नब्बे लाख नेपाली स्वदेश फर्कने साइत कहिले ?

नब्बे लाख नेपाली स्वदेश फर्कने साइत कहिले ?


हुन् त विदेशिनु धेरैका लागि बाध्यता हो । देशमा भनेजस्तो रोजगारी र आय-आर्जनका अवसरहरू नभएपछि विदेशिनु रहर भन्दा बाध्यता बढी हुन्छ । तर कतिपयका लागि, विशेषगरी मध्यम तथा धनीहरूका लागि विदेशिनु बाध्यता भन्दा रहर वा फेसन जस्तो देखिन्छ । स्वदेशमा आफ्ना बाबा-आमाले गरेका उद्यम-ब्यवसायहरू नसम्हालेर विदेश जानेहरू पनि धेरै छन् । खासगरी ती विकसित भनिएका देशहरू अष्टे«लिया, अमेरिका, बेलायत, क्यानडासहितका कतिपय युरोपियन देशमा गएका छन् । कोही गुणस्तरीय शिक्षाको बहानामा त कोही आर्थिक उपार्जनको ध्येयका साथ गएका छन् । त्यसरी जानेहरू पनि धेरै भइसकेका छन् ।

जस्तो कि अष्ट्रेलियाको तथ्यांकविभाग (एबिएस) को पछिल्लो तथ्यांकअनुसार त्यहाँ १ लाख ९७ हजार ८ सय नेपालीहरू छन् । र, अष्ट्रेलियामा रहेका आप्रवासी समुदायहरूमध्ये नेपाली समुदाय अहिले आठौँ ठुलो समुह बनिसकेको छ । त्यसैगरी प्यू रिसर्च सेन्टरको रिर्पोटअनुसार अमेरिकामा करिव ३ लाख नेपालीहरू बसोबास गरिरहेको पछिल्लो तथ्यांक (सन् २०२५) छ । तर त्यहाँ हरेक १० वर्षमा जनगणना गरिने भएकाले त्यो संख्या बढेको पनि हुनसक्छ । बेलायतमा पनि १ लाख भन्दा ज्यादा नेपाली बसोबास गर्ने अनुमान छ । क्यानडालगायत अन्य युरोपियन देशहरूमा पनि अनगिन्ती नेपालीहरू बसोबास गर्छन् । मध्यपूर्वका खाडी देशहरूमा त १९ लाख नेपालीहरू कार्यरत रहेको सरकारी तथ्यांक नै छ । एक महिनायता त्यहाँ जारी अमेरिका-इजराइल र इरानबीचको द्वन्द्वले खाडी ११ वटा देशमा हमला भइरहेका छन् । इरानले विश्वको प्रमुख इन्धननिर्यातक मार्ग ‘स्टेट अफ हर्मुज’ नाका बन्द गरिदिएपछि संसारभरका देशमा इन्धन अभाव खड्किएको छ । फलस्वरुप पर्यटन थलिन थालेको छ र उपभोक्ता वस्तुमा विश्वभर महँगी बढेको छ । खाडीमै कार्यरत कयौँ नेपालीहरूले रोजगारी गुमाउन थालिसकेका छन् ।

खाडीका देशहरू मात्र होइन् भारत, चीन, जापान, कोरियासहित संसारका १७० भन्दा बढी देशमा रोजगारी तथा आप्रवासनका क्रममा नेपालीहरू छरिएका छन् । नेपालीहरू पुगेका ८७ भन्दा बढी देशमा एनआरएनएको सञ्जाल नै विस्तार भइसकेको छ भने ११० ओटा देशमा त नेपाल सरकारले नै वैदेशिक रोजगारीका लागि खुल्ला गरिसकेको अवस्था छ । संसारभर कति संख्यामा नेपालीहरू छरिएका छन् भन्ने आधिकारिक तथ्यांक त नेपाल सरकारसँग पनि छैन । अनौपचारिक अध्ययनहरूले देखाएअनुसार नेपालीहरू रोजगारी तथा आप्रवासनका दृष्टिले करिव ९० लाख हाराहारीको संख्यामा विदेशमा छन् । त्यो चानचुने संख्या होइन । ०७८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये ९० लाख हाराहारी नेपालीहरू विदेशमा रहनु, त्यसमा पनि काम गर्न सक्ने क्रियाशील उमेरका नेपालीहरू विदेशिनुको फाइदा र बेफाइदाको बहस बेग्लै होला । एउटा देशको ३०-३५ प्रतिशत मानिस कुनै न कुनैरूपमा देशबाहिर रहनुले राष्ट्रिय जीवनमा कति फाइदा अनि कति बेफाइदा होला बहस नै हुन सकेको छैन ।

