काङ्ग्रेस एउटा इतिहास बोकेको पार्टी हो जसको अन्तर्राष्ट्रिय छवि र पहिचान छ – यस्तो दलसँग राजनीतिक प्रतिस्पर्धा गर्न पाउँदा अन्य दल पनि गर्व महसूस गर्छन् ! यस्तो काङ्ग्रेसलाई काङ्ग्रेसले नै बुझ्न सकिरहेको छैन र, आपसमा द्वन्द्व गरिरहेका छन् ।
✍ ओम आचार्य

नेपाली काङ्ग्रेस गत भदौ २३ र २४ को आन्दोलनबाट मराणसन्न अवस्थाबाट गुज्रिरहेको छ ! जेन-जी आन्दोलन र जेन-जीका भावनाको अनुमोदन गर्ने भन्दै महामन्त्रीद्वयको विशेष सक्रियता र आग्रहबाट विशेष अधिवेशन केन्द्रिय समितिले स्वामित्व नलिएको अवस्थामा पनि विशेष अधिवेशनको कार्यतालिका प्रस्तुत गर्दै भृकुटी मण्डपमा अधिवेशन तय भयो ! तत्कालिन सभापतिले फागुन २१ को निर्वाचननमा अहिले गर्ने भनिएको विशेष अधिवेशनले प्रतिकुल असर पार्छ भन्दै निर्वाचनपछि विशेष अधिवेशन गरौँ भन्ने आग्रहलाई अस्विकार अर्थात् असहमति जनाउँदै हठपूर्वक पुस २७-२८ मा गरिएको विशेष अधिवेशनबाट सभापति भए गगन थापा !
विशेष अधिवेशन जुन लक्ष्य र महत्वाकांक्षा लिएर गरिएको थियो त्योअनुरुप न निर्वाचनको परिणाम आयो न त काङ्ग्रेसको संगठनमा नै सुधार आयो ! काङ्ग्रेस झन्-झन् कमजोर र जर्जर अवस्थामा पुग्यो !
काङ्ग्रेसलाई यो अवस्थामा पुऱ्याउन देशी-विदेशी शक्ति सक्रिय रहेको देखिन्छ । काङ्ग्रेस भन्दा पहिला एमालेलाई कमजोर बनाउन बिग्रह उत्पन्न गर्ने रणनीति शुरु गरिए तापनि एमालेको नियमित अधिवेशनबाट पुनः केपी ओली नै निर्वाचित भए । यसरी एमालेमा विग्रह गराउने डिजाइन फेल भएपछि त्यो ‘शक्ति’ काङ्ग्रेसमा पस्यो र ‘विशेष अधिवेशन’ मञ्चन गरी गगन थापालाई पार्टी सभापति बनाइयो । काङ्ग्रेस हरसम्भव फुटाउने रणनीति लिएको शक्तिले निर्वाचन आयोगमार्फत वैधानिकताको निर्णय विशेष अधिवेशनलाई दियो – त्यो आश्चर्य छैन ! आश्चर्य त विशेष अधिवेशनलाई वैधानिकता दिँदैगर्दा फागुन २१ को निर्वाचनको लागि दर्ता गर्ने समयावधि सकिए पनि कुनै दल दर्ता गर्न इच्छुक छन् भने आउ भन्दै म्याद थपिनुले काङ्ग्रेस फुटोस् र दल दर्ता गरोस् भन्ने निर्वाचन आयोगको अन्तरनिहीत भाव देखिन्छ !
काङ्ग्रेसमा कलह चरममा !
निर्वाचन नजिकिँदै गर्दा काङ्ग्रेसभित्र टिकटमा कसको दस्तखत हुने भन्ने विषयले पनि कलह थप बढाएको थियो । गगनको दस्तखतबाट टिकट लिएर निर्वाचनमा नजानेमा सिनियर नेताहरू समेत थिए ! अब हालको संस्थापनइतर भन्न मिल्ने देउवा समुहले निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट हुदै सर्वोच्चमा मुद्दा दायर गरेका छन् । सर्वोच्चबाट निर्णय आउन जति ढिलाइ हुँदै जान्छ त्यति काङ्ग्रेस फुट्ने सम्भावना बढेर जाने देखिन्छ । अहिले गगन समुहले नियमित अधिवेशन गर्ने मिति तोकेर ‘जरा’ अभियानसमेतको लागि सबै जिल्लामा प्रतिनिधि खटाइसकेको छ । यतिमात्र नभइ अब आइडीविना महाधिवेशनमा सहभागी हुनसमेत नपाउने निर्णय सुनाउनाले देउवा समुह यो महाअधिवेशनबाट अलग्गिने सम्भावना बढेर गएको छ । देउवा समुहमा लागेका नेताहरूले गगन थापाको नेतृत्वलाई कुनै पनि हालतमा स्विकार नगर्ने भनिरहँदा के महाअधिवेशनमा सहभागी होलान् त ? यो सम्भावना देखिँदैन ! विषेश अधिवेशनबाट सभापति भएका गगनलाई नस्विकार्ने भन्दै अदालतमा मुद्धा हालिसकेपछि नैतिकताले गगनको नेतृत्व पनि स्विकार्न मिल्दैन, स्विकार गर्दिनँ भन्न पाइन्छ ! तर गगनको दस्तखत लिएर निर्वाचनमा सहभागी हुने र अहिले त्यो नेतृत्व स्विकार गर्दिनँ भन्न चैं मिल्दैन ! राजनीतिमा इमान, धर्म र नैतिकता नभएकाहरूबाट त यस्तो हुन्छ तर काङ्ग्रेसमा यस्तो चैं हुनु हुँदैन भन्ने विचार प्रवल छ !
