरक्षा र प्रतिष्ठाको पूर्ण विनाश हो । तर, यो अमिशामाथिको निजी आक्रमण होइन; यो हाम्रो लोकतान्त्रिक बहुलवादको जगमाथि गरिएको सार्वजनिक आक्रमण हो । यसर्थ नि:शन्देह भन्न सकिन्छ कि लौंगिक हिंशा एक उपकरणमात्र हो राजनीतिक रुपमा बदला लिनु मुख्य उद्देश्य हो ।

साहसी हिंसा :

अमिशा पराजुलीले एक टिभी अन्तर्वार्तामा भनेकी छन् कि ती दुष्ट विचार भएका मानिसहरूले उनलाई ‘हाम्रो सरकार छ, त्यसैले तैंले उजुरी दर्ता गरे पनि केही गर्न सक्दिनस्’ । उनको विचारमा यस्तो कार्य उनीहरुले ‘वास्तविक परिचयपत्रसहित, स्थानसहित, आफ्नै छोरी र श्रीमतीको फोटोसमेतको परिचयपत्रसहित भनेका छन्, नक्कली एकाउन्टबाट होइन’ !

हामीले सामाजिक सन्जालहरुमा जान्दै र भोग्दै आएको कुरा के थियो भने ऐतिहासिक रूपमा, ‘ट्रोल’हरू नक्कली नाम र एनिमे अवतारहरूपछाडि लुकेका हुन्छन्, तर जब ​​आक्रमणकारीहरूले आफ्नो परिवारको फोटोसहित वास्तविक आईडीहरू प्रयोग गर्छन्, यसले धेरै खतरनाक कुराहरू संकेत गर्दछ-

पहिलो, उनको यो प्रतिक्रियाबाट स्पस्ट हुन्छ कि शायद अमिशा पराजुलीविरुद्धको धर्मयुद्धको सबैभन्दा डरलाग्दो पक्ष भनेको लाजको अभाव हो । हामी अब गुमनाम ‘बट’हरूसँग व्यवहार गरिरहेका छैनौं । यी वास्तविक नाम, वास्तविक ठेगाना र प्रोफाइल तस्बिर भएका पुरुषहरू हुन् जसमा आफ्नै छोरी र पत्नीहरू छन् । आफ्नै छोरीलाई साक्षी राखेर ति महिला र पुरुषहरु अर्को छोरीलाइ बलात्कारको धम्की  दिँदै छन्, यो एक घिनलाग्दो विडम्बना हो ।

दोश्रो, यो केवल ती किशोरीको मात्र समस्या होइन, यो त आफैंलाई ऐनामा हेर्दा देखिने हाम्रो समाजको अनुहार हो । जब छिमेकीहरूले आफ्नो असली पहिचान प्रयोग गरेर दिनको उज्यालोमा हिंसाको धम्की दिन थाल्छन् तब बुझ्नुपर्छ कि उनीहरूलाई कानुनको डर छैन, समाजले बहिष्कार गर्छ कि भन्ने चिन्ता पनि छैन । र उनीहरूलाई लाग्छ कि आफ्नो राजनीतिक समूहले उनीहरूलाई जोगाउँछ, तब बुझ्नुपर्छ कि नेपालमा कानुन र सामाजिक मूल्यको डर समाप्त भइसकेको छ । हामीले एकअर्कालाई सम्मान गर्ने, कानुन पालना गर्ने र फरक मत राख्ने अधिकारलाई स्वीकार गर्ने सामाजिक सम्झौता अब टुटिसकेको छ ।

र अर्को, यस्तो धम्कीबाट  तिनीहरू गृह मन्त्रालय र साइबर ब्यूरोलाई चुनौती दिइरहेका छन् । तिनीहरू दाबी गरिरहेका छन् कि वर्तमान प्रशासन अपराधीहरूको लागि रक्षाकवच  हो । यदि राज्यले यी व्यक्तिहरूलाई पक्राउ गर्दैन भने, जसले आफ्नै नाम, अनुहार र स्थानहरू प्रदान गरेका छन्, राज्यले आक्रमणकारीहरूलाई प्रभावकारी रूपमा सही प्रमाणित गरिरहेको छ । यस अवस्थामा, अधिकारीहरूको मौनता यो हिंसामा उनीहरुको एक प्रकारको संलग्नता हो ।

बौद्धिक बहसमा यौनिक आतंक :

यो अमिशा पराजुलीविरुद्धको आक्रमणमा प्रयोग गरिएको हतियारले एउटा योजनाबद्ध रणनीति देखाउँछ। उनीमाथि बौद्धिक बहस वा तर्कको सट्टा यौनिक आतंक प्रयोग गरिएको छ । यो बहु-आयामिक राजनीतिक हिंसाको हिस्सा हो । जब कुनै पुरुषले पराजित भएको दल वा विवादास्पद नेता केपी शर्मा ओलीको समर्थन गर्छ, तब आक्रमण सामान्यतया उसको काम, भ्रष्टाचार, पुरानोपन वा राजनीतिक असान्दर्भिकतामा केन्द्रित हुन्थ्यो । आक्रमण उनको सार्वजनिक छविमा नै सीमित रहन्थ्यो । तर अमिशाजस्ती किशोरीले फरक राजनीतिक मत राख्दा भने उनको लागि सजाय तुरुन्तै बौद्धिक बहसबाट उनको शरीरतिर सारियो । बलात्कार र मृत्युको धम्की दिएर पितृसत्ताको सबैभन्दा शक्तिशाली हतियार प्रयोग गर्छन् । यो आक्रमण संयोग होइन, यो जानाजानी गरिएको प्रयास हो । यो घटनाले प्रमाणित गर्छ कि गत फागुन २१ पछिको नीलो घण्टी उन्माद मुख्य कारण हो ।