कतिपयले भन्छन्- अवसर आफैले सिर्जना गर्नुपर्छ, राज्यको मुख ताकेर पनि हुँदैन । त्यो एक हिसाबले ठिकै पनि हो । राज्यले सबैलाई रोजगारी दिन पनि कसरी सक्छ र ? भएकै कर्मचारीहरूको पनि भरणपोषण राम्रोसँग सरकारले गर्न सकिरहेको छैन । तर मूलरूपमा सरकारले आफैले युवाहरूलाई रोजगारी दिने भन्दा पनि उनीहरू रोजगार हुने वातावरण सिर्जना गर्नुपर्छ । राज्यले त्यसको लागि नीजि क्षेत्रलाई विश्वासमा लिएर रोजगारी र उद्यमशीलता सिर्जना सिर्जना हुने वातावरण बनाइदिनुपर्छ । फलतः लाखौं रोजगारी स्वतः सिर्जना होस् । अहिले त राज्यको आफ्नै तर्फबाट बार्षिक ३–४ हजार नयाँ रोजागरी सिर्जना भएको छैन । हरेक वर्ष श्रम बजारमा ५ लाख हाराहारी युवाहरू नयाँ निस्कन्छन् । उनीहरूको ब्यवस्थापन नै आजको सबैभन्दा टाउकोदुखाइको विषय हो ।

अहिले विदेशएकाहरूमध्ये पढ्न भनेर बाहिरिएकाहरू पैसा नभएकाहरू पनि हैनन् । युरोप, अमेरिका तथा अष्ट्रेलिया जानेहरूले कम्तिमा प्रतिब्यक्ति २० लाख हाराहारी खर्च गरेर गएका छन् । उनीहरूलाई देशमै उद्यमी बनाउने हो भने उनीहरूकै पैसाले त्यो सुरुवात गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०८१/८२ मा वैदेशिक अध्ययनका लागि मात्र नेपालबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ । त्यो चानचुने रकम होइन । अहिलेको सरकारले त्यसरी अध्ययनकै नाममा विदेशिएको त्यो परिमाणको रकम रोक्न सक्नुपर्छ । त्यसका लागि फ्रि स्कलरशिप बाहेक विदेशमा महँगो डलरमा पढ्न जाने कुरालाई नियन्त्रण गर्न सक्नुपर्छ । र, त्यसरी बाहिरिने रकम उद्यमशीलता, ब्यवसाय प्रवर्द्धनमा जाने गरी रणनीतिहरू, नीतिगत प्रोत्साहनहरू ग्रिनुपर्छ । जब यो देशमा कोही पनि बस्न नरुचाउने र उनीहरूलाई देशले आकर्षण नगर्ने अवस्था बन्द भएन भने देश कहिल्यै बन्दैन । देशलाई हाम्रै युवा पुस्ताले, अझ नयाँ आएका जेन्जी पुस्ताले माया गर्नुपर्छ र यसलाई आफैले बदल्नु पर्छ ।

आजको आधुनिक युगमा समृद्ध मुलुकको नागरिक हुने दुई काइदा छन्- एउटा त अर्काको अथवा कुनै धनी देशको नागरिक हुने – त्यो किनेर होस् वा अरु विकल्पबाट होस्, अर्को – आफ्नो देश आफै बनाउने र समृद्धिसहितको जीवनयापन गर्ने । एउटा सक्षम र देशप्रेमी युवाले गर्ने भनेको आफ्नो देशलाई हर-हालतमा आफैले समृद्ध बनाउने हो । अनि समृद्ध देशको नागरिक हुने हो ।

