किन खोतलिँदै छ खुश्बुको विगत ?

किन खोतलिँदै छ खुश्बुको विगत ?


हरेक मानिसको जीवनमा कुनै न कुनै कहानी हुन्छ । कुनैबेला भोगेका वास्तविकता नै समयक्रममा कथा बन्न पुग्छन्, आफैले भोगेका कथा । कतिले ब्यक्त गर्छन्, कतिले गर्दैनन्, तर कुनै न कुनै कुराले मानिसलाई भित्रभित्रै असर र प्रभाव पारिरहेको हुन्छ । कतिपय घटना सम्झनलायक हुँदैनन् तर पनि मानिसले बिर्सन सकिरहेको हुँदैन । कुनैबेला जिन्दगीको वर्तमानमा घटेका घटनाले भविष्यमा के-कस्तो असर गर्न सक्छ भन्ने तात्कालीन परिवेशमा खासै सोचिँदैन । सय वर्षअघि पनि मानिसका जीवनमा कथाहरू थिए, अहिले पनि छन् । फरक के हो भने त्यतिबेला ती भोगाइहरू रेकर्ड हुँदैनथे, आफैंभित्र या केही मानिसका बीच सीमित हुन्थे । अहिले यदि सार्वजनिक भएका रहेछन् भने घटनाक्रमहरू रेकर्ड हुन्छन्, अर्काइभमा रहन्छन् । कति मानिसका जीवनमा भएका ब्यक्तिगत घटना/दुर्घटनाका साक्षी उनीहरूका आफ्नै मनबाहेक कोही थिएनन् होला, छैनन् होला । तर, सार्वजनिक भएका कतिपय घटना धेरैका बीच पुगेका हुन्छन्, रेकर्ड र अर्काइभमा रहन्छन् । जे-जस्तो परिस्थितिमा भएका भएपनि मानिसले सकेसम्म त्यसप्रकारका घटनालाई बिर्सिएर अगाडि बढ्ने कोशिस गरिरहेको हुन्छ । सधैंभरी त्यस्ता घटनाको पछि लागेर जीवन धान्न पनि सकिँदैन ।

१२ वर्षअघि भएको घटनालाई लिएर अहिले सांसद खुश्बु ओलीमाथि सामाजिक सञ्जाल खनिएको छ । तात्कालीन परिवेशमा उनले के बोलिन्, किन बोलिन् अहिले आएर छताछुल्ल बनाइएको छ । उनले बोलेको भन्दा कैयौँ गुणा अघि बढेर उनमाथि घृणास्पद अभिब्यक्तिहरू प्रयोग गरिएको छ । मानिसको जीवनमा प्रेम हुन्छ, सम्बन्धहरू हुन्छन् । कतिपय सम्बन्धहरू अघि बढ्छन्, कतिपय छुटेर जान्छन् । १२ वर्षअघिको घटना खुश्बुको विगत थियो । जुन विगतबाट उनी ‘मुभ अन’ भएर अघि बढिसकेकी छन् । उनको परिवार छ, आफ्नो ब्यक्तिगत जीवन छ । तर सामाजिक सञ्जालमा उनलाई यसरी प्रस्तुत गरिएको र गरिँदैछ कि मानौं उनको कुनै ब्यक्तिगत जीवन नभएर सार्वजनिक जीवन मात्रै छ । एकपल्ट सोचौं, सार्वजनिक जीवनमा भएका मानिसको पनि ब्यक्तिगत जीवन हुन्छ, त्यसले उनीहरूलाई असर पार्न सक्छ भन्ने कुरा नसोची जे पनि सामाग्री बनाएर पोष्ट गर्ने अधिकार हामीलाई छ ? आफूले आफैलाई प्रश्न गरौँ । आफूलाई प्रश्न मात्र होइन कानून पनि हेरौँ, हामीसँग ब्यक्तिगत गोपनीयताको कानून छ, जसले सार्वजनिक जीवनमा भएपनि मानिसका के-के कुराचाहिँ ब्यक्तिगत हुन्छन् भन्ने कुराको सीमा उल्लेख गरेको छ ।

