सरकार पार्टीले चलाउने कि प्रधानमन्त्रीले ?

सरकार पार्टीले चलाउने कि प्रधानमन्त्रीले ?


नेपालमा प्रजातन्त्र स्थापना भएपछिका निरन्तर विवादको मुद्दा- ‘राज्य सञ्चालन प्रक्रियामा पार्टीको निर्देशन प्रधान रहने या सरकार स्वयम् नै राजकाजमा निर्णायक रहने’ भन्ने हो । २०४८ सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेसलाई बहुमत प्राप्त भएको थियो । त्यसबेला कारणवश गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्ने स्थिति देखापऱ्यो, उहाँ बन्नुभयो र प्रधानमन्त्रीका रूपमा कोइरालाले स्वतन्त्र ढङ्गले काम गर्न पनि शुरु गर्नुभएको थियो । तर, कोइरालाको कार्यशैलीप्रति नेताहरू गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको असहमति प्रकट हुन थाल्यो ।

उहाँहरू, गिरिजाप्रसादले पार्टीलाई पूरै उपेक्षा गरेर काम गरिरहेको ठान्नुहुन्थ्यो र भन्ने गर्नुहुन्थ्यो- ‘पार्टीको निर्देशनअनुसार सरकार चल्नुपर्छ ।’ गिरिजाप्रसाद कोइरालाचाहिँ सरकार आफैं स्वायत्त निकाय भएकोले यसमा कसैको अङ्कुश लाग्न नमिल्ने भन्ने धारणा राख्ने गर्नुहुन्थ्यो । तर, २०५२ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपश्चात कोइरालाको बोली फेरियो । आफू पार्टी सभापति बनेपछि कोइरालाले पनि ‘पार्टीको निर्देशनअनुरुप सरकार चल्नुपर्छ’ भन्न थाल्नुभयो । २०५६ को संसदीय निर्वाचनपश्चात् प्रधानमन्त्री बन्नुभएका कृष्णप्रसाद भट्टराईमाथि पनि पार्टीको निर्देशनअनुरुप सरकार नचलेको आरोप कोइरालाले लगाउनुभएको थियो । त्यस्तै, २०५८ श्रावणमा शेरबहादुर देउवा नेतृत्वमा गठित सरकारमाथि पनि कोइरालाको त्यस्तै टिप्पणी र आरोप थियो । पार्टी र सरकारबीच उत्पन्न मतभेदका कारण २०५९ सालमा नेपाली काङ्ग्रेस विभाजित भएको थियो ।

काङ्ग्रेसमा मात्र होइन एमालेमा पनि यस्तै किसिमको रोग देखापऱ्यो । खासगरी २०७४ मङ्सीरको आम निर्वाचनपश्चात् केपी ओली नेतृत्वमा बनेको नेकपाको सरकारमा पनि त्यस्तै नियति दोहोरियो । प्रचण्ड र माधव नेपालले केपीमाथि पार्टीको निर्देशनलाई उपेक्षा गरेको आरोप लगाए । यही विवाद उत्कर्षमा पुगेपछि (२०७७ सालमा) संसद् विघटन र पार्टी विभाजनसम्मको दुःखद स्थिति एमालेले ब्यहोर्नु पऱ्यो । इतिहासमा बहुमतप्राप्त सरकार नचल्नु, त्यस्तो सरकारले कार्यकाल पूरा गर्न नपाउनु र पार्टी विभाजन हुनुको मुख्य कारण नै सरकार सञ्चालनका क्रममा पार्टी र सरकारको नेतृत्वबीच उत्पन्न मतभिन्नता बन्दै आएको छ र भविष्यमा पनि यस्तै विवादको झमेला नेपाली राजनीतिले ब्यहोर्नुपर्ने सम्भावना छ ।