अहिले त नयाँ दल रास्वपाको दुई तिहाई बहुमतसहित युवाहरूले लिड गरेको स्मार्ट सरकार छ । केही राम्रा नवीनतम् कुराहरूका लागि उसले तुरुन्त निर्णय दिनसक्छ । पढेलेखेका, विदेशबाट पनि अनेक आयाममा तरक्की गरेर आएका, विदेशी विकास र सिस्टम देखे/भोेगेर आएकाहरूको सरकारमा छन् । इन्जिीनियर प्रधानमन्त्री र अन्तर्राष्ट्रिय जगतमा चिनिएका अर्थशास्त्री अर्थमन्त्री छन् । उनीहरूलाई यो स्थानमा ल्याउन डायस्फोरामा रहेका ९० लाख नेपालीहरूको ठुलो हात छ । उनीहरूले नयाँहरूको पक्षमा सामाजिक सञ्जालको प्रयोगमार्फत चुनाबमा माहौल बनाएका थिए । घर-घरमा नयाँलाई जिताउन सञ्चार गरेका थिए । अब तिनै मानिसहरू देश बनाउन स्वदेश फर्किउन् – यतिबेलाको अपेक्षा र प्रतीक्षा त्यही हो ।

यदि यो देश बनाउने हो भने विदेशीएका नेपालीहरू घर फर्कने स्वर्णिम अवसर यही हो । उनीहरू विदेशमा कमाएको धन, सिप र नेपाली मन लिएर फर्किउन् । अनिमात्र बन्छ देश । विदेशमा बसेर दाउ र जोखना हेरेर मातृभूमिको विकास हुँदैन । किनकि जे-जति कुरा गरेपनि देश बनाउन पुँजी, प्रविधि र सिप चाहिन्छ । त्यो विदेशमा रहेका नेपालीहरूसँग छ । उनीहरू त्यो लिएर देशलाई माया गर्दै अब फर्कनुपर्छ ।

यसको लागि नयाँ सरकारले विदेशमा रहेकाहरूलाई लगानी लिएर नेपाल फर्कन अथवा नेपालमा ठुलो लगानी गर्न आह्वान नै गर्न जरुरी छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालमा लगानीको आह्वान गर्न जरुरी छ । त्यसको लागि सरकारले आवश्यक कानुन परिर्माजन तथा नवनिर्माण गर्नुपर्छ । अनि मात्र बन्छ देश । हाम्रै छिमेकी चीन वा भारत पनि विदेशिएकाहरूले भित्र्याएको पुँजी र प्रविधिको जगमा समृद्ध हुँदै गएका हुन् । चाहे सिंगापुर होस् अथवा स्वीजरल्याण्ड वा दक्षिण कोरिया – ती सबैमा विदेशिएकाहरू आफ्नै देश फर्किएर बनाएका इतिहास छन् । त्यसकारण अब ढिला नगरौं । यदि नयाँ सरकारलाई विश्वास गर्ने हो भने स्वदेश फर्किऔं । विदेशको विकास देख्नु, त्यहाँ लुकीछिपी अर्थोपार्जन गर्नु, त्यहाँको समृद्धिमा रमाउनु धेरै ठुलो कुरा होइन । बरु स्वदेशमै खोरिया खन्नु र कम्तिमा देशको अर्थतन्त्र तथा उत्पादनमा स-सानो भएपनि योगदान गर्नु, त्यो महान् कार्य हो ।

पुनश्चः, बाहिरिएका नेपालीहरू परिवारसहित फर्कने सही समय यही हो । नेपालमा शिक्षा, स्वास्थ्य, यातायात, संचार, विद्युत् आदिमा आधारभुत तहमा विकास भइसकेको छ । देशलाई धनी बनाउने, विकासलाई आधुनिक एवं सुविधासम्पन्न गर्ने, उद्यमशीलता अभिवृद्धि गरी स्वदेशमै रोजगारी र आयआर्जनको अवस्था सिर्जना गरी आफ्नै देशमा सान र मानसहित जिउने रणनीति अब विदेशमा रहेकाहरूले लिनुपर्छ । बालेन सरकारले त्यसका लागि नीतिगत सम्बोधन र वातावरण बनाउनुपर्छ, औपचारिक रूपबाट आह्वान् गर्नुपर्छ ।