‘मिडिया कम्प्याक्ट’ हस्ताक्षर समारोह सम्पन्न

‘मिडिया कम्प्याक्ट’ हस्ताक्षर समारोह सम्पन्न


युएन वीमेन र मिडिया एड्भोकेसी ग्रुप (म्याग) द्वारा आयोजना गरिएको मिडिया कम्प्याक्टमा हस्ताक्षर समारोह सम्पन्न भएको छ । उक्त मिडिया कम्प्याक्ट काठ्माडौं, लुम्बिनी र गण्डकीका पत्रकार तथा सम्पादकहरुसँगको श्रृङ्खलाबद्ध छलफलपछि तयार गरिएको हो ।

कम्प्याक्टकमा राजनीतिक र आर्थिक बहसमा समान प्रतिनिधित्व सम्बन्धमा, राजनीतिक र आर्थिक बहसमा समान प्रतिनिधित्व सम्बन्धमा, अनलाइन लैङ्गिक हिंसासम्बन्धी जिम्मेवार रिपोर्टिङ सम्बन्धमा, लैङ्गिक-संवेदनशील र जिम्मेवार पत्रकारिता अभ्यास सम्बन्धमा, लैङ्गिक-पूर्वाग्रहयुक्त गलत सूचनाका विरुद्ध कदम सम्बन्धमा, जिम्मेवार सामाजिक सञ्जाल सञ्चालन र सुरक्षित डिजिटल सहभागिता सम्बन्धमा लैंगिक उत्तरदायी प्रतिबद्धताहरू समाबेश गरिएको छ । ति प्रतिबद्धताहरु मिडिया हाउस तथा पत्रकारका साथै पत्रकारिता क्षेत्रको विकासका लागि काम गर्ने संस्था, पत्रकार तथा सञ्चारमाध्यमको साझा संस्था तथा नियामक निकायका लागि लक्षित गरिएको छ ।

मिडिया कम्प्याक्ट हस्ताक्षर समारोहमा बोल्दै युएन वीमेनकी प्रमुख प्याट्रिसिया फर्नान्डेज पाचेकोले महिलाको राजनीतिक सहभागिता वृद्धिमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । दक्षिण कोरियाका राजदुत पार्क ताई योङ्गले मिडिया लैंगिक उत्तरदायी भयो भने विविधताको सम्मान हुने धारणा राख्नुभयो भने सूचना तथा प्रशारण विभागका महानिर्देशक झविन्द्र पराजुलीले लैंगिक उत्तरदायी मिडियाका लागि सम्पादकहरुद्वारा दर्शाइएको प्रतिबद्धता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

मिडिया कम्प्याक्टमा नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, रिपब्लिकाका सम्पादक कोषराज कोइराला, अन्नपूर्ण दैनिकका सम्पादक बालकृष्ण बस्नेत, द हिमालयन टाइम्सका सम्पादक राजन पोख्रेल, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, नेपाली टाइम्सकी सम्पादक सोनिया अवाले, कलम साप्ताहिकका सम्पादक प्रणय राणा, गण्डकी प्रदेशकी प्रस रजिष्टार विमला भण्डारी र बुटवल टुडेका सम्पादक नवराज कुँवरले हस्ताक्षर गर्नुभएको थियो । साथै समारोहमा उपस्थित ६० जना पत्रकार तथा सम्पादकहरुले पनि हस्ताक्षर गरेर ऐक्यबद्धता जनाउनुभएको थियो ।

हस्ताक्षर समारोहमा आयोजित प्यानल छलफलमा प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले प्रेस काउन्सिल नेपालले आचार संहिता उल्लङ्घन भएका घटनामा अनुगमन गरि कार्वाही प्रक्रिया अघि बढाएको बताउनुभयो । डा. महेन्द्र बिष्टले अहिले निर्माण गरिएको मिडिया कम्प्याक्ट जस्ता प्रतिबद्धताले मिडिया हाउस र मिडिया कर्मीलाई झकझक्यान मद्दत गर्ने बताउनुभयो । यसैगरी महिला तथा दलित अभियन्ता रेनु सिजापति र युवा अभियन्ता इशिका पन्तले मिडियाले राजनीतिमा संलग्न महिलाको सकरात्मक छवी प्रस्तुत गरिदिदा महिलाको सार्बजनिक जीवनमा सकरात्मक प्रभाव पर्ने धारणा राख्नुभयो ।

म्यागकी अध्यक्ष अनिता बिन्दुले वि.सं. २०८२ साल फाल्गुण २१ गते सम्पन्न निर्वाचनलाई केन्द्रित गरेर गरिएको संचार अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विगतको तुलनामा दैनिक पत्रिकाहरुमा गुणात्मक रिपोर्टिङ्ग बढेको बताउनुभयो ।