अमिशा पराजुलीले आफैं एउटा अन्तर्वार्तामा खुलासा गरेकी छन् कि उनलाई बलात्कारको धम्की, मृत्युको धम्की र डिजिटल दुर्व्यवहार गर्नेहरूको फेसबुक र टिकटक प्रोफाइलमा बालेन साह, रवि लामिछाने र नीलो घण्टीका तस्बिरहरू सजाइएका छन् । यो तथ्यले स्पष्ट पार्छ कि आक्रमणकारीहरू साधारण ट्रोल होइनन्, उनीहरू नीलो घण्टीको उन्मादमा लागेका राजनीतिक कार्यकर्ता हुन् । उनीहरूले आफ्नो राजनीतिक पहिचान खुलस्त देखाएर अमिशालाई लक्षित गरेका छन्, किनकि उनी ओली र एमालेप्रति सहानुभूति राख्छिन् । यो नीलो घण्टी युगमा असहमतिको आवाज दबाउने नयाँ रणनीतिक हिंसा हो । विपक्षी दलका असहमत आवाजहरूलाई पूर्ण रूपमा मौन पार्ने रणनीति हो । अमिशाको यौनिक सुरक्षालाई धम्की दिएर र उनको चरित्र हत्या गरेर उनीहरूले राजनीतिक सहभागिताको मूल्य यति महँगो बनाउन खोजेका छन् कि उनी र उनी जस्तै अरू कुनै पनि महिलाले फेरि यस्तो साहस नगरोस् ।

तर्कको आधारभूत नियम :

तर्कको आधारभूत नियम के हो भने, कुनै पनि दाबीको जवाफ तर्क र प्रमाणबाट दिनुपर्छ, व्यक्तिगत गाली वा आक्रमणबाट होइन । अमिशा पराजुलीले सडकमा उभिएर ‘केपी शर्मा ओलीको पक्राउ असंवैधानिक र राजनीतिक प्रतिशोध हो’ भनिन् भने उनीहरूले तर्कपूर्ण जवाफ दिन सक्थे, जस्तो कि ‘ओलीको पक्राउ कानुनी हो किनकि यस्तो प्रमाण छ’ वा ‘एमालेको यो दाबी गलत छ किनकि…’ । तर उनीहरूले त्यसो गरेनन् । उनीहरूले अमिशाको राजनीतिक अभिव्यक्तिमाथि बहस गर्नुभन्दा उनको अबोध किशोरीस्वरूपलाई लक्षित गर्दै यौनिक धम्की, चरित्रहत्या र बलात्कारको हतियार प्रयोग गरेर आक्रमण गरे । यो सन्देशको सट्टा सन्देशवाहकमाथि हमला गर्ने तर्कहीन तरिका हो । यो प्रतिक्रियाले एउटा कुरा स्पष्ट पार्छ- विरोधीहरूको तर्क यति कमजोर छ कि एउटी युवतीको साधारण राजनीतिक आवाजले नै उनीहरूलाई यति डर र आक्रोश उत्पन्न गर्छ । यदि उनीहरूको पक्ष बलियो र तर्कपूर्ण भएको भए, अमिशाको अभिव्यक्तिले उनीहरूलाई यति आत्तिनु पर्ने थिएन ।

रंग मात्र फरक :

फागुनको निर्वाचनपछि ‘नयाँ नेपाल’ को उदय भयो भनेर उत्सव मनाइँदै छ । यसलाई पुरानो जकडिएको राजनीतिबाट मुक्तिको रूपमा प्रस्तुत गरिएको छ । तर अमिशा पराजुलीजस्ता किशोरीमाथि डिजिटल रूपमा जे भइरहेको छ, त्यसले देखाउँछ कि नीलो घण्टीको लहरले पुरानो रक्सी मात्र नयाँ बोतलमा हालेको छ । यदि यो नयाँ राजनीतिक युग जनताको जितको नाममा फरक मत राख्ने महिलामाथि डिजिटल बुलिङ, चरित्र हत्या र यौनिक धम्की दिने कामलाई जायज ठान्दछ भने यो परिवर्तन दुषितप्राय: हुनेछ । एउटा दलले आफूलाई नयाँ भनेर गर्व गर्छ, तर महिलाको आवाज दबाउन यौनिक आतंक प्रयोग गर्छ भने त्यो क्रान्ति होइन, यो प्रतिगमन हो ।

जब भीडले आफ्नो राजनीतिक जितको उत्सव मनाउन एउटी महिलाको सुरक्षालाई धम्की दिन थाल्छ, तब उनीहरू समावेशी भविष्य निर्माण गर्दै छैनन्,  उनीहरू पुरानै संरचनामाथि फरक रङको झण्डा मात्र फहराइरहेका छन् । साँच्चैको राजनीतिक सुधार नेपालमा मतगणना वा पुराना दलको हारले मात्र मापन गर्न सकिँदैन । यसलाई अल्पमतको आवाजको सुरक्षा र महिलाको सम्मानले मापन गर्नुपर्छ । डिजिटल संसारलाई महिलाहरूका लागि शिकार मैदान बनिरहन दिनु भनेको स्वीकार गर्नु हो कि यो ‘नयाँ नेपाल’मा पनि मात्र दमनकर्ताको नाम र पहिचान फेरिएको छ । यदि यो बहु-आयामिक हिंसालाई पूर्ण रूपमा अस्वीकार नगर्ने हो भने हामी डिजिटल भीडतन्त्रमा फस्ने खतरा छ, जुन विषाक्त र अलोकतान्त्रिक छ ।