आफू पार्टी प्रमुख रहँदा पार्टीको निर्देशनअनुरुप सरकार सञ्चालन हुनुपर्छ भन्ने र त्यही ब्यक्ति सरकार प्रमुखको भूमिकामा रहँदा सरकार आफैं सार्वभौम भएकोले कुनै अर्को निकायको निर्देशन या अङ्कुश नलाग्ने ठान्ने प्रवृत्ति नेपाली राजनीतिक नेतृत्वमा समान र स्थायी देखिएको छ । मुलुकमा राजनीतिक अस्थिरताको एउटा प्रमुख कारणका रूपमा नेतृत्वको प्रवृत्तिगत समस्यालाई पनि मान्न सकिन्छ ।

वास्तवमा सरकार सञ्चालनका विधिवत राजनीतिक काइदा के हुन् ? यो हामी सबैको जिज्ञासाको विषय हो । सामान्यतः सरकार सञ्चालन संविधान र कानूनअनुरुप नै हुने हो, तर अभ्यासमा सरकार कसरी सञ्चालित हुने भन्ने कुराको निर्धारण त्यसको उत्पत्ति अर्थात् गठन प्रक्रियाले गर्दछ । निरङ्कुश राजतन्त्रमा राजा आफैप्रति उत्तरदायी भएर कार्य सञ्चालन गर्ने गर्दछन् भने सैनिक शासन भएका मुलुकमा पनि शासक आफै स्वतन्त्र ढङ्गले कार्य गर्दछन् । तर कम्युनिष्ट मुलुकमा पार्टीको अधिनायकत्वलाई सैद्धान्तिक रूपमै स्वीकार गरिएको र पार्टीको भूमिका एवम् जिम्मेवारीलाई राज्य संयन्त्रको अङ्ग अङ्गमा स्थापित गरेर सर्बोपरी तुल्याइएको हुन्छ । पार्टीको भूमिका राजनीतिमा मात्र नभएर सेना, प्रहरी, कुटनीतिक निकाय, न्यायालय र कर्मचारी प्रशासनमा समेत विधिवत स्थापित गरेर पार्टी शासनको अद्भूत नमूना कम्युनिष्टहरूले प्रस्तुत गरिरहेका हुन्छन् ।

त्यसो त कम्युनिष्टहरू आफूलाई र आफूलाई मात्र जनताको हिमायती ठान्दछन् । कोही कम्युनिष्ट बन्नु भनेकै स्वतः जनपक्षीय बन्नु हो भन्ने उनीहरूको दाबी रहने गर्दछ । कम्युनिष्ट भैसकेपछि उसले जनताको प्रतिनिधित्व स्वतः गरिरहेको हुन्छ, त्यसैले कुनै आम निर्वाचनको स्वाङ रचेर जनप्रतिनिधि चयन गरिरहनु पर्दैन भन्ने कम्युनिष्टहरूको दार्शनिक मान्यता हुन्छ । त्यसैले राज्यका हरेक अङ्गमा कम्युनिष्ट पार्टीको सहभागिता, नियन्त्रण र अङ्कुश रहनुलाई उनीहरूले स्वभाविक र जायज ठानिरहेका हुन्छन् । भारत (पश्चिम बङ्गाल)मा ज्योति बसुले आम निर्वाचनमार्फत सत्तामा पुग्ने र शासन गर्ने अभ्यास गरेका थिए, त्यसलाई अपवादको घटना/सन्दर्भ मानियो । नेपालमा मदन भण्डारीले प्रजातान्त्रिक प्रक्रियाद्वारा नै कम्युनिष्टहरू शासनमा पुग्न र पुगेर काम गर्न सक्छन् भन्ने मान्यतालाई सैद्धान्तिक रूपले नै स्थापित गर्नुभएको हो । कम्युनिष्ट पार्टीको एकदलीय अधिनायकत्वको विचार दर्शनबाट दीक्षित कित्तालाई प्रजातान्त्रिक प्रक्रियामा समाहित गर्नु सामान्य कुरा थिएन, त्यो पनि संवैधानिक राजतन्त्रसहित । कम्युनिष्ट आन्दोलनभित्रका यी विशेष घटना हुन् । तथापि, कम्युनिष्ट दर्शनको आधारभूत मान्यता भनेको शासनमा कम्युनिष्ट आधिपत्य नै हो, अरु कसैको त्यहाँ चल्दैन ।