काङ्ग्रेस एक ढिक्का बनाउने प्रयास
काङ्ग्रेस कमजोर हुँदा देशमा प्रजातन्त्र नै कमजोर हुन्छ ! काङ्ग्रेस कमजोर हुँदा प्रतिगामीहरूको चलखेल बढेर जान्छ । एमाले होस् या माओवादी या अन्य कुनै दल हुन्, उनिहरूका लागि काङ्ग्रेस राजनीतिक रुपमा एकअर्कामा प्रतिद्वन्द्वी भएपनि उनिहरूको चाहना काङ्ग्रेस नफुटोस् एक ढिक्का रहोस् भन्ने राजनीतिक विचार बोकेको छ ! काङ्ग्रेस एउटा इतिहास बोकेको पार्टी हो जसको अन्तर्राष्ट्रिय छवि र पहिचान छ – यस्तो दलसँग राजनीतिक प्रतिस्पर्धा गर्न पाउँदा अन्य दल पनि गर्व महसूस गर्छन् ! यस्तो काङ्ग्रेसलाई काङ्ग्रेसले नै बुझ्न सकिरहेको छैन र, आपसमा द्वन्द्व गरिरहेका छन् । माओवादी दलबाट तत्कालिन समयमा भएको द्वन्द्व समेतलाई द्वन्द्व व्यवस्थापन गर्न सक्ने काङ्ग्रेस आफ्नो दलभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसक्नु नेतृत्व तहमा बसेकाहरूको कमी-कमजोरी र दक्षतामा कमी हो भन्नुपर्ने हुन्छ !
काङ्ग्रेसभित्र यो दुई समुहलाई एक ढिक्का बनाउने प्रयास कहीँ-कतैबाट भइरहेको छैन । सबै एकअर्कामा अझ दूरी बढोस् र आफ्नो वर्चस्व चलोस् भन्ने मूल भावनाबाट प्रेरित गगन समुह र देउवा समुहमा विद्यमान छ र यो अझ बढेर गएको देखिन्छ !
देउवा समुहले अहिले पनि नेपाली काङ्ग्रेस नै भनेर समानान्तर बैठक गर्दै आएको छ भने गगन समुहले यस्तो गर्दै गए कारवाहीसमेत गर्ने बताउँदै आएको छ ! यस्तो अवस्थामा यी दुई समुहको मिलन विन्दु देखिरहेको छैन !
अदालतको निर्णयबाट काङ्ग्रेस मिल्छ
अहिले काङ्ग्रेसमा एक अर्काको कुरा सुन्न त के अनुहार हेर्नसमेत नचाहेको अवस्था छ । काङ्ग्रेसभित्रै काङ्ग्रेसको यो खिचलोलाई मुख मिठ्याइ-मिठ्याइ बहस र चर्चा गरेर ‘मुतको न्यानो’ जस्तै मान्दै आइरहेका छन् । देशमा नयाँ सरकार छ । यो सरकारको गतिविधि यसरी बढिरहेको छ भोलि प्रजातन्त्र/लोकतन्त्र र विधिको शासनमा चुनौती देखिन सक्छ ! जस्तो – वर्गीय संगठनहरूको खारेजी, निजी स्तरका सञ्चारजगतलाई सरकारी विज्ञापन नदिने, निर्णय हुन सक्ने विचार आइरहेको छ त्यसले लोकतन्त्रको जरा नै निमोठ्ने लक्षण छ । यस्तो अवस्थामा काङ्ग्रेसको के विचार छ, त्यो आइरहेको छैन । जसले लोकतन्त्र/प्रजातन्त्रको पहिले शर्त वर्गीय संगठन र संचारजगतलाई मान्दै आइरहेको छ । किन काङ्ग्रेस चुप छ – काङ्ग्रेस आ-आफैमा द्वन्द्व भएर नै हो ?
काङ्ग्रेसभित्र धेरै सिनियर नेताहरू देउवा समुहमा छन् र यिनीहरूको ईगो र घमण्डले गगन समुहमा सम्मिलित नहुन सक्छन् । तर गगन समुहमा धेरै युवा पुस्ताहरू सम्मिलित छन् यो समुहलाई देउवा समुहमा प्रवेश गर्न समस्या देखिँदैन । यो अवस्थामा विचाराधीन रहेको अदालतको निर्णयबाट मात्रै काङ्ग्रेस एक ढिक्का हुने अवस्था आउन सक्छ ।
प्रतिक्रिया