हामीले लामो समयदेखि समानताको वकालत गर्दै आएका छौँ । कानूनहरू पनि बनेका छन्, तर हाम्रो सोचचाहिँ महिलाहरूले सार्वजनिक जीवनमा केही राम्रो गर्न थाले भने यसलाई कसरी माटोमा मिलाउँ भन्ने नै रहेछ भन्ने कुरा यो घटनाले प्रमाणित गरेको छ । खुश्बु नेपालको राजनीतिमा राम्रो बोल्ने राजनीतिकर्मीमध्ये पर्छिन् । उनी तार्किक छिन्, गलत अभ्यासलाई चुनौती दिन सक्छिन् । उनले लामो सङ्घर्ष गरेर राजनीतिमा करियर बनाउँदै गर्दा कसैलाई चासो भएन तर जब उनी ओहदामा पुगिन्, सांसद बनिन् र शीर ठाडो गरेर कतिपय घटनाको प्रतिकार गर्न थालिन्, विगतको कुरा अगाडि सारेर उनलाई ‘डिमोरोलाइज’ गर्न श्रृङ्खलाबद्ध प्रयास गरिँदै छ । खोज्दै जाने हो भने विगतमा गल्ती नगर्ने मान्छे को होला ? २०७१ सालमा खुश्बुलाई लिएर मैले नै पनि लेख लेखेकी थिएँ । त्यतिबेला मिडिया, प्रहरी सबैले उनको निर्दोषपनको प्रयोग गरेका थिए भन्ने अहिले पनि मेरो बुझाइ हो ।

सार्वजनिक जीवन महिलाका लागि पनि समान हो भन्ने हामीकहाँ स्वीकार गरिएको छैन । यद्यपि देशको सर्वोच्च पदमा महिलाहरू पुगिसकेको अवस्था हो । महिलाको विगत; विशेषगरी चरित्र अहिले पनि नेपाली समाजमा उनलाई हेर्ने, मुल्याङ्कन गर्ने दृष्टिकोणको कसी हो । अहिले खुश्बुको जस्तै घटना कुनै पुरुषमाथि भएको भए राम्रो प्रेमी, इमान्दार अभिब्यक्ति… यस्तै के-के भनिन्थ्यो होला । तर उनमाथि लगातार ‘हेट स्पीच’को वर्षा भइरहेको छ र हामी चुपचाप हेरिरहेका छौँ । कतिले त ठिक्क पऱ्यो भन्दै मनोरञ्जन पनि लिइरहेका हौँला । ‘अर्काइभका सामाग्रीहरू आएका हुन्, हामीले के गरेका छौँ र ?’ भन्नेहरू पनि होलान् । रेकर्डेड अर्काइभमा भूमिका नहोला तर ती सामाग्रीमा आएका कमेन्टहरूमा तपाईं-हाम्रो भूमिका छ । तिनलाई लिएर बनाइएका भिडियोहरूमा, जे पनि बोल्न मिल्ने झैँ गरि गरिएका ‘भ्वाइसओभर’मा त्यस्ता सामाग्री निर्माण गर्नेहरूको भूमिका छ । कुनै पनि मानिस पदमा पुग्नु भनेको जे पनि भनाइ खान तयार हुनु होइन । त्यस्ता मानिसहरूले निर्वाह गर्न सक्ने भूमिकालाई कमजोर र सिर्जनात्मक क्षमतालाई असर गर्ने गरि गाली गर्ने अधिकार हामीलाई छैन ।

कतिले खुश्बुले वर्तमानमा बाँचिरहेको ब्यक्तिगत जीवनलाई लिएर पनि अनेक प्रश्न गरेका छन् । बैयक्तिक गोपनीयतासम्बन्धी ऐन २०७५ ले यदि कसैले सार्वजनिक गर्न चाहँदैन भने ब्यक्तिगत जीवनको सोधी-खोजी गर्ने हक दिएको छैन । प्रत्येक ब्यक्तिलाई उसको चरित्र र आचरणको गोपनीयता राख्ने हक पनि छ । कसैको आत्मसम्मानमा आँच पुग्ने या हीनताबोध हुने कुरा सार्वजनिक रूपमा सोध्ने बेलामा मिडियाकर्मी या कसैलेपनि ध्यान पुऱ्याउन आवश्यक हुन्छ । हरेक ब्यक्तिका ब्यक्तिगत र सार्वजनिक आ-आफ्नै सीमानाहरू हुन्छन् । सार्वजनिक ब्यक्तित्वका सीमानाहरू निजी जीवन बाँच्नेका भन्दा बढि हुन्छन् । सार्वजनिक ब्यक्तिको पनि ब्यक्तिगत जीवन हुन्छ, तपाईं सार्वजनिक ब्यक्ति हो त्यसैले ब्यक्तिगत प्रश्नको पनि जवाफ दिनैपर्छ भनेर कसैले भन्न पाउँदैन ।