तर, प्रजातन्त्रले स्थापित गरेका हरेक मान्यता विशिष्ट छन् । प्रजातन्त्रमा निश्चित अवधिका निम्ति आम जनताले निर्वाचनमार्फत् आफ्नो प्रतिनिधि चुन्दछन् । विश्वका अनेक मुलुकमा प्रजातन्त्रको अभ्यास फरक ढङ्गले भइरहेका भएपनि यसको सारमा अन्तर हुँदैन । आफ्नो प्रतिनिधि आफैले रोज्न पाउनु नै प्रजातन्त्र हो भन्ने बुझाइ आम मानिसमा हुन्छ । तर त्यतिमात्र होइन प्रजातन्त्र, चुनिएको सरकार सञ्चालन हुने र असमयमै (अर्थात् कार्यकाल पूरा नहुँदै) सरकार विस्थापित गर्न या बदल्न परे त्यसका निम्तिसमेत वैधानिक ब्यवस्था गरिने प्रणालीको नाम हो प्रजातन्त्र । सरकार बदल्नका निम्ति जनताले सडकमा उत्रिएर कुनै विध्वङ्श या क्रान्तिको आह्वान गर्नु नपरोस्, विधिसम्मत र शान्तिपूर्ण ढङ्गले नै परिवर्तन सुनिश्चित होस् भनेर नै प्रजातन्त्रमा यस किसिमको ब्यवस्था गरिएको हो । चार या पाँच/पाँच वर्षमा निर्वाचनमार्फत ‘क्रान्ति गर्ने’ प्रणालीलाई नै प्रजातन्त्रका रूपमा बुझिन्छ । यदि प्रजातन्त्रमा पनि सरकार बदल्न सडक या बिध्वङ्श र हिंसाको सहारा लिइन्छ भने बुझ्नुपर्छ- ‘या त्यो देशमा वास्तविक प्रजातन्त्र छैन, या त्यहाँका मानिसले प्रजातन्त्रको ‘प’ पनि बुझेका छैनन् ।’

प्रजातन्त्रको अर्को सुन्दर पक्ष छ, जसलाई अभ्यासमा ल्याउन नसक्दा नेपालमा राजनीतिक अस्थीरताको स्थिरता कायम भइरहेको छ, त्यो के हो भने सरकारको सार्वभौमिकता । प्रजातन्त्रमा दलहरूले आफ्नो विचार, दर्शन, नीति, रणनीति, लक्ष, कार्यक्रम र गन्तव्य निर्धारण गर्दछन् । सोहीअनुरुप कार्यकर्ता र समर्थकहरूलाई प्रशिक्षित-दीक्षित गरी निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन आयोग अर्थात् राज्यलाई सहयोग गर्नु पार्टीको सामान्य कर्तब्य हुनेगर्छ । निर्वाचनमा आफ्ना उम्मेदवारहरूको विजयका निम्ति आवश्यक काम गरिसकेपछि पार्टीको सक्रिय भूमिका समाप्त हुन्छ । विधिवत चुनिएका जनप्रतिनिधिहरू त्यसपछि पार्टी विधानको नभइ संविधान र कानूनको अधिनस्थ हुन्छन् । उनीहरूको भूमिका सरकार गठनमा निर्णायक रहन्छ र संसद्बाट निर्वाचित प्रधानमन्त्रीले संविधानको अधिनस्थ रही संसद्मार्फत जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने हुन्छ । निर्वाचनपश्चात् पार्टीको भूमिका र जिम्मेवारी एकप्रकारले समाप्त हुन्छ, उसले समन्वयकारी या परामर्शदाताको भूमिकामा आफूलाई खुम्च्याउनु पर्ने हुन्छ/हो, यो नै प्रजातन्त्रको एउटा गहनतम् सुन्दर पक्ष हो । हामीकहाँ नेतृत्वले यही सुन्दरतालाई बुझेर तदनुरुप ब्यवहार गर्न नसकेको हुनाले पटक-पटक समस्या पैदा भएको हो ।