आफ्ना ब्यक्तिगत सीमाहरू ब्यक्ति आफैले तय गर्ने हो । सार्वजनिक जीवनमा भएका ब्यक्तिले कुनैपनि कुरा सार्वजनिक रूपमा नबोलुन्जेल र नलेखुन्जेल उसको नीजि हो, बाहिर गइसकेपछि त्यो सार्वजनिक हो । कुनैपनि कुरा सार्वजनिक हुनुको अर्थ त्यसमा जसलेपनि टिप्पणी गर्न पाउने भयो । आफ्नो ब्यक्तिगत जीवन, सम्बन्धलगायतका कुराहरू सार्वजनिक टिप्पणीको विषय बनेको कसैलाई पनि मन पर्दैन । आफूलाई मन नपर्ने कुरा अरुलाई पनि मन पर्दैन भनेर बुझ्न सकियो भने धेरै कुरा आफैं ठिक भएर जान्छ । कहाँ जाने, कहाँ नजाने, कहाँ के खाने, कहाँ के नखाने, कहाँ के लाउने, के बोल्ने, के नबोल्ने, कहाँ बोल्ने, कहाँ नबोल्ने – मानिसले आफ्नो आचार संहिता आफै बनाउने हो ।

यस्तो आचारसंहिता सार्वजनिक जीवनमा भएका ब्यक्तिले मात्र नभइ युटुबर, सामाजिक सञ्जाल प्रयोगकर्ता सबैले अपनाउनु आवश्यक छ । कुनैपनि ब्यक्तिको चरित्रको हत्या गर्नुअघि आफू कहाँ उभिएको छु भनेर धरातल हेरौँ । केही समययता महिला सेलिब्रटीहरूमाथि पनि बोल्न नमिल्ने धेरै कुरा बोलिएका छन्, लेख्न नमिल्ने धेरै कुरा लेखिएका छन् । नायिका करिश्मा मानन्धरले सम्बन्धहरूको बारेमा बोल्दा यसरी टिप्पणीहरू गरियो कि मानौँ कसैसँग सम्बन्ध हुनुको अर्थ शारीरिक नै हो । मानसिक र भावनात्मक सम्बन्ध सबैभन्दा उच्चतम सम्बन्ध हो र त्यो धेरै मानिससँग पनि हुनसक्छ भन्ने कुराको आत्मसात नगर्नेहरूका लागि बुझाउन कहाँबाट, कसले सुरु गर्ने हो थाहा छैन, बुझाउनै गाह्रो हुन्छ । नबुझेर भन्दा बुझि-बुझि थाहा नपाएजस्तो गर्नेको सङ्ख्या यहाँ ठुलो छ । अहिले कतिपय युटुबरले यो कुरा तपाईंलाई कस्तो लाग्यो ? भन्दै कुनै प्रसङ्ग उठाएर गाली गर्न लाउने प्रवृत्तिको तत्काल अन्त्य हुनुपर्छ । कसैको ब्यक्तिगत जिन्दगीमा दखल दिँदै हेट स्पीचको प्रयोगसहित बोल्ने र बोल्न लाउने दुवैलाई कार्वाही हुनुपर्छ । म अभिब्यक्ति स्वतन्त्रताको वकालतकर्तामध्ये एक हुँ तर अभिब्यक्ति स्वतन्त्रता र घृणास्पद अभिब्यक्ति फरक हुन् । अभिब्यक्ति स्वतन्त्रता अधिकार हो, हेट स्पीच अपराध हो ।

जहाँसम्म खुश्बुको कुरा छ, खुश्बु ओली शिक्षित, बौद्धिक, तार्किक र प्रतिभावान राजनीतिकर्मी हुन् । उनको विगतलाई कोट्याएर आत्मविश्वास खस्काउन खोजिएको छ, तर आफैंमा प्रतिभावान मानिसहरूलाई कसले के भन्यो भन्ने कुराले खासै फरक पार्दैन, पार्नु हुँदैन । आफूमाथि प्रयोग गरिएका घृणास्पद अभिब्यक्तिको उपचार भने उनले खोज्नुपर्छ र सम्बन्धित निकायले दोषीमाथि कारवाही अघि बढाउनु पर्छ ।