आमाले बच्चा जन्माउँछिन्, तर जन्माएकै कारण आमाले आफ्नो बच्चालाई जिन्दगीभर आफ्नो नियन्त्रणमा राख्न या हत्या गर्न पाउँदिनन्, पार्टी र सरकारको सम्बन्ध पनि त्यस्तै हो र हुनुपर्छ प्रजातन्त्रमा । नेपालमा २०६३ को परिवर्तनपश्चात् राजनीतिमा वामपन्थी कम्युनिष्टहरू विचार र ब्यवहार दुवै दृष्टिले हाबी भए, जसको असर/प्रभावका कारण काङ्ग्रेसको समेत वामपन्थीकरण हुन पुग्यो । वर्तमान संविधानलाई काङ्ग्रेस कम्युनिष्ट दुबैले स्वामित्व लिएका छन् र दुवैले आ-आफ्ना वैचारिक आस्था प्रतिबिम्बित भएको दस्ताबेजको रूपमा संविधानलाई लिएका छन् । जुन संविधानको चरित्र नै वामपन्थी छ । २०६३ पछि सर्वदलीय सहमतिमा स्थानीय तहदेखि केन्द्रसम्म राज्यका दैनिक काम हुन थाले । कानून र संविधानको सर्वोच्चतालाई चुनौती दिँदै दलीय सर्वोच्चताको अभ्यास जसरी गरियो, समस्या यसैले थपेको हो । दलको सर्वोच्चता कायम हुनुलाई कम्युनिष्टहरूले अवलम्बन गर्नु र त्यस्तो अभ्यासबाट कम्युनिष्टहरू खुशी हुनु स्वभाविक हो, आफूलाई प्रजातन्त्र पक्षधर दाबी गर्ने काङ्ग्रेसले समेत शासनमा दलीय सर्वोच्चताप्रति सहमति जनाउनु आश्चर्यको विषय हो ।

प्रधानमन्त्री र सरकारलाई संविधान र कानूनको सर्वोच्चता अवलम्बन गर्ने सम्पूर्ण छुट दिइनुपर्छ, त्यसो हुन नसके मुलुकमा विधिको शासन स्थापना गर्ने कुरा एउटा सपना मात्र सावित हुनेछ । विशेष अवस्थामा विशेष भूमिका निर्वाह गर्नेबाहेक राज्यसञ्चालनमा पार्टी र पार्टी नेतृत्वको नियमित भूमिका हुन सक्दैन । त्यसैले अमेरिका, बेलायत र भारत जस्ता तीन प्रकारको प्रजातान्त्रिक प्रणाली अवलम्बन गरिएका तिनै मुलुकमा सत्तारुढ पार्टीको अध्यक्ष को हो भन्ने कुरामा आम सरोकार रहँदैन र धेरैलाई पार्टी अध्यक्षको नाम पनि थाहा हुँदैन । ती मुलुकका पार्टीहरूले या पार्टी नेतृत्वले सरकारको काममा नियमित हस्तक्षेप गर्ने गर्दैनन् । हो, यही तथ्य र मर्मलाई आत्मसात गर्ने हो भने पार्टीको आन्तरिक कलहका कारण उत्पन्न हुनसक्ने अस्थीरताबाट नेपालले मूक्ति पाउन सक्छ, होइन भने जस्तो प्रकारको प्रजातन्त्र स्थापना गरिएपनि र जुन पार्टीलाई सत्ताको साँचो जिम्मा लगाएपनि मुलुक र जनता अस्थीरताको चक्रबाट मूक्त हुने सम्भावना रहने छैन । जय मातृभूमि !